Comments Add Comment

पुष्पलाल र गंगालालको शालिकको कन्तबिजोग !

puspalal-gangalal

मात्रिका पौडेल
७ साउन, काठमाडौं । गत वर्ष साउन ७ गते रामेछापको भँगेरीस्थित शहीद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरमा पुग्दा एमाले महासचिव ईश्वर पोखरेलसमक्ष स्थानीय जनताले धेरै केही मागेनन् ।

उनीहरुको जम्माजम्मी एउटै माग थियो ‘भँगेरीलाई नेपालका कम्युनिस्टहरुको पवित्रस्थल घोषणा गरियोस्’ । उनीहरुले यही माग तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालसमक्ष पनि राखेका थिए ।

दुई लालको जन्मघर

राणा शासनका बेला काठमाडौंका सुब्बा भक्तलाल श्रेष्ठ जागिर खाने सिलसिलामा रामेछाप अड्डा पुगेका थिए । उनले रामेछाप डाँडास्थित भँगेरीमा आफ्नो बासस्थान बनाए । यही ठाउँमा उनका दुई छोरा गंगालाल र पुष्पलाल जन्मिएका हुन् । भँगेरीमा जन्मेका दुबै लालहरु नेपाल आमाका महान सपुत बन्न सफल भए ।

‘जागिरका सिलसिलामा भक्तलाल यता आएका बेला पुष्पलाल जन्मिएको बुढापाकाहरु सुनाउँथे, तर जन्मिएको घर देख्ने कोही भेटिएनन्’ रामेछापका पूर्वसांसद एवं एमाले नेता देवशंकर पौडेल भन्छन् ‘नारायणबाबुले संरक्षण गरेर राखेको जमिनलाई नै पुष्पलाल र गंगालालको जन्मघरको रुपमा मानियो’ ।

भक्तलालको जागिर अवधि सकिएपछि गंगालाल र पुष्पलाल पनि काठमाडौं फर्किए । केही वर्षपछि गंगालाललाई राणा शासकले हत्या गरे । त्यसपछि पुष्पलालले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे ।

‘पुष्पलाल त्यसपछि जन्मस्थान भँगेरी फर्किएको प्रमाण भेटिएन, बरु साहना प्रधान पछि पनि आफ्नो पतिको जन्मस्थलमा आइपुगिन्’ रामेछाप गाविसका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले अनलाइनखबरसँग भने ।

कम्युनिस्टले केही गरुन्

रामेछाप गाविस वडा नम्बर ४ स्थित प्राचीन नेवार वस्ती रहेको भँगेरीलाई पुष्पलालको नामबाट चिनाउनका लागि केही योजना बनाउन लागिएको पुष्पलालको जन्मस्थल संरक्षण गरिरेहका स्थानीय रमेशबाबु श्रेष्ठ बताउँछन् । पुष्पलाल स्मृति दिवसका बेला संयोगबस भँगेरीमै पुगेका युवा व्यवसायी रमेशबाबु यो काममा एमाओवादी र एमाले दुवैको साथ खोजिरहेका छन् ।

‘माधव नेपालले पहिले नै पुष्पलाल जन्मिएको जग्गा माग्नुभएको थियो पुष्पलाल पार्क बनाउन’ रमेश बाबु भन्छन् ‘तर हामीले एउटा कम्युनिष्ट पार्टीलाई मात्र नदिने निर्णय गरेर रोक्यौं’ ।

गत वर्ष एमाले महासचिव ईश्वर पोखरेल पुष्पलाल जन्मिएको यही घरमा पुगेर स्थलगत अध्ययन गरी पुष्पलालका नाममा केही योजना पार्ने बताएका थिए ।

पुष्पलालकी धर्मपत्नी साहना अहिले अचेत अवस्थामा अस्पतालमा छिन् । उनले पनि यो ठाउँका लागि केही गर्नुपर्ने बताएकी थिइन् ।

puspalals-house

जन्मघरमा जुनार

भँगेरीका बासिन्दाले नेपालका दुबै ठूला कम्युनिस्ट पार्टी एमाले र एमाओवादीबाट आश्वासनबाहेक अहिलेसम्म केही पाएका छैनन् । बरु गंगालाल र पुष्पलालको चीनोका रुपमा रहेको जन्मस्थलमा लटरम्म जुनार फलेका छन् । ती महान् दाजुभाइको जुम्ल्याहा शालिक भने उनीहरुको जन्मस्थलजस्तै भग्नावशेषका रुपमा अलपत्र परेर ढलिरहेको देख्न सकिन्छ ।

राज्य र पुष्पलालले स्थापना गरेको पार्टीले वेवास्ता गरे पनि यही गाउँका वामपन्थी अगुवा नारायणबाबु श्रेष्ठले गंगालाल र पुष्पलालको जन्मस्थलको संरक्षण गरेका छन् । जन्मिएको घर उहिल्यै भत्किए पनि नारायणबाबुले यो ठाउँको संरक्षण गर्दै पुष्प बगैंचा स्थापना गरेका छन्, जहाँ अहिले पनि गुलिया जुनार फल्छन् ।

‘हामीले यो ठाउँमा पुष्पलालको नामबाट केही गरौं भनेर प्रचण्डदेखि माधव नेपालसम्मलाई आग्रह गर्‍यौं’ नारायणबाबुका कान्छा छोरा रमेशबाबु श्रेष्ठ भन्छन् ‘तर नेताहरुले आश्वासन मात्रै दिए’ । नेताले वास्ता नगरे पनि नारायणबाबु जीवनपर्यन्त साझा वामपन्थी भएर रामेछापमा सम्मानित भए । पुष्पलालको जन्मघरको संरक्षण पनि उनैले गरे ।

पुष्पलालका नाममा

एमाले रामेछाप जिल्ला कमिटीले भँगेरीसहितको क्षेत्रलाई समेटेर पुष्पनगर नामाकरण गर्ने र रामेछापमा निर्माण हुन लागेको पोलिटेक्निक इन्स्टिच्युटको नाम पनि पुष्पलालबाटै राख्ने प्रस्ताव गरेको थियो । अहिले काठमाडौंबाट रामेछाप जोड्ने मन्थली रामेछाप सडक खण्डको नाम पुष्पलाल मार्ग राखिएबाहेक अरु कुनै काम भएका छैनन् । यसवर्षको बजेट कितावमा पुष्पलाल मार्गमा कालोपत्रे गर्नलाई बजेट बिनियोजन गरिएको छ ।

तीन’लाल’ को जिल्ला

रामेछाप जिल्लालाई तीन लालको जिल्लासमेत भनिन्छ । शहीद गंगालाल, कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र साहित्यिक शहीद कृष्णलाल अधिकारी तीनैजना रामेछापमा जन्मिएका थिए । उनीहरुको नामबाट तत्कालीन सांसद देवशंकर पौडेलले ०५२ सालमा रामेछापलाई तीन लालको जिल्ला भनेका थिए ।

‘तर, तीन लालको कीर्ति राख्ने गरी कुनै काम जिल्लामा हुन सकेनन्’ रामेछापकै बासिन्दा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य माधव ढुंगेल भन्छन् ‘अब काठमाडौंबाट सिधै पुष्पनगर जोड्न खुर्कोटमा पुल उद्घाटन भएको छ, हामी केही योजना बनाउछौं यो ठाउँका लागि’ ।

कम्युनिस्ट पार्टीहरुले मिलेर कुनै योजना नबनाए पुष्पलालको जन्मस्थानमा नागरिक पहलमै पुष्पलाल गंगालाललाई सधैभरि सम्झाउने स्मारक बनाउने रमेशबाबुले जानकारी दिए । ‘हामीभन्दा पछिको पुस्ताले भँगेरीमा गंगालाल र पुष्पलाल जन्मिएका थिए भन्ने पनि थाहा नपाउने भए, त्यसैले केही योजना बनाउदैछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment