+
+

साउने सोमबार : यस्तो छ उपवासको महत्व

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १६:४६

सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार भोलि मनाइँदैछ । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैमा विशेष महत्वको महिना हो ।

साउनको महिना भित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् ।

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्दछन् ।

साउने सोमबारको महत्व

पवित्र महिना साउन र त्यसमा पनि सोमबार छुट्टै विशेषता रहन्छ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

साउने सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेलो चुरा र मेहन्दी लगाउछन् । देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा महिलाको भीड लाग्छ । त्यसैगरी साउन महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनले पवित्र जल शिवालयहरुमा अर्पण गर्ने परम्परा पनि छ । धर्म तथा संस्कृतिविद्हरुका अनुसार साउन महिना धेरै पानी पर्ने, बाढी पहिरो आएर समाजमा प्राकृतिक दुर्घटना नहोस् भनेर भगवान शिवको पूजा गरिन्छ ।

पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई खुसी पार्नका लागि यो महिना विशेष हुन पुगेको हो । त्यसो त शिवको पूजा बालाचतुर्दशी मङ्सिर, माघे संक्रान्ति माघमा, महाशिवरात्री फागुनमा, अक्षय तृतीया वैशाखमा मनाइन्छ तर अरू महिनामा एक दिन मात्र शिवको पूरा गरिन्छ भने महिनाभरि नै शिवको पूजा हुने महिना भने साउन मात्रै हो । शिवलाई जलधार सारै प्रिय छ । प्रकृतिले नै जलधारा लगाउने यो महिना वातावरणीय स्वच्छताका हिसाबले पनि उत्तम मानिन्छ ।

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्– साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।

बोलबम सुरु

त्यस्तै, साउनको पहिलो सोमबार अर्थात् भोलिदेखि नै बोलबम सुरु हुँदैछ । कुनै पवित्र नदीमा स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै बोलबम मनाउने गरिन्छ । पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर शिवालयमा जल अर्पण गर्ने कार्यलाई बोलबम भनिन्छ ।

साउन महिनाको हरेक सोमबारका दिन पशुपति क्षेत्र, बराहक्षेत्रमा यस्तो मेला विशेष हुन्छ । पशुपतिमा सुन्दरीजलबाट तथा पिण्डेश्वर शिवालयमा धार्मिक तीर्थस्थल चतरा कौशिकी तट सप्तकोशी नदीबाट जल उठाएर ल्याई अर्पण गर्ने चलन छ । स्मरणीय के छ भने नेपालमा साउने सोमवार तथा बोलबम मनाउने चलन सुरु भएको धेरै भएको छैन ।

साउने रुद्रीको महत्व

नेपाली समाजमा साउन महिनामा रुद्री लगाउने चलन छ । रुद्री भनेको शतरुद्रीय  वैदिक मन्त्र पाठ गरी शिवलिङ्गमा अभिषेक गर्नु हो । विशेषगरी साउनको सोमवार पारेर तथा त्यस दिन नजुरे साउनकै अन्य कुनै दिन ब्राहृमणहरूद्वारा रुद्रीभिषेक गराइन्छ। रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ। धर्म, अर्थ काम र मोक्ष यी चार कुराको इच्छा गर्नेहरुले रुद्री पाठद्वारा आशुतोष भगवान् रुऽलाई प्रसन्न पार्छन् । रुद्री प्रसन्न हुनाले सम्पूर्ण इच्छा पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। भिन्नभिन्न वस्तुले अभिषेक गरी रुद्रीपाठ गर्नाले भिन्नभिन्न कामना पूर्ण हुन्छन् भन्ने विश्वास छ।

श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन् । चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ तब सूर्य दक्षिणायन हुन्छन्, सूर्यको ताप कम तथा दिन छोटा हुन थाल्छन् । साथै सूर्यले ताप तथा  चन्द्रमाले शीतलता प्रदान गर्छन्, यसकारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई प्रसन्न तुल्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?