Comments Add Comment

माधव नेपालसँगै बिताएको त्यो रात !

kamal maden-कमल मादेन 

यो पंक्तिकार झण्डै एक दशकदेखि एमालेको पार्टी गतिविधिबाट टाढा छ । राजनीतिमा यो टिप्पणीकारको भूमिका भनेको फगत आम चुनावमा भोट हाल्नु शिवाय अरु छैन । एमालेको राजनीतिबाट निश्कृय बसेको व्यक्तिलाई माधवकुमार नेपाल हार्नु, कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै हो । तर, पनि महाधिवेशन काठमाडौमै भयो । केहीपटक भृकुटीमण्डप पुगेर रमिता हेरियो । पुराना साथीभाइहरु भेटघाट भए । एकातिर नेपाल र अर्कोतिर ओली समहुको नाँचगान देखियो । नेपाल, ओलीको जय-जयकार सुनियो । पहिले त्यस्तो गुणगान हुन्थेन । अहिले त्यो पाच्य भइसकेछ । त्यसैगरी एमालेमा स्वयम्सेवक दस्ता सकिएछ । कार्यकर्ता होइन, पुलिस पो भरपर्दो दस्ता भएछ ।

पिपुल्स भोलेेेन्टियर्स र माधव नेपालसँग बिताएको रात

एकताका म पार्टी एमालेको राजनीतिमा सकृय हुने गर्थे । ०५६/०५७ सालतिर मोरङ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै थियो । स्व. गिरिजाप्रसाद कोइरालाले त्यो क्षेत्र छाडेका थिए । मोरङको इटहरा गाविसका अध्यक्ष रामकुमार राईको एमालेबाट उम्मेदवारी परेको थियो । त्यसबेला म धरानको हात्तीसार क्याम्पसमा वनस्पतिशास्त्र अध्यापन गर्थे । पार्टीमा मेरो जिम्मेवारी पिपुल्स भोलेेेन्टियर्सको केन्द्रीय सदस्य थियो । पिपुल्स भोलेेेन्टियर्स्को काम भनेको पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा भोलेेेन्टियर्स अर्थात स्वयम् सेवकीय भूमिका निर्वाह गर्नु थियो ।

स्वयम सेवक दस्ताजस्तो पिपुल्स भोलेेेन्टियर्स देखिए पनि त्यसको खास उद्देश्य भनेको पार्टी नेता तथा कार्यक्रमको सुरक्षा प्रदान गर्नु थियो । पिपुल्स भोलेेेन्टियर्सको केन्द्रीय महानिर्देशक प्रदीप नेपाल र महासचिव रामनाथ ढकाल थिए ।

मेरो तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ हेर्ने जिम्मेवारी थियो । भोजपुर र संखुवासभाबाट शेरधन राई भोलेेेन्टियर्सको केन्द्रीय सदस्य थिए । तेह्रथुममा पिपुल्स भोलेेेन्टियर्स प्रमुख विजय सुब्बा थिए । सुनसरी र मोरङमा मोतीराज सुनुवार र बाबुराम कार्की प्रमुख थिए । धनकुटाका प्रमुख मारेकटहरेका एक कमरेड थिए । कोशी अञ्चलमा एमोलको पिपुल्स भोलेेेन्टियर्सको गतिविधि सन्तोषजनक नै थियो ।

मोरङको उपनिर्वाचनमा धेरै नेताहरु राजधानीबाट पुगे । भरतमोहन अधिकारी विपक्षी समुहमा गएर भोट नदिए पनि हात त मिलाउनुहोस् भनेर अघि सर्थे । महिलालाई नमस्कार गर्थे । विपक्षीलाई चिढाउँथे ।

गुरुप्रसाद बराल कोशी अञ्चल इञ्चार्ज थिए । बरालसँग मेरो चिनजान तेह्रथुमदेखिकै थियो । जनआन्दोलन ०४६ ताका उनी तत्कालीन मालेका तेह्रथुम सचिव थिए । म शंकर मावि जलजलेमा शिक्षक थिएँ । म जलजले इलाकामा ०४५ सालमा बनाइएको माक्र्सवादी अध्ययन समुह सचिव पनि थिएँ । त्यसअघि सुनसरीमा पनि म एक माक्र्सवादी अध्ययन समुहको सचिव थिएँ । पछि नेकपा मालेको इलाका पार्टी सचिव हँुदै ०५० सालमा जिल्ला सदस्य भएँ । जुन अधिवेशन माधवकुमार नेपालले उदघाटन गरेका थिए ।

उपचुनावका शिलशिलामा एक दिन मेरो विशेष जिम्मेवारीमा थपियो । तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल मोरङ क्षेत्र नम्बर १ आउँदै थिए । उनको सुरक्षा प्रवन्ध मिलाउनु मेरो विशेष जिम्मेवारी थियो । मैले मोरङ पिपुल्स भोलेेेन्टियर्सलाई एलर्ट गरें । सुनसरीका केही साथीहरु पनि सहभागी भए ।

बिराटनगर-१२ का राम साह मोरङ पिपुल्स भोलेेेन्टियर्सका सचिव थिए । उनी अक्सर मसँगै हुन्थे । एमालेतर्फबाट जिल्ला उपसभापति चुनिएका टुलुराज राजबंशी महादेवा गाविसका थिए । उनी त्यसबेला भर्खरै कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसका कार्यकर्ताले साहलाई आक्रमण गरे । तिनलाई जोगाउन हामीलाई हम्मे-हम्मे पर्‍यो ।

महासचिव बिराटनगर आउनुभयो । त्यो दिन पार्टीका जिल्ला नेताहरु ताँती नै लागेका थिए । त्यो साँझ पार्टीले महासचिव कमरेडलाई मोरङको सिँजुवा गाविसमा बास बसाउने निधो गरेको थियो । मैले बिशेषत वहाँको सुरक्षा हेर्नु थियो । त्यो साँझ तराई मूलका एक कमरेडको घरमा खाना खाइयो । विद्यार्थी नेता ऋषिकेश पोख्रेल -वर्तमान एमाले सभासद) सँग हामी सधैं सँगै हुन्थ्यौं । उनको घर पनि सिँजुवा हो ।

राति सुत्ने बेला भयो । फुसको घर । महासचिव माधव कमरेडलाई एउटा साँघुरो कोठामा ओछ्यान लगाइएको थियो । नजिकै अर्को ओछयानमा मैले सुत्नुपर्ने भयो । राति मैले महासचिवसँग केहीबेर कुराकानी गरें । त्यसबेला खासै सुरक्षा त्यस्तो के नै पो दिनुपथ्र्यो र ? तर, पिपुल्स भोलेेेन्टियर्सको केन्द्रीय सदस्यको हैसियतले वहाँलाई सुरक्षा दिएजस्तो गर्नु थियो । म त्यो क्षण कहिल्यै बिर्सदिँन । अहिले भए माधवकुमार नेपाल सायद मसँगै एउटै कोठामा सुत्दैनथे होला । किनभने हिजोआज नेतालाई कार्यकर्ताभन्दा बढी पुलिसको विश्वास लाग्छ ।

हामी बिहानको चियापछि त्यो ठाउँबाट हिँड्यौ । महासचिव कमरेड गाडी चढिसक्नु भएको थियो । बास बसेका घरमुली ४ बर्षजतिको छोरा लिएर आँगनमा निस्कनुभएको थियो । सबैले हात हल्लाएर महासचिव कमरेडलाई लौ बिदा हौं भनिरहेका थिए । महासचिव कमरेड गाडीबाट फुत्त ओर्लनुभयो र सरासर आँगनतर्फ बढ्नुभयो । अनि बास बसेका घरमुलीका छोरासँग हात मिलाएर फनक्क फर्किनु भयो । अनि भन्नु भयो ‘बच्चालाई सम्झना दिलाउनुपर्छ कि नेकपा एमालेको महासचिवले गाडीबाट ओर्लेर हात मिलाएको थियो’ । अनि थप्नुभयो ‘त्यो सानो बालकले यो क्षण कहिल्यै बिर्सन सक्दैन र भविष्यमा ऊ एमालेको दरो खम्बा बनिने छ’ । तर, ती बालक हिजोआज एमाले छन् कि मधेसवादी दलको कार्यकर्ता बनिएका छन् थाहा छैन । तर, त्यतिबेला नै पार्टीमा भित्रभित्रै माधव र ओली समुहको उदय भइसकेको रहेछ । हामी धेरै कार्यकर्तालाई थाहै थिएन ।

माधव र ओली समुह

मैले माधवकुमार नेपाललाई नजिकबाट त्यसउप्रान्त कहिल्यै देखिँन । त्यसअघि नै माधव, ओलीबीच टस्सल शुरु भइसकेको रहेछ । पछि बुझें, कोशी-मेचीमा त्यसबेला ओली समुह दरो रहेछ । कोशीको सुनसरी जिल्लाबाहेक सबै जिल्लामा ओली समुहको बर्चस्व रहेछ ।

सुनसरीमा भीम आचार्य सचिव थिए । पछि मोरङबाहेक कोशीको अन्य ५ जिल्ला ओली पक्ष कमजोर बन्यो । मैले पाँचौं महाधिवेशनका निम्ति तेह्रथुममा मत खसालेको थिएँ । छैठौं महाधिवेशनमा बिराटनगरबाट मत खसालेँ ।

सातौं महाधिवेशन हुनुभन्दा एक/दुई वर्ष अघिदेखि मेरो बसाइ धरानमा थियो । त्यसबेला मेरो पार्टी सदस्यता मोरङबाट सुनसरी ट्रान्सफर गरिएको छ भनियो । सुनसरी जिल्ला कमिटिमा १/२ जनाबाहेक सबै संस्थापना पक्ष अर्थात माधवकुमार नेपाल पक्षधर थिए । मेरो पार्टी सदस्यता सुनसरीमा आइपुगेन । मैले भोट खसाल्न पाइँन । सुनसरीको एकैजनाले पनि सदस्यता कता नवीकरण गरियो भनेर सोधेनन् । जब कि त्यसबेला म धरान नगर कमिटीको कार्यलयमा अक्सर गइरहन्थें । कार्यालयलाई सूर्य नामक मासिक पत्रिका मैले किनिदिने गरेको थिएँ ।

अहिले नवौं महाधिवेशनमा देखिएको प्रवृत्ति कोशी अञ्चलमा त्यसबेलै नै देखिएको थियो । त्यसबेला यस्तो भित्रभित्रै गरिँदोरहेछ, अहिले खुल्ला भएको मात्रै हो ।

कोशी अञ्चलमा त्यसबेलादेखि ओली समुह कमजोर बनेको हो । त्यो अध्यावधि कायमै छ । नवौं महाधिवेशनमा कोशीबाट ओली समुहका गुरुप्रसाद बराल, राजेन्द्र गौतम, किशोरचन्द दुलाल हारेका छन् । गौतम कोशी अञ्चल इन्चार्जमा थिए । कोशीबाट नेपाल समुहबाट भीम आचार्य, लालबाबु पण्डित र धर्मराज निरौलाले जितेका छन् । उसो त कोशी अञ्चलमा सधै संस्थापना पक्षलाई समर्थन गर्ने कमरेडहरु धेरै थिए । उनीहरु भन्ने गर्थे, हामी सधैं संस्थापना पक्ष हुन्छौं । अब ओली संस्थापना पक्ष भए । के उनीहरु अब माधव नेपाल पक्षमा उभिन्नन् त ?

माधव नेपालको गल्ती

डा. सुरेन्द्र केसीले एक अन्तवार्तामा ‘माधवकुमार नेपालले नवौं महाधिवेशनमा उठ्नु जीन्दगीकै सबैभन्दा ठूलो भूल गरे’ भनेका थिए । ३/३ पटक कार्यकारी प्रमुख भएको व्यक्तिले फेरि चौथोपटक म एमाले अध्यक्ष भएको छुइँन भनेर चुनाव लड्नु वास्तवमै ठूलो भूल गरेका हुन् । तत्कालीन महासचिव अहिलेको एमाले अध्यक्षभन्दा शक्तिशाली पद हो । त्यसबेलाको केन्द्रीय समितिमा अहिलेजस्तो औंलामा गन्नै नसकिने उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव आदि हुन्थेनन् । नेता नेपालले गर्व गर्न सक्नुपथ्र्यो – अहिलेजस्तो हाँगाबिगा भएको अवस्थामा होइन, सग्लो अवस्थामा ३/३ पटक कार्यकारी प्रमुख भएको हुँ भनेर ।

ओलीलाई स्वीकार्न नस्कने युवा जमातले उनलाई हौस्याए । कामरेड अध्यक्ष कहिल्यै बन्नुभएको छैन, अब कमरेडले अध्यक्ष बन्नुपर्छ, हामी जिताइहाल्छांै भनेर युवाहरुले कर गरे । त्यही लहैलहैमा नेपाल हौसिए माधव नेपाल ।

नेता नेपाललाई विज्ञानले विकास गरेको खोज अन्वेषणहरुप्रति विश्वास लागेन । उनले एमालेले भन्दै आएको हाइटेक प्रविधिलाई अविश्वास गरे । क्षणभरमै सकिने विद्युतीय चुनाव सिस्टमप्रति अविश्वास गर्ने काम भयो । उनले पहिलेकै हस्तलिखत प्रविधिलाई निम्त्याए । फलस्वरुप महाधिवेशन लम्बियो । त्यसले पनि माधव नेपालप्रति तिक्तता उब्जियो । नेता नेपालले महाधिवेशनस्थललाई नाटक मञ्चन गर्ने थलो बनाए । कार्यकर्ता थकित भए ।

ओलीे नेतृत्व कहिलेसम्म ?

ओलीलाई माधवकुमार नेपालले लगाउने आरोप धनवाद र डनवाद हो । ती आरोपमध्ये ओलीले जनतालाई डनवादवारे अझै प्रष्ट गराउन सकेका छैनन । ओलीको डनवादप्रति मेरो समर्थन छैन भन्ने कुरा जनताले अझै पत्याउन सकेको छैन । कहिलेकाहीँ राज्यले खोजी गरिरहेको व्यक्तिप्रति ओली निस्पिmक्री त्यो व्यक्तिलाई लगाइएको आरोप झुठ्ठा हो भनिदिने गर्छन् । त्यो उनको सबैभन्दा ठूलो कमजोरी हो । त्यसले ओलीको नेतृत्व सफा हुन सक्छ भन्न सकिन्न ।

अहिले ओली जीन्दगीकै सबैभन्दा बढी शारीरिक रुपमा अस्वस्थ छन् । यही अवस्था सुशील कोइरालाको पनि छ । रोगले दुबै डाँडापारिका घाम हुन लागेका छन् । ओलीले एक कार्यक्रममा भने-‘कमरेडहरुको जतिको लामो जीवन मेरा सामु छैन । त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन ।’ वास्तवमै त्यो भनाइ मार्मिक छ ।

त्यसैबेला माधवकुमार नेपाल भनिरहेका थिए, अब ओली कमरेडको परीक्षणको घडी शुरु भएको छ । के त्यसो भनिरहन जरुरी थियो ? ओलीले बैंककबाट फकर्ंदै भनेका थिए, मरिन्छ किजस्तो लागेको थियो, बाँचियो । बचेको जिन्दगी जनता, देश र पार्टीका लागि समर्पण गर्छु । उनलाई जीन्दगी उसबेलै सकिने भो जस्तो लागेको थियो । त्यसैले बचेको जीन्दगी त बक्सिस हो भने ।

मनमोहन अधिकारीलाई एमाले नेताहरुले म्याराथुनमा सहभागी गराएझंै दौडाएर नै कोमामा बित्न बाध्य पारे । त्यो उमेर र अस्वस्थतालाई ध्यान दिनुपथ्र्यो । काठमाडौंमा बोल्दाबोल्दै लड्नु केही महिनाअघि धरानमा म र केशव दाहालले ‘हाम्रो अभियान’ नामक मासिक पत्रिकाका निम्ति बंशी मोक्तानको घरमा मनमोहनको अन्तरवार्ता लिएका थियौं । त्यो अन्तरवार्ताका दौरान करिव ४५ मिनेटको अवधिमा मनमोहनको कैयौंपटक स्वाँस बढेको थियो । त्यसबेला नेताहरुले पहिलेदेखिकै बिरामी तथा हेलिकोप्टर दुर्घटनामा परेको व्यक्तिलाई चुनाव जित्नैपर्ने सोचमा म्याराथुनमा सहभागी गराए । अहिले अध्यक्ष ओली त्यस्तै म्याराथुन दौडमा सहभागीे छन् ।

ओली पनि एकपछि अर्को पद प्राप्तिको होडमा फस्दै गएका छन् । त्यो उनको अर्को भयंकर ठूलो कमजोरी हो । सबैमा आफै प्रमुख हुनु पर्ने । आÏनो सोचअनुसार टिमलाई विजय गराउन पनि त सकिन्थ्यो । त्यो उनले गरिरहेका छैनन् । किन आफै संसदीय दलको नेता, पार्टी अध्यक्ष नबनी नहुने ? पुस्तान्तरनको कुरा उठिरहेका बेला युवा नेता ईश्वर पोख्रेल वा अरु कोहीलाई अध्यक्ष उठाइदिएको भए हुन्थेन ? के चीनमा देङ स्याओपिङ कार्यकारी प्रमुख भएरै चीनलाई उँभो लगाएका होइनन् ? उनी चीनमा पर्दा पछाडिको सर्वोच्च नेता थिएनन् ? केपी ओलीको नेतृत्व कहिलेसम्म ?

केही सैद्धान्तिक प्रश्नहरु

नेता नेपालका अनुुसार नवौं महाधिवेशनमा नेपाली समाज राजनीतिका बिषयमा असाध्यै महत्वपूर्ण विषयहरुमा बहस-छलफल हुने भएको थियो । दुनियाँलाई थाहा छ, एमाले गण अझै अर्धसामन्ती-अर्धऔपनिवेशिक कि पुँजिवाद भन्ने शब्दको फन्दामा परेको छ । ती शब्दावलीको बहसले जनताका आश्यकता र अहिले उठेको पहिचानको सवालसँगै विपन्नताको खाडलमा त्यसले तात्विक फरक पार्दैन । दस्तावेजमा ‘नेपाली समाजको आधारभूत रुपले पुँजीवादतर्फ उन्मुख भएको’ भनिएको छ ।

एमालेले अघि सारेको मान्यता भनेको नेपाल पुँजीवाद विकाशको प्रारम्भिक स्तरमा छ । कसरी ? दैनिक १५ सयजति युवा वैदेशिक रोगगारका निम्ति बाहिरिन्छन् । मुलुकको अर्थतन्त्र तिनीहरुले कमाएको पैसाबाट धानिएको छ । विदेशमा बनिएका सवारीका साधनमा झण्डै २ सय ४० प्रतिशत कर लगाई राजस्व असुलिन्छ । जनतालाई आवश्यक पर्ने सबैजसो वस्तु विदेशबाट झिकाइन्छ । कर्मचारी र नेताहरुका मनोबृति पञ्चायतकालीन जस्तै छ । कल कारखानाका लागि मात्र होइन, घरमा बाल्ने बिजुलीसमेत राज्यले उत्पादन गर्न सकेको छैन । के यसरी नै हो नेपाली समाज पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको ?

विसं ०६८ को जनगणनामा तराईमा अमत, धान्डी, धन्कार, काथबानियन, कोरी नथुवा, राजधोब र सर्बार गरी आठ नयाँ जात सुचीकृत भएका छन । तिनीहरुको अवस्था के कस्तो छ, थाहा छैन । भर्खरै मात्रै तिनीहरु नेपाली नै हुन् भनेर जानकारीमा आएको छ । सरकारले तिनीहरु अहिलेसम्म नेपाली हुन् भनेर पहिचान नै गर्न सकेको थिएन । अर्कोतिर तराईको दलित मुसहर र तराई आदिवासी जनजाति भनिएको कुसवाडिया लगायत अन्य केही समुदायको अवस्था कतिपय मामलामा राउटे समुदायभन्दा कमजोर छ ।

मुसहर समुदायमा ६ बर्षभन्दामाथिका महिलाको साक्षरता दर १३.४ प्रतिशत छ । त्यसरी नै कुशवाडिया महिला १५.२ प्रतिशत साक्षर छन । जब कि नेपालको औसत साक्षरता दर ६५.९ प्रतिशत छ । सबैभन्दा बढी साक्षर भएको समुदाय जैन हो । त्यो समुदायको ६ वर्षभन्दा माथिका ९८.४ प्रतिशत साक्षर छन् । कुशवाडिया समुदायले बिजुली बत्ति राउटेभन्दा कम उपभोग गर्छ (भर्खरै सुचीकृत भएकाको जातिका आर्थिक, शैक्षिक आदिबारे राज्यलाई केही जानकारी छैन ) अबको बहस ती तथ्यांकहरु कसरी उभो लगाउने भनेर हुनुपर्ने हो । त्यो सन्दर्भ उठ्यो भने कम्युनिष्ट राजनीति जातजाति भन्दा माथि हुन्छ, भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment