Comments Add Comment

अन्तरजातीय विवाह गरेका जोडीलाई घर पुगेपछि आफन्तले अलग्याए

२५ असार, धनगढी । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य भएका एक जोडीलाई घर पुगेपछि युवतीका आफन्तले छुटाइदिएका छन् ।

असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावललाई घर पुगेपछि शुक्रबार युवतीका आफन्तले छुटाएर लगेका हुन् ।

विवाह गरेर जंगलमै लुकेर बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपील गरेका थिए । तर भजनी नगरपालिका–४ स्थित प्रकाशको घरमा पुगेपछि शुक्रबार आएको २५–३० जनाको समूहले युवतीलाई छुटाएर लगेको आफन्तले बताएका छन् । नातामा प्रकाशका बाजे पर्ने भजनी नगर कार्यपालिका सदस्य समेत रहेका प्रताप ताम्राकारले शुक्रबार दिउँसो साढे १ बजेतिर युवतीलाई २५–३० जनाको समूहले जीपमा हालेर लगेको अनलाइनखबरलाई बताए ।

‘केही दिन पहिले विवाह गरेर युवतीलाई ल्याएको थियो,’ ताम्राकारले भने, ‘धेरै दिन केटाकेटी जंगलमै बसेका थिए । तर आज दिउँसो युवती पक्षले उनलाई घरबाटै छुटाएर लग्यो ।’ उनकाअनुसार उनीहरु दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

असार १७ गते युवतीका आफन्तले घरबाट हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए । दुवै जनाको उमेर २० वर्ष भन्दा कम रहेको छ ।

दुवै पक्षलाई प्रहरीले बोलायो

युवायुवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कैलाली प्रहरीले समेत त्यसमा चासो लिएको छ । शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्रहरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउदले अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएको अनलाइनखबरलाई बताए । उनीहरु कार्यालयमा पुगेपछि थप कुरा थाहा हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment