Comments Add Comment

पर्यटनमन्त्रीको डटपेन र डायरी एमाले कार्यकर्ताले खोसे

madhav-nepal-tshirt

ज्ञानेन्द्र खड्का

२७ असार, काठमाडौं । केपी ओली र माधवकुमार नेपालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि दुबै प्यानलका उम्मेदवारबीच चुनावी प्रचारको होडबाजी सुरु भएको छ । प्रतिनिधिलाई आफ्नो पक्षमा तान्न मन्त्रीले समेत डटपेनदेखि डायरीसम्म बाँड्न भ्याएका छन् ।

धेरैभन्दा धेरै कार्यकर्ता महाधिवेशनस्थलमा उतार्ने होडमा रहेका दुबै गुटका अध्यक्षका प्रत्यासीले आफ्नो आकृति बनाइएको हजार थान बढी टी-सर्ट कार्यकर्तालाई बाँडेका छन् । यसैक्रममा पर्यटनमन्त्रीले बाँडेको डटपेन र डायरी स्वयंसेवकहरुले खोसेका छन् ।

नेपालपक्षले बग्गीखानास्थित प्यानल घोषणास्थल यलम्बर पार्टी प्यालेसमा नेपालपक्षले टी-सर्ट बाँड्दा कार्यकर्ताबीच हारालुछ भएको थियो । नेपालपक्षले जसको नीति उसकै नेतृत्व नारासहितका हजार बढी टी-सर्ट बाँडेपछि कार्यकर्ता महाधिवेशनस्थल अगाडि जम्मा भएका छन् ।

Oli-tshirt

त्यसैगरी केपी ओली पक्षले हामी सबैको एउटै बोली अबको अध्यक्ष केपी ओली नारासहितको टिसर्ट बाँडेपछि कार्यकर्ता हुटिङमा उत्रेका छन् । महाधिवेशनस्थलको मूलगेट अगाडिको सडकमा दुईतर्फ बसेर कार्यकर्ताले नेताहरुका पक्षमा नारा लगाएका छन् ।

पर्यटन मन्त्रीले बाँडे डटपेन र डायरी

एमाले अध्यक्ष झलनाथ खनालका नातेदार समेत रहेका पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीम आचार्यले एमालेको सचिव पदमा उठ्ने पक्का भएपछि चुनाव प्रचार थालेका छन् ।

अध्यक्ष खनालनिकटका आचार्यले माधव नेपाल समूहबाट सचिव पदमा टिकट पाउने भएपछि कार्यकर्तालाई चुनाव प्रचारमा उतारेका हुन् । उनले चुनाव प्रचारका लागि आवरणमा आफ्नो रंगिन तस्वीर भएको पकेट डायरी वितरण गरेका छन् । पकेट डायरीका साथमा डटपेन पनि बाँडिएको छ । सचिवका प्रत्यासी आचार्यले बाँडेका डटपेन र डायरी महाधिवेशनस्थल पस्ने मूलगेटमा स्वयम्सेवकहरुले खोसिदिएका छन् ।

चुनाव प्रचारकै क्रममा सिन्धुपाल्चोकका एमाले नेता अरुण नेपालले कार्यकर्तालाई टी-सर्ट नै बाँड्न भ्याएका छन् । माधव नेपाल समूहबाट केन्द्रीय सदस्यमा उठेका नेपालले बाँडेको टी-सर्टसहितका दर्जनांै कार्यकर्ता महाधिवेशनस्थल बाहिरको सडकमा भेटिन्छन् ।

एमाले निर्वाचन आयोगले महाधिवेशनस्थल अगाडिको सडकमा समेत भड्किलो प्रचार नगर्न माइकिङ गरेपछि दुबै पक्षले त्यसको ठाडो उलंघन गरेका छन् । निर्वाचन आयोगले महाधिवेशनस्थल अगाडिको सडकको रत्नराज्यलक्ष्मी क्याम्पस नजिकैको रक्तसञ्चार केन्द्र र राष्ट्रिय सभागृहको मूलगेटसम्ममा चुनाव प्रचार नगर्ने आचारसंहिता बनाएको थियो ।

एमालेको निर्वाचन आयोगका प्रमुख सोमनाथ प्यासीले तोकिएको क्षेत्रभित्र चुनाव प्रचार नगर्न माइकिङ गरिएको बताए । तर, आयोगले गरेको माइकिङको दुबै पक्षले पालना गरेका छैनन् । चुनाव प्रचारका लागि हाते प्रचारदेखि छातिमा झुण्ड्याउने ठूला प्रचार सामग्रीसम्म रहेका छन् ।

‘हामीले महाधिवेशनस्थल अगाडिको क्षेत्रमा चुनाव प्रचार नगर्न निर्देशन दिइसकेका छौं’, अध्यक्ष प्यासीले भने, ‘दुबैपक्षले आचारसंहिता पालना गरे, नगरेको हामीले अनुगमन गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment