Comments Add Comment

राजेन्द्र महतो : म भन्छु, दोस्रो दर्जाका नेपाली को हुन्

१३ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सफल भयो कि भएन भन्नेबारे मधेशवादी नेताहरुको मत बाझिएको छ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले स्वराजको भ्रमण शतप्रतिशत सफल भएको बताएका छन् भने शरतसिंह भण्डारीलगायतले नेपाल पक्षका कारण भ्रमण सोचेजस्तो नभएको बताएका छन् ।

madheshi-led

सुष्माको भ्रमणको समीक्षा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशन्न भ्रमणको अपेक्षाबारे नयाँ बानेश्वरको मसला कटेजमा मंगलबार दिउँसो मधेसवादी नेताहरुले बहस गरे । मधेसी पत्रकार संघद्वारा आयोजित अन्तरक्रियामा बोल्ने क्रममा अधिकांश नेताले एउटा दैनिक पत्रिका र तिनका सम्पादकलाई गाली गर्नमै समय खर्च गरे । सुष्मा स्वराजसँग मधेसी नेताको भेटबारे लेखिएको समाचारलाई लिएर उनीहरुले काठमाडौंका मिडियालाई गाली गरे ।

कार्यक्रममा बोल्ने क्रममा सदभावना अध्यक्ष महतोले कुमाऊ र गढवालबाट आएकाहरु दोस्रो दर्जाका नागरिक हुन् भन्दै उत्तेजक अभिव्यक्तिसमेत दिन भ्याए ।
भारतीय अधिकारीको नेपाल भ्रमणलाई लिएर मधेसवादी दलका नेताहरुले गरेका टिप्पणी र दृष्टिकोण यस्ता छन् :

राजेन्द्र महतो : सुष्माले भनिनन्, अब म भन्छु

spotlight-rajendra mahatoसुष्मा स्वराजसँगको भेटमा दोस्रो दर्जाको नागरिकको कुरै भएको थिएन, अब उठाइन्छ । यो अब अनुसन्धानको विषय बनाइन्छ । कुमाऊ गढवाल राजस्थानबाट आएका मानिसहरु एक नम्बरका नागरिक हुन् कि यहाँका भूमिपुत्रहरु एक नम्बरका नागरिक हुन् अब यो छिनोफानो गर्नुपर्ने बेला आयो ।

आज मैले पत्रिकामा हेरें, हामीलाई त के माग्ने नै थाहा छैन । १८ गते प्रधानमन्त्री आउँदैछन्, जे माग्छौ त्यो दिन्छु भनिराखेका छन्, यताचाँहि के माग्ने हो, त्यो नै थाहा छैन । यस्तो मानसिकता छ । यो भारतविरोधी राष्ट्रवादले ५० वर्षसम्म नेपालको विकास गरेन । यही मानसिकता रहिरह्यो भने नेपालको कहिल्यै पनि विकास हुँदैन ।

हजारौं वर्षदेखि पानी बगेको बगेकै छ, खोइ त प्रयोग भएको ? हाम्रा युवाहरु विदेशमा गएर भाँडा माझ्नुपर्ने ? मुम्बईको कोठरीमा हाम्रा चेलीबेटीहरु बेचिनुपर्ने ? के यो राष्ट्रियता हो ?

जहिले पनि विक्रेताको हात माथि हुँदैन, क्रेताको हात माथि हुन्छ । भारतसँग राम्रो सम्बन्ध गर्नुभएन भने यहाँ केही पनि हुनेवाला छैन । केही पनि हुनेवाला छैन । घरमा दही छ भने दही खान पाइन्छ । घर भनेको छिमेक हो । छिमेकमा दही हुनुपर्‍यो नि त । त्यसैले मोदी आएको बेला हाम्रो अपेक्षा हुन्छ कि हामीलाई मद्दत गर्नोस् ।

यो पनि लेख्नोस् म मोदीलाई भन्नेवाला छु, मोदीजी भारतले नेपाललाई १३ सय करोड वाषिर्क दिनुभएको छ, त्यसमा मधेसले कति पाएको छ, त्यसको हिसाब हुनपर्‍यो । मधेसले कति पायो ? यो हिसाब मधेसलाई चाहियो । अनिमात्रै हामी तपाईलाई धन्यवाद दिन्छौं । यो पनि मोदीसँग हाम्रो अपेक्षा हुन्छ ।

अमरेशकुमार सिंह : राष्ट्रियता राजनीति गर्ने भाँडो हो

amreshराष्ट्र भनेको जनता पनि हो, भूगोल पनि हो । त्यसैले राष्ट्र र जनताको हितमा हामीले कुनै पनि सन्धि सम्झौताहरु गर्नुपर्छ । जबसम्म समान आर्थिक विकास हुँदैन, तबसम्म हामी कहिल्यै पनि समान व्यवहारको अपेक्षा गर्नर् सक्दैनौं ।

३०/४० वर्ष पहिला विद्युतको विकास भएको भए हामी अँध्यारोमा बस्नुपर्ने थिएन । जवसम्म हामी उर्जाको विकास गर्दैनौं, तबसम्म विकास हुँदैन ।
राष्ट्रियताको नारा दिएर जनतालाई रोक्न पाइँदैन । राष्ट्रियताको कुरा गर्ने हो भने एयरपोर्टमा गएर धर्ना दिऔं, ता कि कोही पनि प्लेन चढेर विदेश नजाउन् । राष्ट्रियता त्यस्तो प्यारो छ भने कोही अमेरिकाको गि्रनकार्ड र पीआर लिएर नजाउन् । राष्ट्रियता खोक्रो नारा हो, त्यो राजनीति गर्ने भाँडो हो । माक्र्सवाद लेनिनवाद माओवाद अब चल्दैन, अब चल्ने विकासवाद, नेपालवाद मात्र हो । जनताको अनुहार त्यसबेलामात्रै उज्यालो हुन्छ, जतिबेला उसको खल्तीमा पैसा हुन्छ ।

त्यसकारण मोदीको भ्रमणलाई हामीले के बुझ्नुपर्छ भने हामीले ‘बाइ लेटरल’ कुरा गर्दाखेरि नेपालको हितमा, नेपाली जनताको हितमा हामीले सम्झौता गर्नुपर्छ । तर, यो गर्नुभन्दा पहिल्यै नेतालाई देशबेचुवा भनिन्छ ।

राजाले अब फेरि आउन खोज्यो भने अब उसको घाँटी काटिन्छ, पहिले सम्झौतामा टुंगिएको थियो । अब राजाको घाँटी काट्नमात्र बाँकी छ । जनता जहिले पनि एक स्टेप अगाडि बढ्छ ।

त्यसैले मधेसको विषय जहाँसम्म छ, यो नेपालको मिडियाको विषय बन्नुपर्छ । मधेसका मुद्दा राष्ट्रिय मुद्दाहरु हुन् । मधेसको मुद्दा राष्ट्रिय मुद्दा बन्न सकेन भने, मैले अस्ति संसदमा भनेको थिएँ, नेपालको मानचित्रै बदलिन सक्छ । यथार्थ कुरो म तपाईलाई बताउँछु ।

शरतसिंह भण्डारी : विष पिउन तयार हुनुपर्छ

saratsingh bhandariभारतीय विदेशमन्त्रीको भ्रमण मन्त्रीको हकमा सफल भयो, हाम्रो हकमा असफल भएको छ । यो भ्रमणमा भारतको नेपालप्रतिको स्नेह र सदाशयता स्पष्ट रुपमा देखिएको छ । तर, हामीले तर, हामीले यसलाई उपयोग गर्न सकेनौं, यसका लागि जो जिम्मेवार छन्, उनीहअरुप्रति म क्षोभ र खेद प्रकट गर्न चाहन्छु ।

हामीलाई जुन सम्बन्ध र संस्कृतिको दुहाइ दिएर भारतप्रति हात फैलाउन आँट आउँछ, हामी माग्न तयार हुन्छौं, उपहारस्वरुप सडक पुल र जलविद्युत माग्छौं, त्यो अनुसार सरकारले पीपीएमा हस्ताक्षर गर्न आँट गर्नुपर्छ । त्यो हस्ताक्षर मैले वा अमरेशले गर्ने होइन, सरकारले गर्ने हो । राष्ट्रको हितका लागि नेतृत्वले तत्काल विष पिउन पनि तयार हुनुपर्छ ।

राजकिशोर यादव : साष्टाङ्ग दण्डवत् गर्नेहरु मधेसी हुन् ?

rajkishowr yadavसुष्मा स्वराज र मधेसी नेताको भेटबारे जुन समाचार आएको छ, त्यो हुँदै नभएको विषयहरु राष्ट्रिय मिडियामा आयो । म यसलाई भन्छु, यो राष्ट्रघाती कदम हो । यदि राष्ट्रको हितमा सोच्ने हो भने यो कुनै कोणबाट यसले राष्ट्रलाई फाइदा गर्दैन । यसले काहिँ न काहिँ मधेसी नेताहरुलाई स्खलित पार्ने प्रयास गरेको छ । हामीले राष्ट्र निर्माणको प्रक्रियामा आफ्नो सहभागिता खोजिरहेको बेलामा मधेसी नेताहरुलाई दुष्प्रेरित गरेर मधेसी जनतालाई अपमान गर्ने मनसायबाट आएको विषय हो यो ।

सुष्माको भेटबारे जुन समाचार आयो, म सशरीर त्यहाँ उपस्थित थिएँ, न त मेरो कानले त्यस्तो सुन्यो, न त मैले त्यस्तो भावार्थ पाएँ । शायद म ‘बहिरो’ नहुने हो भने त्यस्तो विषय छेउछाऊमा पन अिाएन । त्यसैले यो गम्भीर विषय हो । यो मानसिकताको समस्या हो ।

अब मधेसीहरु यो देशमा कसैको आर्शिवादले, कसैको कृपाले दास बनेर बाँच्नुपर्ने अवस्था छैन । अरुलाई भेट्न हुने, तर मधेसी र भारतीय नेताको वीचमा कुनै पत्रकारको उपस्थितिविना मिटिङ भयो, त्यसलाई आफ्नै मनले अनर्गल जुन प्रचार गरियो, त्यो सर्वथा गलत छ ।

भारतको दृष्टिकोण समग्र नेपालको बारेमा त फेरिएको हो नै, अब मधेसको बारेमा पनि उहाँहरुको हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ भन्ने हामीले महसुस गरेका छौं । हामीले सोचेका छौं कि काठमाडौंका मिडिया पनि जिम्मेवार भैदिउन् । सम्वेदनशील विषय उठाउँदा सम्वेदनशीलतालाई मनन गर्न सकून् भन्ने हाम्रो आग्रह हो ।

राजा महेन्द्रका पालामा अपर कर्णालीको कुरा उठेको हो । त्यतिबेला जापानी कम्पनीले सम्भाव्यता अध्ययन पनि गरेको हो । तर, आज अपर कणर्ालीमा त्यो विद्युत उत्पादन भैदिएको भए यो देशका युवाको अवस्था के हुन्थ्यो ? हाम्रो आर्थिक अवस्था के हुन्थ्यो ? त्यसैले यदि हामी नेपाल राष्ट्रको बारेमा सोच्दछौं भने राष्ट्रघात कसले गरेको हो ? हिजोसम्म कुन मधेसी नेताले सत्ताको बागडोर सम्हालेको थियो, जसले जलविद्युत उत्पादन हुन दिएन ? यो देशमा सन्धि सम्झौतामा हस्ताक्षर गर्ने कुन-कुन मधेसी नेताहरु हुन् ? मधेसी नेता राजेन्द्र महतो यहीँ हुनुहुन्छ, उहाँको केश पनि फुलेको छ, सोध्नोस् उहाँलाई ।

हस्ताक्षर हेर्ने हो भने आफ्नो व्यक्तिगत स्वार्थका लागि, आफूलाई सत्तामा टिकाइ राख्नका लागि शक्तिकेन्द्रहरुमा साष्टाङ्ग दण्डवत् गर्ने ? जबसम्म यो मानसिकता फेरिँदैन, तबसम्म यो नेपाल सम्वृद्ध बन्न सक्दैन भन्ने मेरो ठोकुवा हो ।

अनिलकुमार झा : केही भैहाल्लाजस्तो लाग्दैन

Anil-jhaभारतीय विदेशमन्त्रीको भ्रमण अत्यन्तै फलदायी हुन्छ भन्ने जुन अपेक्षा थियो, त्यो त्यही लेबलमा सफल भएको मैले बुझेको छैन । अपेक्षाकृत रुपमा धेरै विषयहरु आए, ती विषयमा सहमतिसम्म भयो, तर त्यसमा मोदीजीको भ्रमणमा केही न केही हस्ताक्षर गछौर्ं भन्ने निश्कर्ष निकालेर जानुपथ्र्यो । त्यो निश्कर्ष निस्किएन । यसको तात्पर्य भारतलाई के घाटा भयो भन्दा पनि नेपाललाई के घाटा भयो भन्ने महत्वपूर्ण कुरा हो ।

भारतसँग नेपालको धेरै व्यापार घाटा छ । हामीले बेच्ने के त ? चुरेबाट ढुंगा गिटी निकालेर पठाउँथ्यौं, त्यो पनि रोकियो । त्यताबाट पनि भारु आउने अवस्था भएन । अब कहाँबाट क्षतिपूर्ति गर्ने ? व्यापार घाटा घट्ने परिस्थिति नै छैन, कसरी घटाउने ? मैले एउटा सुझाव दिएको थिए, या त हामी भारतसँग व्यापार नगरौं, या त भारतलाई हामीले केही दिनुपर्‍यो । केही बेच्नुपर्‍यो । त्यो बेच्ने चिज के हो ? त्यो भनेको पानी हो ।

पानीबाहेक हामीसँग केही पनि छैन, जुन बेचेर हामी घाटा पूर्ति गर्न सक्छौं । पानी बेच्दा पानीबाट भारतले मख्खन निकाल्छ । गजेन्द्रनारायण सिंहले संसदमा भन्नुभएको थियो, अरबको देशमा पेट्रोल डलर छ भने नेपालमा वाटर डलर छ । तर, यसको हामीले दोहन गर्न सकिराखेका छैनौं ।

तर, मोदीजीको भ्रमणमा यो भइहाल्ला भन्ने मलाई लाग्दैन । यसबारे कुनै हस्ताक्षर हुन्छजस्तो मलाई लागेको छैन । विगतमा बिप्पा सम्झौता भयो, मैले नै त्यसमा हस्ताक्षर गरेको हुँ । त्यो कागजै नपढेका व्यक्तिहरुले भयंकर टिप्पणी गर्छन् ।

हरेक कुरालाई, भारत र नेपालवीच हुने हरेक कुरालाई जबसम्म काठमाडौंमा एउटा तप्काले अत्यन्तै नकारात्मक रुपमा लिन छोड्दैन, तबसम्म नेपालको समग्र विकासमा भारतसँगको व्यापार घाटा र नेपाल-भारत सम्बन्ध राम्रो नहुने अवस्था नै बढ्ता रहन्छ ।

यो पनि पढ्नुस् 

सुष्माले एक्लै भेट्ने पशुपतिसमशेरको के हैसियत ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment