Comments Add Comment

‘नक्कली आमा’ले पाटन अस्पतालमा यसरी मच्चाइन् हंगामा

३ साउन, काठमाडौं । उहिल्यै गाउँघरमा महिलाले थाङ्नो बेरेर नक्कली गर्भवती बनेको घटना यदाकदा सुनिन्थ्यो । तर, शनिबार अपराहृन उपत्यकाको पाटन अस्पतालमै एउटी महिलाले नक्कली गर्भवती र सुत्केरी बनेर बबण्डर मच्चाइन् । ‘नक्कली आमा’को नाटकका कारण डाक्टरहरु, अस्पताल प्रशासन, सरकारी हाकिम, प्रहरी र मिडियालेसमेत शनिबार पाउनुसम्म दुःख पाए ।

Patan hospitalअविना श्रेष्ठ नाम गरेकी ती महिलाले शनिबार बिहान साढे ५ बजे छोरो जन्मिएको र अस्पतालकी एक सिस्टरले तातो बनाउन लगेपछि फिर्ता नै गरिन भन्दै हारगुहार गरेपछि आफन्तहरु दौडिएर अस्पतालमा पुगे ।

पति स्थानीय विकास मन्त्रालयका इन्जिनियर पुण्यराम सुलुले अस्पतालबाटै रुँदै साथीहरुलाई फोन गरे । उनको सहयोगका लागि हाकिमदेखि सहकर्मीसम्म अस्पतालमा भेला भए । त्यसपछि तत्काल बच्चा चोरी भएको भन्दै मिडियालाई पनि बोलाइयो । केही टेलीभिजन र अन्य मिडियालेसमेत पाटन अस्पतालबाट नवजात शिशु हराएको समाचार सम्प्रेषण गरे ।

तर, प्रहरी टोली र अस्पताल प्रशासनले छानविन गर्दा श्रेष्ठले जन्माउँदै नजन्माएको बच्चा हराएको भन्दै आरोप लगाएको रहस्य खुल्यो । छानविनका क्रममा सिद्धी पोलिक्लिनिकसहितका तीन स्वाथ्य संस्थाले यसअघि पाठेघर सानो भएका कारण ती महिलाबाट बच्चा हुन नसक्ने भनी दिएको रिपोर्ट नै भेटिएपछि अविनाको नक्कली आरोपको पोल खुलेको हो ।

एक प्रहरी अधिकारीले अनलाइनखबरसँग भने- ‘सातजना डाक्टरले जाँच गरे । तर, उनी गर्भवती भएको कुनै लक्षण नै देखिएन । उनको शारीरिक अवस्था नै कुनै गर्भवती महिलाको जस्तो थिएन । डाक्टरहरुले जाँच्दा उनमा रक्तश्रावसम्म भएको भेटिएन । पाटन अस्पतालका प्रमुख डा. पवन आचार्यले भने- ‘हामीले उनको शारीरिक जाँच गर्दा गर्भवती नै भएको पाएइन ।’

प्रहरीले अस्पतालका प्रमुख पवन शर्मासहितलाई बोलाएर परीक्षण गराएको थियो । ती महिला अस्पतालमा भर्ना भए नभएको रेकर्ड पनि प्रहरीले खोजेको थियो । तर, उनी अस्पताल भर्ना नै नभएको पाइएको छ ।

प्रहरी स्रोतका अनुसार उनले कसैसँग बच्चा लिने सहमति गरेर अस्पताल गएको तर, समझदारी अनुसार बच्चा दिने मान्छे तयार नभएपछि यस्तो नाटक गरेको हुनसक्छ ।

‘अस्पताल प्रशासनले चाहृयो भने ती महिलालाई कारवाही हुन्छ’ एक प्रहरी अधिकारीले भने-तर, प्रशासनले पीडित हुनुहुन्छ, छोडिदिनुस् भनेपछि उनलाई छाडिएको छ ।’

ती महिलाका पतिलाई समेत उनले आफू गर्भवती रहेको भनेर ढाँटेको हुनसक्ने अनुमान गरिएको छ । आफ्नो बच्चा हराएको भन्दै मिडियालाई हारगुहार गरेका स्थानीय विकास मन्त्रालयका इन्जिनियर सुलुले शनिबार अपरान्हदेखि आफ्नो मोबाइल फोन बन्द गरेका छन् ।

तर, शहरमा बसोबास गर्ने सरकारी जागिरेकी पत्नीले त्यसरी पाठेघरको खराबीकै कारण बच्चा जन्माएको नाटक गरिरहनुपर्ने र परिवारलाई झुक्याउनुपर्ने बाध्यता अनुमान गर्न नसकिने भन्दै एक प्रहरी अधिकारीले यस्तो प्रकृतिको घटना देखेर आफू छक्क परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment