Comments Add Comment

दिल्लीमा पुष्पलालको यसरी भयो निधन

Gobinda-Gyawali.

गोविन्द ज्ञवाली (पुष्पलालका सहयात्री)

म बनारसको गणेश दीक्षित गल्लीको एउटा घरमा बस्थेँ । मभन्दा माथिल्लो तलामा अध्ययनशील, मभन्दा २० वर्ष जेठा पुष्पलाल बस्थे । यो वि.सं. २०२० सालको कुरा हो । उनको कोठामा एउटा गुन्द्री, गुन्द्रीमाथि दरी र त्यसमाथि एउटा पातलो डसना थियो । ओढ्नका लागि उनले एउटा च्यादर राखेका थिए । म राति सुत्दा पनि उनी पढिरहेका हुन्थे, म बिहान उठ्दा पनि पढिरहेको देखिन्थ्यो ।

मैले आइएस्सी सकेपछि पुष्पलालले बनारसमै रहेको पार्टी कार्यालयमा रहेको पुस्तकालय व्यवस्थापनमा मेरो सहयोग माग्नुभयो । पुस्तकालय व्यवस्थापनबाट पुष्पलालसँग भएको मेरो सहयात्रा त्यसपछि निरन्तर जारी रहृयो । मैले ००६ साल बैशाख १० गते निस्केको नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा पढ्न पाएँ । त्यो पर्चामा ‘नागरिक स्वतन्त्रताका लागि एक होऔं’, ‘नागरिक स्वतन्त्रता जिन्दावाद’ जस्ता नारा लेखिएको थियो । नागरिक अधिकारका कुरा नेपालमा सबैभन्दा पहिले ल्याउने अमर सहीद शुक्रराज शास्त्री हुन् । शास्त्रीको नागरिक आन्दोलनको प्रभाव पुष्पलालमा थियो ।

पछि म संगठन विस्तारका लागि नेपाल फर्केर लुम्बिनी र गण्डकीमा सक्रिय भएँ । ०२५ सालमा पुष्पलालले पुनः मलाई बनारस बोलाएपछि उहाँसँग जोडिएर अन्तिम क्षणसम्म म बसेँ ।

पुष्पलालको जीवन

पुष्पलाल हृदय रोगको उपचारका लागि गोविन्दबल्लभ पन्त अस्पतालको साधारण वार्ड भर्ना भएका बेला त्योबेलाको रुलिङ पार्टीका नेता चन्द्र शेखरले भेट्न खोज्नुभएको थियो । तर, साधारण वार्डमा राखिएकाले पुष्पलाललाई भेट्न चन्द्रशेखरलाई समस्या भयो । त्यहीबेला गणेशमान सिंहलाई अलइन्डिया इन्स्टिच्युटको विशेष वार्डमा राखेर उपचार भइरहेको थियो ।

चन्द्रशेखरले सहयोग र भेट्ने प्रस्ताव गर्दा पुष्पलालले आफूलाई अहिले सहयोग नचाहिएको बताउँदै सहयोगको साटो सापटी लिने जवाफ दिनुभयो । पुष्पलालको यो कुराले मलाई प्रभावित बनायो । पुष्पलालले सहयोगी हातभित्र केही न केही स्वार्थ हुन्छ भन्ने बुझ्नुभएको थियो । पुष्पलालले अस्वीकार गरे पनि चन्द्रशेखरको आग्रहमा उहाँलाई अस्पतालले विशेष वार्डमा सारेर उपचार गर्‍यो ।

पुष्पलाल विरामी भएपछि दिल्लीस्थित गोविन्द बल्लभ अस्पतालमा मैले नै भर्ना गरेको थिएँ । तर, मेरो दुभाग्र्य, कामका शिलशिलामा म बनारस आएको सात दिनमै पुष्पलालको देहान्त भयो । मैले अन्तिम सयममा उहाँलाई भेट्न सकिँन । अस्पतालको हिसाबदेखि सारा कामको जिम्मेवारी मेरो काँधमा थियो ।

आर्थिक अवस्था

पुष्पलालको आर्थिक अवस्था अत्यन्त कमजोर थियो । आर्थिक अभावकै कारण उहाँका सहयोगी हिक्मत सिंहले बनारस छाडेर नेपाल पसेका थिए । त्यसपछिका दिनमा पार्टी कार्यालयको व्यवस्थापन गर्न साह्रै मुश्किल हुन थाल्यो । संस्कृत पढ्ने हामी केही विद्यार्थी थियौं । ताप्लेजुङका ज्ञानेन्द्र भट्टराई, स्याङ्जाका थानेश्वर, मदन भण्डारी र मसहितको सम्पर्क संस्कृत विद्यालयमा थियो ।संस्कृत विद्यालयमा खाना पकाउने भण्डारीसँग सम्बन्ध बढाई त्यहाँबाट खाना ल्याएर पार्टी कार्यालयमा आउने पाहुना र पुष्पलाललाई पाल्ने काम हामीले गरेका थियौं ।

यो कामका लागि साधुवेद महाविद्यालयमा अध्ययनरत मदन भण्डारीसमेत सामेल हुनुभएको थियो । मध्यमामात्र पढेको मैले त्यसपछि नेपाली संस्कृत महाविद्यालयमा नाम लेखाएँ । त्यहाँबाट मासिक १८ किलो गहुँ प्राप्त हुन्थ्यो । त्यो गहुँले पनि पार्टी चलाउन सकिने अवस्था थियो ।
पुष्पलालको लुम्बिनी र गण्डकीमा तथा सगरमाथामा पनि राम्रो संगठन भएकाले त्यहाँबाट पनि बेला-बेला पुग्ने सहयोगले पार्टी चलेको थियो । त्योबेला पार्टी कार्यालयको मासिक भाडा एक सय ५० भारु थियो । त्यो भाडा पनि हामीले कहिले वर्ष दिनमा त कहिले दुई वर्षमा तिथ्र्यौं । घर मालिक्नीले पुष्पलाललाई छोरोसरह माया गर्ने भएकाले पार्टी कार्यालय टिकेको थियो ।

त्यो संकटको अवस्थामा पनि पुष्पलालमा निराशा थिएन । पार्टी पुर्नगठनका क्रममा भएको तेस्रो ऐतिहासिक सम्मेलनमा रहेका ६ जना नेता पनि आर्थिक अभावकै कारण छिन्नभिन्न भए ।तेस्रो महाधिवेशनपछि पार्टी बलियो हुने अवस्थामा मुक्ति मोर्चाको नामबाट आश लाग्दा कार्यकर्ताहरु मदन भण्डारी, जीवराज आश्रति, वामदेव गौतम, मोदनाथ प्रश्रति मुक्ति मोर्चा समूह बनाएर बाहिरिनुभयो ।

पुष्पलाल र सहानाको सम्बन्ध

पुष्पलालाई पार्टी चलाउन आर्थिक समस्या थियो । तर, उहाँको परिवार भने पत्नी सहाना प्रधानले धान्नुभएको थियो । सहानाले त्रिभुवन विश्वविद्यालयमा पढाएकाले परिवार चलेको थियो । उहाँले छोराछोरी पढाउने र पाल्ने काम गर्नु भएको थियो । ट्यूशन पढाएर पनि उहाँले खर्च जुटाउनुभएको थियो ।

ठहिँटीको घरमा उहाँले ट्यूसन पढाउनुहुन्थ्यो । म भूमिगतरुपमा ठहिँटीको घरमा भेट्न जान्थेँ । मैले भेट्न जाँदा सहानाले बेला बेलामा पुष्पलाललाई खर्च पठाइदिनुहुन्थ्यो । उहाँले चिठ्ठीसँगै खाममा हालेर पैसा पठाइदिने गर्नुहुन्थ्यो ।सहाना र पुष्पलालबीचको सम्बन्ध घनिष्ठ थियो । बाहिर आएका हल्ला गलत थिए । पुष्पलाल र सहाना दुबैले तिमी भनेर सम्बोधन गर्नुहुन्थ्यो । ०३५ साउन ७ गते पुष्पलालको निधन भएपछि दिल्लीको निलम्बोध घाटमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा मुखमा पानी राखिदिँदै साहनाले भनेकी थिइन्-‘तिम्रा अधुरा काम पूरा गर्न म लागिरहने छु ।’

पुष्पलाल बितिसकेपछि हामीलाई नेतृत्वको संकट थियो । सहाना बचनवद्ध भएपछि हामीमा भरोसा बढ्यो । राणाहरुले मार्ने बेला गंगालालले भनेकोे, ‘हामीले बालेको यो प्रजातन्त्रको दियो माइला तिमीले जाज्वल्यमान पार्दै जानू’ भनेको कुरा पुष्पलाल सधैं स्मरण गर्नुहुन्थ्यो ।सहानाको त्यो प्रतिज्ञालाई पनि हामीले त्यसैगरी बुझ्यौं । पुष्पलाल नेपाल आउन सक्ने अवस्था थिएन भने मनमोहन काठमाडौं बाहिर गएर राजनीति गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो, त्योबेला नेतृत्वको खडेरी परिरहृयो ।

पुष्पलालको देहान्त भएपछि हामीमा नेतृत्वको खडेरी भइरहृयो । सहाना प्रधानले नेतृत्वमा आउन नचाहेपछि प्रवक्ता बनाइएका बलराम उपाध्यायलाई नै हामीले नेता मान्यौं । ०४३ सालमा पार्टी एकता भएपछि मात्र पुष्पलालको स्थान मनमोहन अधिकारीले लिनुभयो ।

अन्य नेतासँग पुष्पलालको सम्बन्ध

मनमोहन, शम्भुरामसहितका नेतासँग बनारसमै पुष्पलाल भेटिरहनुहुन्थ्यो । कांग्रेसका गणेशमानसँग पुष्पलालको पारिवारिक सम्बन्ध थियो । आफ्नो दाजुको साथी भएकाले पुष्पलालले गणेशमानलाई सम्मान गर्नुहुन्थ्यो । दुईजनाबीच राजनीतिक कुरामा कहिल्यै बहस भएन । पुष्पलाल सधैं रिक्सामा हिँड्ने तर गणेशमान छाता ओढेर पैदलै हिँड्ने । गणेशमानले त्यही कारणले पुष्पलाललाई कमजोर छ भन्नुहुन्थ्यो ।

वीपी कोइरालासँग चाँहि पुष्पलालका राजनीतिक बहस हुन्थे । वीपी निरंकुशताको विरोधमै कुरा गर्नुहुन्थ्यो । वीपीको तर्फबाट शैलजा आउनुहुन्थ्यो । पुष्पलालको तर्फबाट म हुन्थेँ । ०२७ सालतिरको कुरा हो, बनारस हिन्दू विश्वविद्यालय नजिकै रहेको लाबेला होटलमा दुबैबीच भेट हुन्थ्यो । पुष्पलालका पछाडि भारतीय प्रहरीका गार्ड लागिरेहका हुन्थे । गार्डको आँखा छलेर भेट्नुपथ्र्यो ।

पुष्पलालको शव किन नेपाल ल्याइएन ?

पुष्पलालको शव नेपाल ल्याउँदा पञ्चायती शासकहरुमा संगठित विरोध देशमा उर्लने त्रास थियो । सुक्ष्म विरोधले ठूलो रुप लिन्छ भन्ने त्रास थियो ।
पुष्पलालको शव नै नेपाल ल्याएको भए आन्दोलन त उठ्थ्यो । पञ्चायती शासकहरुमा पुष्पलालले जिउँदो हुँदा नगरेको काम शवले गर्नसक्छ भन्ने त्रास थियो । पुष्पलालको मृत शरीररले पञ्चायती शासकको सातो गएको थियो ।भारतबाट शव नेपाल पठाउन भारतीय नेता चन्द्रशेखरसहितका माक्र्सवादी नेताले पहल गरेका थिए । पुष्पलालको शवले शासन ढल्छ भन्ने त्रास थियो ।

पुष्पलालको अस्तुसमेत भूमिगत रुपमा ल्याइयो । जहाजमा लुकाएरै काठमाडौं ल्याइयो । अस्तु मनमोहन अधिकारीको हातमा परेपछि विसर्जनका क्रममा धेरै ठूलो जमात तयार भयो । पुष्पलालको अस्तु गंगालाललाई फाँसी दिएकै ठाउँ शोभाभगवतीमा विसर्जन गरियो ।अस्तु विसर्जनको पक्षमा टंकप्रसाद आचार्यहरु पनि थिए । अस्तु विसर्जनको र्‍यालीमा गायक नारायण गोपाल पनि सहभागी थिए ।

स्वास्थ्यमा हेलचेक्र्याईँ

पुष्पलालले स्वास्थ्यमा हेलचेक्र्याईँ गरेर ५१ वर्षमै संसार छोड्नुभयो । दुई पटक हृदयघात भएकाले उहाँको खान्की सादगी थियो । उहाँका लागि नझानेको दाल र सुख्खा रोटी मेरै चुल्होमा पकाएर पुर्याउँथे ।स्वास्थ्य विग्रेपछि पुष्पलालाई उपचारका लागि दिल्ली जान भनिएको थियो । तर, उहाँले नमानी पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन दरभंगा लाग्नुभयो । दरभंगामा प्रशिक्षणका क्रमममा स्वास्थ्य विग्रेपछि डा. भिएन सिंहले पुष्पलाल र मलाई दिल्लीसम्म जानका लागि टिकटको व्यवस्था गरिदिनुभएको थियो । दिल्लीमा एक महिना अस्पतालमा राखेपछि उहाँको निधन भयो ।

पुष्पलालको दैनिक साह्रै साधारण थियो । उहाँ असाधारण भए पनि जीवन शैली आममानिसको जस्तो थियो । भारतीय सरकारले दिएको अंगरक्षक पनि उहाँले राख्नुभएन । एउटा साधारण नेपालीले जसरी जीवनययापन गर्छ, उहाँले पनि त्यस्तै जीवन बिताउनुभयो पुष्पलालले ।

( करिब ११ वर्ष पुष्पलालसँग संगत गरेका गुल्मेली एमाले नेता ज्ञवालीसँग अनलाइनखबरका लागि ज्ञानेन्द्र खड्काले गरेको कुराकानी)

यो पनि पढ्नुस् :

पुष्पलाल र गंगालालको शालिकको कन्तबिजोग !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment