Comments Add Comment

किशोरीले विमानमै लेखिन् बाबुरामलाई चिठी !

chandrakiran-basnet

११ साउन, काठमाडौं । एसएसलसीमा बोर्डफस्ट गरेका पूर्वप्रधानमन्त्री डा. बाबुरामप्रति किशोर-किशोरीहरुको चासो र आकर्षण अझैसम्म बाँकी रहेछ भन्ने रोचक उदाहरण शनिबार नेपाल वायुसेवा निगमको नयाँ विमानभित्र देखियो । विमानमा डा. भट्टराईलाई देखेपछि मोरङकी एक किशोरीले आकाशबाटै चिठी लेखेर बुझाइन् । बाबुरामले पनि विमानभित्रै जवाफी पत्र लेखे ।

चीनबाट भित्र्याइएको नयाँ विमान चढेर शनिबार बिहान ८ बजे काठमाडौंबाट बिराटनगर जान लागेकी मोरङ गछियाकी चन्द्रकिरण बस्नेतले अचानक डा. भट्टराईलाई आफूभन्दा विपरीततर्फको सीटमा देखिन् । विमानले आकाशको बादललाई चुम्न थाल्दासम्म बस्नेतले निरन्तर डा. भट्टराईलाई हेरिरहिन् ।letter-1

विमानले गति लिइरहेको थियो, चन्द्रकिरणले झोलाबाट डायरी निकालिन् र भावुक मुद्रामा केही लेख्न थालिन् । यस्तो लाग्थ्यो, बादल चुम्दै गरेको विमानमा बसेर यी किशोरी प्रकृति वा प्रेमको कविता कोरिरहेकी छन् । तर, आधा पन्ना लेखिसकेको कागज उनले च्यारेर डल्लो पारिन् र पुनः अर्को पानामा देख्न थालिन् ।

बस्नेतले कविता नभएर डा. भट्टराईलाई पत्र पो लेखेकी रहिछन् भन्ने त्यतिबेलामात्रै थाहा भयो, जुनबेला उनले सीटबाट उठेर उक्त डायरी डा. भट्टराईको हातमा थमाइदिइन् ।

डा. भट्टराईले पत्र पढ्न खोजे तर, साथमा चश्मा नभएकाका कारण आँखाले साथ दिएन । उनै चन्द्रकिरणले आफ्नो सानोबुबाले लगाइराखेको चश्मा मागेर डा. भट्टराईलाई दिइन् । भट्टराईले अर्काको चश्माको सहाराले किशोरीको पत्र पढे र विमानमै बसीबसी अर्को जवाफी पत्र लेखेर बस्नेतका हातमा थमाइदिए । बस्नेतले अंग्रेजीमा लेखेको पत्रको जवाफ डा. भट्टराईले पनि अंग्रेजीमै दिए ।

डा. भट्टराईले पत्र पढिरहँदा र जवाफ देख्दैगर्दा बस्नेतको ‘बडी ल्याङ्वेज’ यस्तो देखिन्थ्यो, एउटी किशोरीले व्यग्रतापूर्वक कुनै प्रेमपत्रको प्रतिक्षा गरिरहेकी छन् । केही मिनेटको तर, व्यग्रतापूर्ण प्रतिक्षा सकिएपछि उनले डा. भट्टराईको पत्र हात पारिन् र एकैसासमा पढिन् ।

उनले भट्टराईको हस्तलिखित पत्रलाई प्रेमपूर्वक आफ्नो झोलामा सुरक्षित गरिन् । विमान परिचारिकाले पानी र चिसो ल्याइदिँदा उनले केही पनि लिन मानिनन् ।

मोरङ जिल्लाको गछिया निवासी बस्नेतले एसएलसीमा ९१ प्रतिशत अंक ल्याएको पत्रमा लेखेकी छन् । १२ कक्षा उत्तीर्ण गर्दा उनले ८८ प्रतिशत अंक प्राप्त गरेकी छन् । उनी एमबीबीएसको पढाइ सुरु गर्ने तयारीमा रहेकी छात्रा हुन् ।

म तपाईकी छोरी भए के सल्लाह दिनुहुन्थ्यो ?

भट्टराईलाई कति सम्मान गर्छु भनेर अभिव्यक्त गर्ने आफूसँग शब्द नै नभएको भन्दै बस्नेतले पत्रमा सोधेकी छन्- ‘म तपाईलाई प्रश्न सोध्न चाहन्छु, के एउटा एमबीबीएसको विद्यार्थी जनतासँग प्रत्यक्ष सम्वाद गर्न सक्ने तपाई जस्तो राजनीतिज्ञको पोजिसनमा आउन सक्छ ?’

बस्नेतले पत्रमा लेखेकी छन्-‘यदि म तपाईकी आफ्नै छोरी हुन्थें भने मलाई के सुझाव दिनुहुन्थ्यो ?’ बस्नेतले पत्रमा आफू भट्टराईसँग प्रभावित रहेको उल्लेख गरेकी छन् ।

डा. भट्टराईको जवाफ : अहिले पढाइलाई जोड देऊ

बस्नेतलाई विमानमै लेखेको जवाफी पत्रमा डा. भट्टराईले भनेका छन्- ‘तिमी आफूले चाहेको कुनै पनि बेला राजनीतिमा आवद्ध हुन सक्छ्यौ । तर, आहिले आफ्नो पढाइलाई जोड दिनु ठीक हुन्छ ।’

‘मेडिकल साइन्स एउटा विशिष्ट विषय हो, जुन प्राकृतिक विज्ञानको एउटा शाखा हो, तर यो समाज विज्ञानसँग निकट हुन्छ ।’ डा. भट्टराईले बस्नेतलाई पत्रमा लेखेका छन्- ‘त्यसैले तिमीले यसबाट समाजलाई व्यक्तिगतरुपमा सेवा पुर्‍याउन सक्छ्यौ ।’baburam-letter

एमाओवादी नेता डा. भट्टराई शनिबार इटहरीमा वैकल्पिक विचार मञ्चले आयोजना गरेको नयाँ शक्ति सम्बनधी बहस कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन पूर्व गएका थिए । नयाँ विमानबाट ओर्लिने बेलामा विमान परिचारिकाहरुले भट्टराईलाई यात्रा कस्तो लाग्यो भनेर सोधेका थिए । भट्टराईले आफ्नै पालामा प्रक्रिया अगाडि बढाएर ल्याइएको विमानमा पहिलोपटक यात्रा गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment