Comments Add Comment

चरीको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन मानेन

५ भदौ, काठमाडौं । सर्वोच्च अदालतले प्रहरी मुठभेडमा मारिएका डन दिनेश अधिकारी चरीको आफन्तको माग अनुसार प्रहरी अधिकारीहरुविरुद्ध जाहेरी दर्ताका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

फाइल फोटो
फाइल फोटो

चरीको हत्या भएको दाबीसहित प्रहरी अधिकारीहरुविरुद्ध दिएको जाहेरी महानगरीय प्रहरी परिसर हनुमानढोकाले दर्ता गर्न अस्वीकार गरेपछि उनका आफन्त अदालत गएका थिए ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले रिट निवेदनको माग बमोजिम जाहेरी दर्ताका लागि परमादेश वा अन्तरिम आदेश दिनु नपर्ने आदेश सुनाएको छ ।

सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले अनलाइनखबरसँग भने-‘विपक्षीसँग लिखित जवाफ माग्दै मुद्दाको गम्भीरता हेरेर अग्रधिकार दिनु भनिएको छ । तर, रिट निवेदनको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन भन्ने आदेश भएको छ ।’

चरीको हत्या भएको र प्रहरीले किटानी जाहेरी नलिएको भन्दै चरीका दाजु ध्रुव अधिकारीले गत शुक्रबार सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । विहीबार निवेदकको पक्षबाट गोविन्द शर्मा पौडेल, पुष्पराज पौडेल र अमर राउतले बहस गरेका थिए । उनीहरुले चरीलाई प्रहरीले अन्यत्रै पक्राउ गरी हत्या गरेर भीमढुंगामा पुर्‍याई दोहोरो भिडन्तको अभिनय गरेको दाबी गरेका थिए ।

उनको हत्या भएको दाबी गर्दै परिवारले एसएसपी पुष्कर कार्की, उत्तम कार्की, डीएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीका पहिलेका साथी भनिएका अर्पण कोइरालाविरुद्ध किटानी जाहेरी दिन खोज्दा प्रहरीले अस्वीकार गरेको थियो ।

आदेशपछि मात्रै दाहसंंस्कार

शुक्रबार सर्वोच्च अदालतको निर्णय आएपछिमात्रै चरीको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । चरीको शव त्रिवि शिक्षण अस्पतालमै छ ।

चरीको साउन २१ गते प्रहरी मुठभेडमा मृत्यु भएको थियो । एमाले सांसदहरुले समेत चरीको हत्या भएको भन्दै संसदमा हंगामा गरेपछि गृहमन्त्रीले प्रहरीको इन्काउन्टरमा मारिएको जवाफ दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment