Comments Add Comment

थप उपचारका लागि केपी ओली विदेश जाँदै

५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दायाँ हात सुन्निने समस्या नरोकिएपछि फलोअप उपचारका लागि एक-दुई दिनभित्रै बैंकक जाने तयारी भएको छ । उनी विदेश गएका बेला उपाध्यक्ष वामदेव गौतम एमालेको कार्यबाहक अध्यक्ष बन्नेछन् । KP oliओलीनिकट स्रोतका अनुसार हातमा संक्रमण बढ्दै गएकाले उपचारका लागि जानुपर्ने अवस्था आएको हो । शुरुमा कोरिया जानेबारेमा कुरा उठे पनि बैंकक नै जाने तय भएको स्रोतले जनाएको छ ।

अध्यक्ष ओली पूरा ठीक नहुँदै महाधिवेशनका कारण बैंककमा उपचार रोकी काठमाडौं आएका थिए । यसबीचमा महाधिवेशन तथा चुनाव प्रचार प्रसारको दौडधूपका कारण ओलीको स्वास्थ्यमा सुधार आउन नसकेकाले ‘फलोअप उपचार’ गर्न जाने बारेमा सल्लाह भइरहेको ओलीका एक निकट सहयोगीले बताए । ‘कहिले जाने भन्ने मिति तय भएको छैन, तर एक दुई दिनभित्रै जाने सम्भावना छ’ उनले भने ।

ओलीको अन्य समस्या नदेखिए पनि हातमा समस्या बढेकाले त्यसको लागि सम्बन्धित विशेषज्ञसँगै परामर्श गरिने भएको छ । उपचारका लागि कहिले र कहाँ जाने भन्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

अध्यक्ष जितेलगत्तै ओलीले पहिलो केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक राखिसकेका छन् । उनले उपचारमा जानुपर्ने भएकाले यसबारे अर्को पक्षबाट कुनै टीकाटिप्पणी नहुन् भनेर बैठक चाँडो-चाँडो बोलाएको स्रोतले जनाएको छ ।

साउन २५ गते बोलाइएको दोस्रो केन्द्रीय कमिटी बैठकअघि नै अध्यक्ष ओली उपचार गराएर फर्किने तयारी भइरहेको छ । त्यो बैठकले पोलिटव्यूरो र स्थायी कमिटीको निर्वाचन गर्ने भएकाले पनि महत्वपूर्ण छ । तर यसबीचमा स्थगित गरिएको संसदीय दलको बैठक भने ओली नभए पनि कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बस्ने उच्च स्रोतले जनाएको छ ।

वामदेव नै कार्यवाहक ?

यसैबीच उपचारका लागि विदेश जाँदा अध्यक्ष ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई दिने भएका छन् । ओली अध्यक्ष निर्वाचित भए लगत्तै बरिष्ठ उपाध्यक्ष को भनेर बामदेव गौतम र भीम रावलबीच विवाद भइरहेका बेला ओलीले पार्टीमा बरिष्ठताका आधारमा गौतमलाई कार्यवाहक दिन लागेको ओली निकट स्रोतले जनाएको छ ।

 गौतमभन्दा ५ भोट बढी ल्याएका कारण आफू कार्यवाहक अध्यक्ष हुन पाउनुपर्ने रावलको दावी छ । उनले गत शनिवार ओलीलाई बालकोटस्थित निवासमै भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment