Comments Add Comment

तेस्रो लिङ्गी कैलाश/भूमिकाको पीडादायी कथा

काठमाडौं नैकापका कुमार श्रेष्ठ र उनकी जीवन संगिनी नुमाको कान्छो छोराको रुपमा २७ वर्षअघि कैलाश श्रेष्ठ जन्मिए । तर, अहिले उनी तेस्रोलिङ्गी भूमिका श्रेष्ठका रुपमा समाजमा स्थापित छिन् ।

ब्लु डायमण्ड सोसाईटीको सम्पर्कमा आएपछि कैलाशको नयाँ न्वारन भयो, भावना श्रेष्ठ । उनी अहिले सोसाईटीको मानवअधिकार विभाग प्रमुख पनि हुन् । आफु र आफुजस्तै साथीहरुलाई छक्का, हिंजडा, नपुंशक भनेर समाजमा होच्याइएको उनले कति सुनिन्, कति झेलिन्, गनी साध्य छैन । त्यसैले उनी तेस्रोलिङ्गीहरुको हकहितका लागि लडिरहेकी छिन् । उनी अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हु्न् । हेर्दा पनि भावना सुन्दरी छिन् । त्यसैले केटी भन्ठानेर प्रेम प्रस्ताव राख्नेहरु पनि थुप्रै भेटिए उनलाई । दुई/तीन पटक त गम्भीर प्रेममा पनि परिन् । तर, बिहे हुन सकेन ।bhumika-shrestha

अधिकारकर्मी भूमिका श्रेष्ठको जीवनकथा उनकै शब्दमा :

मध्यमवर्गीय परिवारमा जन्मिए पनि मेरो बाल्यकाल सुखमय नै रहृयो । नैकापकै ब्राइड फिउचर सेकेन्डरी बोर्डिङ स्कुलमा पढ्थेँ । बुबाको मृत्युपछि घरमा आर्थिक समस्या देखिन थाले । पाँच कक्षादेखि म पनि बोर्डिङबाट सरकारी स्कुलमा सारिएँ । छोराका रूपमा जन्मिएँ, त्यसैले परिवार र आफन्तहरूले निकै खुसी मनाएका थिए । तर, त्यो खुसी खुसीमै सीमित रहृयो । हुर्कंदै जाँदा मेरो व्यवहार, अनुभूति र आनिबानीमा फरकपन देखिन थाल्यो । ममा छोरी मान्छेको स्वभाव देखिन थाल्यो । मेरो व्यवहार देखेर सबै छक्क पर्थे । तर, मलाई भने केही अनौठो लाग्दैनथ्यो ।

चार-पाँच वर्षकै उमेरदेखि घरमा भाँडा माझ्ने, लुगा धुनेलगायतका काममा सहयोग गर्थेँ । दिदीको ड्रेस लगाउने, लिपिस्टिक लगाउने रहर लाग्थ्यो र त्यस्तै गर्थेँ पनि । घरमा भने ‘अहिले बच्चै छ, ठूलो भएपछि आफैँ त्यस्तो सोच हराउँछ’ भन्ने ठान्थे । परिवारले उमेर बढ्दै जाँदा मेरो व्यवहार केटा मान्छेकै जस्तो हुने आशा गरेको थियो । तर, मेरो व्यवहारमा परिवर्तन आएन । बरु, ममा केटीहरूको हाउभाउ नै बढी झल्किन थाल्यो ।

मलाई ‘म अरू केटाभन्दा फरक छु’ भन्ने लाग्थ्यो । ११ वर्षको हुँदा मैले त्यस्तो महसुस गरें । केटा मान्छेका रूपमा जन्मिएकाले समाजले मलाई पुरुषकै व्यवहार गथ्र्यो । तर, मलाई कहिले पनि ‘केटा मान्छे हुँ’ भन्ने महसुस नै हुँदैनथ्यो । ‘केटी हुँ’ भन्ने लाग्थ्यो । स्कुलमा, बाटो हिँड्दा साथीहरूले ‘छक्का, हिँजडा, नपुंसक’ भनेर जिस्काउँथे । तर, म वास्ता नै गर्दैनथेँ । स्कुलमा पनि केटीकै ड्रेस लगाएर नाच्थेँ । केटाहरूसँग कुरै मिल्दैनथ्यो । केटीहरूसँग नै बढी मिल्थें ।

टीनएजमा पुगेपछि ममा जुन परिवर्तन आउनुपथ्र्यो, त्यो आएन । विपरीत लिङ्गप्रति आकषिर्त हुनुपर्नेमा मलाई केटाहरू मन पर्थे । सरहरू ‘व्यवहार परिवर्तन गर, केटा भएर पनि के केटीजस्तो भएको ? केटाजस्तो भएर बाँच्न सिक’ भन्नुहुन्थ्यो । म ड्रेसअप त केटाकै गर्थेँ, तर, केटीको जसरी गाजल, पाउडर लगाउँथे । जन्मिँदा जुनरूपमा जन्मियो व्यवहारमा पनि त्यस्तै गर्नुपर्छ भनेर सोच्दो रहेछ हाम्रो समाजले । तर, मान्छेको मन र अनुभूति त त्यसरी हिँड्न त सक्दैन नि ! शारीरिक बनावट केटाको भए पनि मन, अनुभूति र दिमाग केटीको जस्तो भएपछि त त्यो केटी नै हो नि !
मलाई समाजले, साथीहरूले सधैँ नकारात्मक दृष्टिकोणले हेर्थे । त्यसैले म कसैसँग पनि कुरा गर्न सक्दैनथेँ । केटाका रूपमा जन्मिएको मैले ‘केटा नै मन पर्छ’ भनेर कसलाई र कसरी भन्ने ? हामी साथीसाथीबीच कुरा हुन्थ्यो, ‘यो केटा कस्तो हृयान्डसम छ, यो केटा मन पर्छ’ भनेर । तर, त्यो केटाको अगाडि गएर भन्न सक्दैनथेँ । आफूले इच्छाएको र चाहेको कुरा पनि म कसैसँग भन्न सक्दैनथेँ ।

समाजले ‘केटा भएर केटाको जस्तै भएर हिँड्’ भन्थ्यो । तर, मैले कसरी सक्नु ? मेरो मन भित्रदेखि आएको, अनुभूति गरेको कुरा कसरी परिवर्तन गर्न सक्थेँ र ! परिवर्तन गर्न सक्ने भए त्यति धेरै मानसिक यातना सहीसही किन बस्थेँ होला ? यसरी बाँच्ने मलाई पनि त रहर छैन नि । केही मान्छेले ‘संगतले पनि हो’ भन्थे । संगतले त्यस्तो परिवर्तन आउने भए त ममा पनि आउँथ्यो होला नि !कतिपटक म केटाजस्तै भएर हिँड्न खोजेँ, तर सकिनँ । मानसिक तनाव हुँदा म कोठामा चुुकुल लगाएर एक्लै रोएर बस्थेँ ।

म ११ वर्षको भएपछि मैले ‘म केटी हुँ’ भन्ने महसुस गर्न थालेँ । मेरो व्यवहार पनि छोरी मान्छेको जस्तो हुन्थ्यो । ‘म किन यस्तो गर्छु, किन मलाई यस्तो भएको होला’ भन्ने लाग्थ्यो । आफ्नो व्यवहार देखेर आफैँलाई अचम्म लाग्थ्यो । म पूरै ‘कन्फ्युज’ थिएँ । छोरी मान्छेले गर्ने काम मात्रै मलाई गर्न मन पथ्र्यो ।

मम्मीले ‘अहिले बच्चै छ, ठूलो हुन्छ, जिम्मेवारी सम्हालेपछि आफैँ सुधार्छ बानी’ भन्नुहुन्थ्यो । तर, ठूलो हुँदै जाँदा पनि मेरो व्यवहारमा परिवर्तन आएन । म त झन् उग्र हुन थालेँ । फेसन पनि त्यस्तै गर्न थालेँ । फूल मेकअप गर्थे । त्यसरी नै स्कुल पनि जान्थेँ । स्कुलमा पनि केटी साथीसँग बढी मिल्थेँ ।

कक्षामा पनि केटीकै बेञ्चमा बस्थेँ । केटाहरू त मेरो साथी नै थिएनन् भन्दा पनि हुन्छ । ‘केटा भएर पनि केटीहरूसँग मिलेको’ भनेर केटाहरूले जिस्क्याउँथे । उनीहरूले मलाई नराम्रो व्यवहार गर्थे । केटीलाई सजिलै छुन सक्दैनथे । अनि, मलाई ‘यो केटा हो, जे गरे पनि हुन्छ भनेर छुने, शरीर चलाउने र जिस्क्याउने गर्थे । मलाई भने एकदमै नमज्जा लाग्थ्यो ।

त्यो स्कुल पढ्दाको चार वर्षको अवधिमा मैले मुस्किलले एक वा दुईपटक मात्रै स्कुलको ट्वाइलेट प्रयोग गरेको छु । केटीको ट्वाइलेटमा जान मिल्दैन्थ्यो । केटाकोमा जानै सक्दैनथेँ, साथीहरूले जिस्क्याएर हैरान बनाउँथे । कोही नभएको मौका पारेर, सबैजना कक्षामा भएको वेला एकपटक केटाको ट्वाइलेट प्रयोग गरेँ ।

साथीहरूको बानीले गर्दा म स्कुलको ट्वाइलेट प्रयोग गर्नै सक्दैनथेँ । म पढ्ने स्कुल हाम्रो घरनजिकै थियो । सुटुक्क घर आएर ट्वाइलेट जान्थेँ । स्कुलमा पिसाब लाग्छ भनेर पानी पनि नखाएर बस्थेँ । स्कुलमा केही सर र विद्यार्थी साथीले मलाई ‘छक्का’, ‘हिँजडा’ जस्ता शब्दहरू भनेर निकै ‘हृयारेस’ गर्ने काम पनि गरे । म्याडमले त केही भन्न सक्नुहुन्थेन । बरु, गाह्रो प्रश्न सोध्नुहुन्थ्यो । र, नजानेपछि अलि होच्याएर भन्नुहुन्थ्यो- ‘तलाई केटा भएर केटीको जस्तो नक्कल पारेर हिँड्न त आउँछ, पढ्न आउँदैन ?’ स्कुलमा मलाई कसैले पनि सपोर्ट गर्दैनथे ।

जब म ९ बाट १० कक्षामा गएँ, त्यतिवेला मलाई ‘व्यवहार सुधारेर आउने भए पढ्न पाउने, नत्र पढ्ने ठाउँ छैन’ भनियो । यो ०६२ सालको कुरा हो । त्यसपछि मलाई स्कुल जानै मन लागेन । घरमा बोल्न सक्ने मान्छे कोही पनि थिएन । त्यसैले परिवारले पनि केही भन्न सकेन ।
सकेसम्म मैले एसएलसी पास गर्नुपर्छ भन्ने सोचाइ मम्मीको थियो । मेरो पनि त्यस्तै सोच थियो । ‘जसरी भए पनि एसएलसी पास गर्नुपर्छ’ भन्ने सोच्थेँ । तर, माहोल नै भएन । केही शिक्षक र केही साथीका कारण मैले स्कुल नै छाड्नुपर्‍यो । एसएलसीसमेत पूरा गर्न पाइनँ । स्कुल जानसमेत मलाई अप्ठेरो पारे ।

छोराछोरीको उमेर बढ्दै गएपछि अभिभावकलाई खुसीसँगै तनाव पनि थपिन्छन् । जिम्मेवारी पनि बढ्दै जान्छन् । छोराछोरीको विवाहको चिन्ता पनि हुन्छ । मलाई पनि घरबाट विवाह गर्न दबाब आउन थाल्यो । मम्मीले ‘तिमी छोरा हो, बिहे गर्नुपर्छ, अब उमेर पनि भइसक्यो’ भनिरहनुहुन्थ्यो ।
परिवार, साथीभाइ र समाजले मलाई ‘छोरा मान्छे’ भन्दा मलाई नमज्जा लाग्थ्यो । कतिवेला त ‘यो संसारमा म मात्रै यस्तो सोच्ने हुँ कि’ जस्तो लागेर साह्रै दिक्क लाग्थ्यो । त्यस्तै समयमा मैले नेपाल टेलिभिजनमा ‘संघर्ष’ कार्यक्रम हेरेँ आरती चटौत दिदीको । इन्डियाको समलिङ्गीको बारेमा कार्यक्रम बनाइएको थियो । त्यो देखेर मलाई अचम्म लाग्यो । ‘अबुई ! यस्ता मान्छे पनि हुन्छन् र’ भनेर मनमनै डराएँ पनि त्यतिवेला । अर्कै ग्रहका मान्छेजस्ता लागे समलिङ्गी त्यतिवेला मलाई ।

यसरी पुगेँ ब्लु डायमन्ड

सन् २००४ को कुरा हो । घर जान म रत्नपार्कमा गाडी कुरिरहेको थिएँ । एकजना पिङ्की गुरुङ मेरो छेउमा आउनुभयो । नजिकै आएर मसँग कुरा गर्न थाल्नुभयो । उहाँले सुरुमा ‘घडी छ’ भनेर सोध्नुभयो । हेर्दा केटोजस्तो छ । सुरुमा त अलि डराएँ । पछि बिस्तारै कुरा गर्न थाल्नुभयो । ‘हामी केटी भएर केटा मान्छेजस्तो बनेर बस्नुहुँदैन, यसरी कतिन्जेल लुकेर बस्ने’ भन्दै कुरा गर्नुभयो । म ट्वाँ परेर सुनिरहेँ ।

‘म पनि तिमीजस्तै हो, एउटा संस्था छ हामीहरू जस्तै साथीहरू भएको, म तिमीलाई देखाउँछु जान्छौ’ भनेर उहाँले सोध्नुभयो । मैले पनि ‘हुन्छ’ भने । उहाँसँगै म अफिस हेर्न गएँ । त्यो अफिस ब्लु डायमन्ड सोसाइटीको रहेछ । त्यहाँ मजस्तै अरूको पनि फोटोको कलेक्सन गरिएको रहेछ । फोटोहरू हेरेपछि मलाई एकदमै खुसी लाग्यो । ‘म एक्लै रहेनछु, मजस्तै धेरै मान्छे रहेछन् यो संसारमा’ भन्ने थाहा भयो ।

म काम गर्ने सोचले त्यो संस्थामा गएकी थिइनँ । जब त्यहाँ फोटो हेरेँ, मजस्तै अरू मान्छेलाई पनि भेटेँ, त्यसपछि म अफिसमा आउन थालेँ । विस्तारै-विस्तारै कुराहरू पनि बुझ्न थालेँ । त्यतिवेला समलिङ्गी भनेर भन्थेँ । समलिङ्गी त हामीलाई पो भनिँदो रहेछ भन्ने थाहा पाएँ । नेपाल टेलिभिजनमा हेरेको ‘संघर्ष’ कार्यक्रममा देखाइएको कुरा त हाम्रैबारेमा रहेछ भन्ने कुरा बल्ल थाहा पाएँ ।

‘संघर्ष’ कार्यक्रम सम्झेर एकपटक पनि हाँसो लाग्यो । तेस्रोलिङ्गी, समलिङ्गी त हामीलाई पो भनेको रहेछ । सुरुसुरुमा त मेकअप गरेर बाटोमा हिँड्दा मान्छेहरू मलाई हेरेर हाँस्दा मख्ख पर्थेँ । मलाई राम्री भएको देखेर हाँसेकोजस्तो लाग्थ्यो । हिँजडा, छक्का र नंपुसक भन्दा पनि केही भन्दैनथेँ । किन भनेको भन्ने नै थाहा थिएन । छक्का, हिँजडा भनेको हामी होइन । लिङ्ग छेदन गरेर केटी मान्छे बन्नेलाई भन्छन् त्यस्तो । त्यो छुट्टै समुदाय हो । त्यस्ता समुदायको बसोबास भारतमा छ । मान्छेहरूले नबुझेर हामीलाई नै त्यस्तो भन्छन् ।

सायद यो संस्था -ब्लु डायमन्ड सोसाइटी)मा नआएको भए म एउटा कुण्ठाको जीवन बाँचिरहेको हुन्थेँ होला । सोसाइटीमा आइसकेपछि मेरो जीवन नै पूर्ण रूपले फेरियो । आत्मसम्मानको जीवन बाँच्न सिकेँ, बोल्न सिकेँ, नयाँ-नयाँ कुराहरू सिकेँ । आफ्नो पहिचनामा आएँ । म केटी हुँ । केटी नै थिएँ । केटी नै रहनेछु । त्यसपछि मलाई ड्रेस चेन्ज गर्नुपर्छ भन्ने लाग्यो । सुरु-सुरुमा त केटीको कपडा लगाएर हिँड्ने आँट नै आएन । बिस्तारै-बिस्तारै लेडिज कपडा लगाउन सुरु गरेँ । पछि बानी परेपछि भने अप्ठेरो लागेन ।

केटीको ड्रेसअप र मेकअप गरेर हिँड्न थालेपछि त धेरै मान्छेहरू झुक्किए । हेर्नमा पनि राम्री नै छु । धेरैले पे्रम प्रस्ताव राखे । कतिपयले केटी भनेर भुक्किएर प्रेम प्रस्ताव गर्थे, कतिले थाहा पाएरै । त्यस्तो प्रस्ताव राख्ने कतिजनालाई त मैले ‘म केटा मान्छे हो’ भनेर स्पष्ट बताइदिएँ । त्यसपछि उनीहरू आफ्नो बाटो लाग्थे । कतिपय केटा हो भनेर अचम्म पर्दै तर्सिन्थे । कतिले भने थाहा पाएर नै मलाई प्रेम गर्थे ।

‘तिमीलाई मन पराउँछु’ भन्नेहरू धेरै भेटिए, आए । म के हुँ भन्ने थाहा पाएर मन पराउने पनि थिए, पछि थाहा पाएर भाग्नेहरू पनि थिए । र, मेरो वास्तविकता थाहा पाइसकेपछि दया देखाउने पनि भेटाए । कतिले ‘मिस युज’को रूपमा पनि लिन खोजे । तर, मैले वास्तै गरिनँ ।

यौन व्यवसायमा लाग्ने तेस्रोलिङ्गी मात्रै छैनन्, अरू केटीहरू पनि छन् । उनीहरूलाई जाने ठाउँहरू पनि प्रशस्त छन् । बार, डिस्को, नाइट क्लब, गेस्टहाउस, मसाज पार्लर जतासुकै पनि जान्छन् । तर, तेस्रोलिङ्गीहरू कतै जान पाउँदैनन् । गयो कि गेटबाटै निकालिहाल्छन् । अनि, कहाँ जाने त ? सडकमा त बाध्यताले बस्नुपरेको हो ।

सडकमा भेटिने सबै तेस्रोलिङ्गी, समलिङ्गी यौन व्यवसायका लागि मात्रै ती ठाउँमा जाने होइनन् । तेस्रोलिङ्गी, समलिङ्गी भन्नेबित्तिकै हाम्रो समाजले छाडा, उच्छृङ्खल सोच्छ । त्यस्तो होइन । हाम्रो पनि त इज्जत छ । समाज छ, घरपरिवार छ । सम्मानजनक जीवन बाँच्न हामी पनि चाहन्छौँ नि । तेस्रोलिङ्गीले बाँच्नका लागि यौन व्यवसाय गरेका हुन् ।

तर, मलाई व्यक्तिगत रूपमा भने त्यस्तो समस्या कहिल्यै आएन । घरपरिवारले मलाई धेरै सपोर्ट गरेको छ । राति ठमेल म पनि नगएको होइन । तर, यौन सन्तुष्टिका लागि होइन । साथीहरूसँग रमाइलो हेर्नका लागि गएको थिएँ ।

कांग्रेसमा आवद्धता

डिस्कोमै भएको एकजना मान्छे मलाई अघिदेखि हेरिरहेको थियो । मैले पनि ‘वाच’ गरिरहेकी थिएँ । धेरैपटक आँखा जुधिरहेका थिए । डान्स गरेर फेरि मैले साथीसँगै वाइन लिएँ । गिलास हातमै थियो । त्यो मान्छे त मेरो नजिक आएर ‘जय नेपाल’ भन्यो । म त छाँगाबाट खसेजस्तै भएँ । रक्सी सबै उड्यो । हातको गिलास अर्को साथीलाई दिएँ । नर्भस नै भएँ नि !mirror-srawan-cover

खासमा ऊ नेपाली कांग्रेसको मान्छे रहेछ । मलाई चिन्दो रहेछ । रमाइलो गर्न गएको ठाउँमा भेटियो । त्यही भएर कति वेला यसरी सबैले चिन्ने नभइदिएको भए पनि हुन्थ्यो जस्तो लाग्छ । व्यक्तिगत लाइफ बिताउन खोज्दाखोज्दै पनि कतिपय वेला नमिल्दो रहेछ ।

विचार, सिद्धान्तका हिसाबले पहिलेदेखि नै नेपाली कांग्रेस मनपथ्र्यो । तर, पार्टीको सदस्य भने थिइनँ । लैङ्गिक तथा अल्पसंख्यक समुदायको हक-अधिकार स्थापित गर्न राजनीतिक रूपले पनि लबिङ गर्नुपर्ने हुन्छ । त्यसैले आफूलाई मन परेको पार्टी नै रोजेँ । १२औँ महाधिवेशन हुनुभन्दा चार-पाँच महिनाअगाडि मात्रै मैले कांग्रेसको सक्रिय सदस्यता पाएकी हुँ । त्यसको लगत्तै महाधिवेशन प्रतिनिधि बनेँ र १२औँ महाधिवेशनमा भाग लिएँ । महाधिवेशनमा चार हजार प्रतिनिधिमध्ये म एकजना मात्रै हाम्रो समुदायको थिएँ ।

हाम्रा कुराहरू संविधानमा पनि समेटियोस् भन्ने उद्देश्यले हामीले संविधानसभामा पनि सहभागिता खोज्यौँ । पहिलो संविधानसभा सुनीलबाबु पन्त सभासद् हुनुहुन्थ्यो । दोस्रो संविधानसभामा कांग्रेसले समानुपातिकको सूचीमा मेरो नाम पनि राखेको थियोे । तर, मेरो नागरिकतामा कैलाश श्रेष्ठ भनेर नाम थियो । बाहिर भूमिका भनेर चिनिने । यही ‘टेक्निकल समस्या’ भनेर पछि मेरो नाम फालियो रे ।

समाजमा चिनिँदै गएपछि मान्छेहरू मसित कुरा पनि सम्मानजनक ढंगले गर्छन् । मलाई सोझै प्रेम प्रस्ताव राख्न वा सेक्स्युअल रिलेसनको प्रस्ताव गर्न हिच्किचाउँछन्, डराउँछन् । समाजमा स्थापित केही मान्छे भने घुमाउरो ढंगले कुरा गर्छन् । ‘तिमी त कति राम्री, कसरी यति राम्री भएकी’ भनेर भन्छन् । एक-दुईजना वरिष्ठ अधिकारकर्मीले पनि यसो भन्ने गरेका छन् ।

अहिले मलाई पनि पहिलेको जसरी बोल्न अप्ठेरो लाग्छ । भन्न मन भए पनि धेरै कुरा भन्न सकिन्न । धेरै सोचविचार गरेर बोल्नुपर्छ । कहिलेकाहीँ समाजमा यसरी नचिनिएको भए पनि हुन्थ्योजस्तो पनि लाग्छ ।

पहिलो प्रेम व्यक्त गर्नै सकिनँ

स्कुल पढ्दाखेरि नै मैले एकजना केटालाई खुब मन पराउँथेँ । ऊ मभन्दा एक क्लास सिनियर थियो । यति धेरै मन पराउँथेँ कि ऊ स्कुल आउने वेला घन्टौँ बाटोमा कुर्थेँ, ऊ आएपछि पछिपछि हिँड्थे, कहिलेकाहीँ टाढाबाट उसलाई हेर्थेँ । तर, ‘म तँलाई मन पराउँछु’, ‘ब्वायफ्रेन्ड बनाउँछु’, ‘धेरै माया गर्छु’ भनेर कहिल्यै भन्न सकिनँ । मेरो घरकोे बाटो भएर नै ऊ स्कुल आउँथ्यो, म बाटो हेरेर बस्थेँ । जब ऊ आउँथ्यो अनि, उसको पछिपछि स्कुल जान्थेँ ।

यस्तो क्रम धेरै चल्यो । पछि मैले नाम नखुलाएर एउटा बच्चाको सहयोगमा उसलाई पोस्टकार्ड पठाएँ । तीनपटक यसरी पोस्टकार्ड पठाएँ । तर, पछि कसले दिएको हो नाम नबताए लिन्न भनेर लिएन । उसको क्लासका साथीहरूको सहयोगमा ऊसँग चिनजान भयो । पछि सँगै चिया खानेसम्म भयौँ । झन् धरै माया लागेर आउँथ्यो । तर पनि मैले उसका अगाडि आफ्नो प्रेम कहिल्यै प्रकट गर्न सकिनँ ।

त्यसपछि पनि तीन-चारपटक लभमा परेँ, तर धेरै टिकेन । एउटा काभ्रेको केटासित लामो समय अफेयर चल्यो । उसको घरमा पनि आउजाउ गर्ने गर्थेँ । धेरै समय हामी सँगै बिताउँथ्यौँ । तर, पछि उसले पनि अर्कै केटीसित बिहे गर्‍यो । सायद उसको घरका मान्छेले ‘बच्चा चाहिन्छ’ भने । म बच्चा दिन सक्दैनथेँ ।

(मिरर न्यूज मासिकको साउन अंकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment