
७ असार, काठमाडौं । सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
सोमबार मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी मेलम्चीलाई दुई करोड र बाँकी दुई गाउँपालिकालाई ५० लाख रुपैयाँका दरले रकम हस्तान्तरण गरेका हुन् ।
मेयर शाक्यले बाढीग्रस्त क्षेत्रका वासिन्दाको लागि थोरै भए पनि सहयोग पुग्ने अपेक्षा लिएको बताए । ‘यहाँ भएको मानवीय र भौतिक क्षतिको परिपूर्ति यो रकमले नभए पनि यहाँका जनताको दुःखमा काठमाडौं महानगरपालिका साथमा छ भन्ने बोध गराउन पनि हामी यहाँ आएका हौँ’ मेयर शाक्यले भने ।
सिन्धुपाल्चोकका जनप्रतिनिधिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले काठमाडौं महानगरपालिकाको यो सहयोग बाढीले बनाएको घाउमा मल्हम हुने बताए । मन्त्री तामाङले भने, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊर्जा प्राप्त भएको छ ।’
मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो । उक्त नगरलाई यसअघि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता गरेको थियो ।
प्रतिक्रिया 4