Comments Add Comment

यसवर्ष पानी कम पर्ने मौसम विभागको अनुमान

२५ असार, काठमाडौं । भू-मध्य रेखीय प्रशान्त महासागरमा देखिएको इलनिनोको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसवर्षको मनसुनी वर्षा दशदिन ढिलो गरी १० जुनमा सक्रिय भएको थियो । तर, मध्य तथा पश्चिम नेपालमा सक्रिय हुन १४ दिन लागेको र जेठ-असार (जुन-जुलाई) महिनामा कम वर्षात् भएको विभागले जानकारी गराएको छ ।

विभागका उपमहानिर्देशक शिव नेपालले यस वर्ष अघिल्ला वर्षभन्दा नेपालमा कम वर्षा हुने विश्व मौसम संगठनले आँकलन गरेको र विभागको आँकलन पनि यही रहेको बताए । ‘पश्चिमी वायुको प्रभाव बढी रही पूर्वीय वायुलाई रोकेको कारण यस वर्ष कम मनसुन सक्रिय हुन्छ र सक्रिय हुने समय पनि कम हुन्छ’ उनले भने ।

नेपालमा जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन सक्रिय हुने र अक्टुबर महिनालाई मनसुन फर्किने महिनाका रुपमा लिने गरिन्छ । सन् २००३ देखि २०१३ सम्मको आँकडालाई केलाउने हो भने मनसुन सुरु हुने र फर्किने सयममा परिवर्तन भइराखेको छ ।

उपमहानिर्देशक नेपालका अनुसार विभागअन्तर्गत विभिन्न स्थानमा रहेका १३ वटा स्टेसनले देखाएको आँकडामा यस वर्षको मनसुनी वर्षा सरदरभन्दा कम रहेको देखाएको छ । भू-मध्य रेखीय प्रशान्त महासागरमा करिब सात वर्षको अन्तरालमा इलनिनोको प्रभाव देखिने गर्दछ । आकाशे पानीमा निर्भर गर्नुपर्ने नेपालको कृषि प्रणाली भएकाले कम वर्षातले कृषि क्षेत्रमा नकारात्मक असर पर्न सक्ने विभागले प्रक्षेपण छ ।

वर्षा नभएका कारण पश्चिम नेपाललगायत अन्य ठाउँमा तापक्रम सरदरभन्दा बढी छ । विभागले यस वर्ष जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनामा मनसुनको प्रभाव कम हुने आँकलन गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment