Comments Add Comment

‘महिला कमरेड’को तीजमा पुरुषलाई दर !

 

Youth Federation TEEJ१० भदौ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय नेताहरु शनिबार र आइतबार तीजको दर खान ब्यस्त देखिए । महिला मात्रै होइन, पुरुष नेताले समेत एकै दिन तीन ठाउँसम्म दर खान भ्याए ।
शहरको तीज भड्किलो, खर्चिलो र देखासिखी हुन थालेको टिप्पणी भइरहेका बेला सत्तारुढ नेकपा एमालेले आफ्ना पार्टी कमिटीका महिला सदस्यलाई संस्थागत रुपमै दर खुवाएर तीज मनाउने प्रचलन थालेको छ ।
आइतबार एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियु केन्द्रीय कमिटीकै आयोजनामा अलग-अलग रुपमा आफ्ना महिला कमरेडहरुलाई दर खुवाउँदै तीज गीतमा नाचगानसमेत भयो ।
पार्टी उपाध्यक्ष विद्या भण्डारी, अष्टलक्ष्मी शाक्यमात्रै होइन, सचिव योगेश भट्टराई लगायतका पदाधिकारीहरु पनि महिला कार्यकर्तासँगै तीज गीतमा नाचेको दृश्य धेरै ठाउँमा देखिए ।
पार्टीले संस्थागत रुपमा निर्णय गराएर तीज कार्यक्रम गर्नु नभने पनि विभिन्न कमिटी र जनवर्गीय संगठनहरुले स्वस्फूर्त रुपमा तीज कार्यक्रम गरेको उपाध्यक्ष विद्या भण्डारीले प्रतिक्रिया दिइन् ।
नेपाली महिलाहरुको अभिन्न पर्व भएकाले तीजलाई पार्टीले महत्व दिएको युवा संघ उपाध्यक्ष समेत रहेकी निरु पालले बताइन् । उनका अनुसार यसले महिला कार्यकर्ताबीच भावनात्मक एकता बढाउँछ ।
पाल भन्छिन्-बहुसंख्यक नेपाली महिलाले मनाउने महान पर्वलाई पार्टीले प्रयोग गर्नुपर्छ भनेर सामुहिक तीज मनाउन थालिएको हो ।
तडकभडक नगरी तीज नाच्ने र सामान्य दर खाएर एक वर्षभरिका तीतामीठा अनुभव साट्ने अवसरका रुपमा यसलाई उपयोग गरिएको अनेरास्ववियुकी महासचिव नविना लामाले बताइन् ।
‘तीज कुनै जातिविशेषको भन्दा पनि आम नेपाली महिलाको प्रतिकात्मक पर्वका रुपमा हामीले मनाउन खोजेका हौं’ लामाले भनिन् ‘हाम्रो मुख्य उद्देश्य यसलाई विकृत नबनाउँ भन्ने पनि हो’ ।
तीजका कार्यक्रमहरुमा यसका विविध पक्षबारे प्रशिक्षण दिने समेत गरिएकाले महिला कार्यकर्ताका लागि राजनीतिक रुपमा पनि उपयोगी बनेको एमाले केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।
maoist TEEJमाओवादी पनि के कम ?
तीजको कथाले महिलालाई कमजोर देखाउन खोजेको तथा पुरुषभक्तिमा लगाएको भन्दै नारीवादी कोणबाट विगतमा यसको आलोचना पनि हुने गरेको थियो ।तर, पछिल्लो समयमा माओवादी पार्टीका नेताहरु पनि तीज गीतमा नाच्न र दर खाने कार्यक्रममा सहभागी हुन थालेका छन् ।
विगतमा तीज संस्कृतिको आलोचना गर्ने अखिल नेपाल महिला संघ क्रान्तिकारीले संस्थागतरुपमै शनिवार तीज कार्यक्रमको आयोजना गर्‍यो ।कपनमा आयोजित सो कार्यक्रममा पूर्वलडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ, प्रचण्डपुत्री रेणु दाहालसहितका माओवादी नेताहरु सहभागी भए ।
पार्टीका अन्य संगठनहरुले पनि आ-आफ्नो कमिटीमा आवद्ध महिला कार्यकर्ताको सहभागितामा तीज कार्यक्रम मनाइरहेको एमाओवादी नेतृ रेणु दाहालले बताइन् ।
लेखनाथको टिप्पणी
कम्युनिस्ट पार्टीमा मौलाएको तीज संस्कृतिप्रति व्यंग्य गर्दै मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रगतिशील मृत्यु संस्कार मात्र देख्न बाँकी रहेको टिप्पणी गरेका छन् ।
‘गहनाले झकिझकाऊ सहभागी, पार्टी प्यालेसमा कार्यक्रम, पप र र्‍याप गीतहरु अनि प्रगतिशील तीज कार्यक्रम भनेर ब्यानर’ न्यौपानेले फेसबुकमा टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment