Comments Add Comment

रुकमाङ्गदले कसो भनेनन्- ‘लघुशंका पनि लोकतन्त्रकै लागि’

Yadav-devkota– यादव देवकोटा

पछिल्लो समय नेपाली बौद्धिक तप्काको ठूलो समूह पूर्वप्रधानसेनापति रुकमाङद कटवालको आत्मकथाले पैदा गरेको छाल र त्यसको तरंग देखेर बहसमा उत्रिएको छ । सामाजिक सञ्जालका भित्तादेखि पत्रपत्रिका र न्युज पोर्टलमा समेत कटवालको आत्मकथाको सत्यतालाई लिएर चर्काचर्की पर्न थालेको छ । यसरी सार्वजनिक बहसमा उत्रनेमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वजर्नेलसम्म छन् ।

गणतन्त्र कार्यान्वयनका बेला सैनिक भूमिका के होला भनेर जनमानसको तीव्रतर प्रश्नहरूबीच उभिएका तत्कालीन सेनापति कटवालले जनादेशलाई नाघ्न नसकिने राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिलाई चतुरतापूर्वक आँकलन गरेर सेनाको परम्परागत ‘कुलदेवता’ लाई पुज्न छाडेको घटनालाई भजाएर आफूलाई लोकतन्त्रको सबैभन्दा प्रतिवद्ध जोदाहाका रूपमा प्रस्तुत गर्न खोजेपछि धेरैले हाँसो थाम्न नसकेको अवस्थासमेत देखिएको छ ।

अलिपछि लडार्इ र जनादेशको राप र तापबाट आएका आफूजस्तै ‘चरम महत्वाकांक्षी’ स्वाभावका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग पौंठेजोरी खेलेर जब कटवालले दाहाललाई सत्ताको आसनबाट रेडलाइट बाल्दै सडकमा दौडनुपर्ने अवस्थामा पुर्‍याए, त्यसपछि उनी नेपाली समाजको एउटा तहमा चरम विवादित पात्रको रूपमा लिइए ।

निश्चय नै त्यसरी प्रधानमन्त्रीसँग थान थाप्दै जुध्न उभिएको ‘जमीन’ कटवाल स्वयम्को थिएन । उनी त मोहरा मात्रै थिए । उनी एउटा त्यस्तो पात्र हुन्, जसको काँधमाथि राखेर स्वार्थ समूहले माओवादी नेतृत्वको सरकारमाथि फायर खोल्यो । त्यसलाई पुष्टि गर्ने गरी कटवालले जंगी अड्डामा बसेर स्टेट सेक्रेसी राख्नुपर्ने तहको ‘लबिङ्ग’ र ‘फोनइन’ गरेका स्वीकारेका छन् । कटवाललाई नेपाली समाजको वृहत्तर तप्काले नेपाली सेनाको निरन्तरतामा बनेको एउटा सेनापतिभन्दा पनि देशको राजनीतिको नियमितताको एउटा सम्भावित नक्शा फेर्न निर्वाचित प्रधानमन्त्रीसँग अकल्पनीय सम्भावित मुठभेडको बाटो रोज्ने सैनिक प्रमुखका रूपमा चिन्छन् ।

कटवालको आत्मकथा

‘आत्मकथा या आत्मवृतान्त जे नाम दिइए पनि त्यो कुनै व्यक्तिले जीवनभर भोगेका घटनाक्रमहरूको लिखित शृंखला हो’ भनेर लेखक ग्रेस फ्लेमिङ्गले व्याख्या गर्दै लेखेका छन्- ‘कुनै पनि आत्मकथा पढ्दा उसको जीवनशैली या राजनीतिक विचारसँग सहमत हुनुपर्ने जरुरी छैन ।’

कटवालले आफूलाई कति सुपेरियर देखाउने दुःख गरेका छन् भने उनी लप्टन छँदा मेजर कुट्छन्, मेजर छँदा कर्णेलसँग पौँठेजोरी खेल्छन्, कर्णेल हुँदा जर्नेललाई सलामसमेत गर्दैनन्, तर उनलाई सेनाले कहिल्यै कारवाही गर्न सक्दैन ।

तर महत्वपूर्ण कुरा चाहिँ के हो भने अक्सर आत्मकथाको आवरणमा आएका पुस्तकहरूमा व्यक्तिको आत्मरतिलाई भर्‍याङ्ग चढाउन मानिसहरूको मनमा रहेको अक्षरप्रतिको विश्वासलाई चरम दुरुपयोग गरिन्छ । देखिएका या प्रकट भएका केही सत्यलाई भँजाएर अरू कैयन अवगुण र कमजोरीहरूलाई, झुटलाई सत्यजस्तो देखाउन खोज्ने र मानिसहरूलाई भ्रमित पार्ने मूल उद्देश्य नै पछिल्लो समय लेखिएका आत्मवृत्तान्तको मूलभूत चरित्र हुन पुगेको छ । कटवालले यस्तो चरित्रको सबैभन्दा पहिलो लहरमा बसेर नेतृत्व गर्ने लोभ गरेका छन् ।

कटवालको ४४७ पृष्ठमा समेटिएको आत्मकथा ‘१६ दिनको लडाइँ’ शीर्षकबाट सुरु हुन्छ । कटवालको सैनिक जीवनको लगभग आखिरी समय र नेपालको गणतन्त्रको शैशवकालमा सत्ताकेन्द्रमा पैदा भएको टकरावपूर्ण प्रतिसोध र प्रतिरोधको सनसनीपूर्ण विवरण उल्लेख गर्दै पुस्तकमा उनले ओखलढुङ्गाको निशंखेमा जन्मिएर राजा महेन्द्रको पछि लाग्दै त्यतिबेलाको चार भञ्ज्याङ्गभित्रको ‘नेपाल’ छिरेको एउटा ठिटोले जीवनमा भोगेका दुखसुख, संघर्ष, अवसर, महत्वाकांक्षा, परिणामहरूको तस्वीर छ ।

rukmangat-katuwal-
कटवालको आत्मकथा

इतिहास, राजनीतिशास्त्रका विद्यार्थीहरूका लागि कटवालको जीवनी एउटा निश्चित समयभित्र देशको सबैभन्दा संगठित र ‘शक्तिशाली’ मानिने संस्था सेनाभित्रका घटनाक्रमहरूलाई चियाउने आँखीझ्यालको रूपमा आएको छ । तर यसको सबैभन्दा जोखिमचाहिँ कटवालको आत्मकथा कति कथ्य र कति तथ्यको जगमा टेकेर उभिएको छ भन्ने निक्र्यौल गर्नु नै हुनेछ ।

कटवालमा यति धेरै आत्मश्लाघा देखिन्छ कि आफुलाई धोइपखाली गरेर बाँकी मानिसहरूलाई हिलाम्य देखाउने चरम आत्मरति दर्जनौँ ठाउँमा प्रकट हुन्छ । कतिपय खुला तथ्यहरूलाई समेत उनी आफ्नो आत्मरतिलाई टेवा दिने नाङ्गो लोभमा लागेर विद्रुपीकरण गर्छन् र लेखनको विश्वसनीयताको धरातललाई यति कमजोर बनाउँछन् कि पुस्तकमा उल्लेखित भएका तथ्यहरूको बचाउका लागि उनी फेसबुकमा विज्ञप्ति जारी गर्नुपर्ने टीठलाग्दो अवस्थामा पुग्छन् । त्यस्तो विरोधाभाष उनको आत्मकथाको सुरुवातबाटै हुन्छ ।

ओखलढुङ्गाको निशंखेमा गुरुकुल शैलीमा गाउँको गुरुसँग पढेको र औपचारिक रूपमा विद्यालय शिक्षा नै नलिएको आठ वर्षे उमेरका कटवाल अंग्रेजी माध्यममा पढाइ हुने उतिबेलाको चर्चित त्रिभुवन आर्दश मावि, फर्पिङ्गमा कक्षा पाँचमा भर्ना भएको कुरा पत्याइनसक्नु छ ।

त्यसरी गाउँमा एबीसीडी मात्रै सिकेको विद्यार्थीले एकैचोटि पाँचमा भर्ना भएर अंग्रेजी माध्यममा पढेर, कक्षा टपेर, फड्किँदै नौ वर्षको उमेरमा कक्षा सातमा पुगेको कुरा आश्चर्यलाग्दो छ । नौ वर्षको उमेरमै कटवाल चुरोट तान्थे, टिभी, रेडियो, पत्रपत्रिकाको पहुँचविनै त्यति सानो उमेरमा वैजयन्ती मालाबारे जानकार हुन्थे र आफ्नै सुरमा टिकट काटेर फिल्म हेर्थे ।

राजा महेन्द्रले आजभन्दा चौवन्न, पचपन्न वर्षअघि नौ कक्षामा पढ्ने एघार वर्षको कलिलो बालकलाई सोधेछन्- ‘हाउ मेनी गलफ्रेण्ड डु यू ह्याभ ?’ बाल विवाह चल्ने, मागी विवाह चल्ने त्यो जमानामा एघार वर्षको फुच्चेलाई प्रियसीहरूको संख्या सोध्ने राजा महेन्द्र हैसियत खोल्दा कटवालले तिनै गडफादरको स्कुलिङ्गमा हुर्किएको आफुमा पनि त्यस्तै खाले उट्पट्याङ्ग सरेको चाँहि स्वीकारेका छन् ।

सेकेन्ड लप्टनमा भर्ती भइवरि तालिम सकेर भर्खर फर्किएको कनिष्ठ अधिकृतले आफूभन्दा दुई तहमाथिको मेजरलाई सेनाभित्र हुकुमीतन्त्र रहेको त्यो समयमा कठालो समाएको र त्यसको बदलामा कटवालमाथि कुनै कारवाही नभएको कुरा पढ्दा एउटा कनिष्ठ लप्टन कटवालका सामु सिंगो सैनिक संस्था उतिबेलैदेखि कति निरिह भएर लत्रिँदो रहेछ भनेर पाठकहरूलाई ‘बोनस’मा आश्चर्य प्राप्त हुन्छ ।

कटवालले आफूलाई कति सुपेरियर देखाउने दुःख गरेका छन् भने उनी लप्टन छँदा मेजर कुट्छन्, मेजर छँदा कर्णेलसँग पौँठेजोरी खेल्छन्, कर्णेल हुँदा जर्नेललाई सलामसमेत गर्दैनन्, तर उनलाई सेनाले कहिल्यै कारवाही गर्न सक्दैन ।

कटवालको कथ्यको म पात्र यति जब्बर छ कि उनका सामु सिंगो सैनिक संस्था र त्यसलाई नेतृत्व गर्ने अधिकृतहरू पटक-पटक लुरुक्क परेर, लत्रिएर बाटो लाग्छ । यस्तो लाग्छ, उनले सेनामा तल्लो तहको अफिसर बनेर कहिल्यै जागिर खाएनन्, सधैँ सेनापति कटवाल बनेर जागिर खाइरहे ।

सिंघमको झझल्को

कटवालले आत्मकथा लेख्न बस्दा पटकपटक हिन्दी सिनेमा नायक र सिंघम हेरेको प्रतीत हुन्छ । उनको मनमा सिंघम सिनेमाको प्रहरी अधिकृतको रोलले निकै गहिरो दाग छाडेजस्तो देखिन्छ । त्यही सिंघम शैलीमा उनी एक्लै घरानिया परिवारको छोरी माग्न जान्छन् र जादूमय तवरमा त्यो परिवारको छोरीलाई जीवनमा भित्र्याएरै छाड्छन् ।

नक्कली प्रमाणपत्रबारे

अदालतसम्म पुगेको आफ्नो उमेरको विवादसम्बन्धी प्रसँगमा कटवालले लेखेका छन्- ‘मैले विवेकलाई भने-जे प्रमाण हो, प्रमुख सैनिक सचिवालयमै होला, मसँग केही छैन । नक्कली काम गर्नेले पो प्रमाण राखेको हुन्छ, सक्कलीवालाले त्यसको जरुरत ठान्दैन ।’

कटवालको उमेर विवादसम्बन्धी प्रसंगमा दरबारका तत्कालीन प्रमुख सैनिक सचिव विवेककुमार शाहले लेखेका छन्- ‘यसैबीच मेरो मुमाको स्वर्गे भयो । म पशुपति आर्यघाटमा काजक्रियामा बसेँ । म कोरा बसिरहेका ठाउँमा कटवाल मलाई भेट्न बेलुकीपख नियमितजस्तो आउनुहुन्थ्यो । त्यसबेला उहाँ सेनाको गुप्तचर विभागको प्रमुख हुनुहुन्थ्यो । एकदिन उहाँ मसँग रुनुभयो- जर्साव मैले चाँडै अवकाश पाउने भएँ । चिफसाब र कार्यरथी सदीप जर्साबले सैनिक सचिव गोविन्द गुरुङ्गलाई लगाएर मेरो व्यक्तिगत फाइलबाट हुकुम प्रमाङ्गीको कागज गायब पारिदिए । मलाई अन्याय भयो । यस अवस्थामा जर्साब बाहेक कसैले मलाई सहयोग गर्दैन । यसोभन्दा उहाँ भक्कानो फुटाएर रुनुभएको थियो (मैले देखेको दरबार, पृष्ठ १९५, दोस्रो अनुच्छेद) ।’

हजारौँ माओवादी कार्यकर्ताले सैनिक मञ्च नियन्त्रणमा लिएर कम्युनिष्ट झण्डा फर्फराएका बेला कटवाल आँखाको अप्रेसन गराउन विदेशको कुनै अस्पतालमा थिए भनेर उनलाई छुट भने दिन सकिन्छ । अन्यथा त उनले मेसिन गन पड्काएर सैनिक मञ्च पुगेका माओवादी कार्यकर्तालाई भुटिसकेका हुन्थे ।

आफ्नो उमेर हुकम प्रमाङ्गीबाट घटाएको विवरणमा कटवालले लेखेको प्रसंगसमेत रथी शाहले लेखेको विवरणसँग फरक देखिन्छ । कटवाल आफ्नो आत्मकथामा लेख्छन्- ‘०३२ सालमा म गाउँ गएको थिएँ । दाइहरू, बूढापाका, ठूलीआमा, काकीआमाको कुरा सुन्दा जन्म मिति गलत भएको बुझेँ । वास्तविक उमेरभन्दा कागजी उमेर चार/पाँच वर्षै जेठो रहेछ । त्यस आधारमा म दाजुहरूभन्दा जेठो हुने रहेँछु । म गाउँ सर्जमिन, गाउँ पञ्चायतको सिफारिस, जिल्ला पञ्चायतको पत्र बोकेर काठमाडौं आएँ । सैनिक हेडक्वार्टरमा पेश गरें ।’

यही प्रकरणमा रथी शाहले लेखेका छन्- ‘०३३ सालमा वीरेन्द्र सरकार पूर्वी क्षेत्रको भ्रमणको अवसरमा धनकुटामा राज होइबक्सेको थियो । त्यसबेला कटवाल धनकुटास्थित सेनाको इन्डिपेन्डेन्ट गुल्मको गुल्मपति हुनुहुँदो रहेछ । सवारी शिविरको मुख्य अधिकृत सहायक रथी सच्चित शमशेर जबरा हुनुहुन्थ्यो । त्यस अवसरमा जबरालाई कट्वालले ‘म केटाकेटी हुँदै आमाबुबा गुमाएको टुहुरो हुँ, पछि श्री ५ महेन्द्र सरकारबाट मलाई कृपा गरिबक्सेर काठमाडौँ लगी पढाइबक्स्यो । पढाइका क्रममा महेन्द्र आदर्श मावि फर्पिङ्गले एसएलसी परीक्षा दिँदा मेरो जन्म मिति फरक पारिदिएछ, त्यो मलाई अहिले मात्र थाहा भयो, त्यसैले मेरो उमेर सच्याउनका लागि म सरकारमा बिन्ती पत्र चढाउँछु, सरले मदत गरिदिनुपर्‍यो’ भनेर भन्नुभएछ । जबराले ‘हुन्छ’ भनेर कटवाललाई बिन्ती पत्र लेख्न लगाउनुभएछ र यसबारे छानविन हुने सुझावसहित कटवालको बिन्तीपत्र सरकारमा जाहेर गर्नुभएछ ।’ (मैले देखेको दरबार, पृष्ठ १९५)

यी प्रसंगले पनि कट्वालले आफूलाई ठूलो र बहादुर देखाउन गरेको टीठलाग्दो प्रयासको यथार्थ धरातल बोध हुन्छ ।

आत्मरतिको पराकाष्टा

कटवाललेे पुस्तकमा गरेको सबैभन्दा ब्लण्डर आत्मरितको त सर्वत्र टिप्पणी भइसकेको छ । ४१९ पृष्ठमा ‘माओवादी निशानामा सेना’ शीर्षक दिएर उनले लेखेका छन् ‘माओवादीले काठमाडौँमा पहिलो आमसभा गर्दै थियो, त्यो पनि सैनिक मञ्चमा ।’ सैनिक मञ्चमा आयोजना गर्न लागिएको भनिएको त्यो सभालाई आफूले कसरी रोकेँ भन्दै उनले लेखेका छन्- ‘सेनापतिको रूपमा मैले प्रधानमन्त्री गिरिजाप्रसादलाई भनेँ -सेनाले दलको झण्डा बोक्ने कसैलाई सैनिक मञ्चमा टेक्न दिँदैन ।’

katwal--2
आत्मकथा बिमोचन कार्यक्रममा कटवाल । तस्वीरः अनलाइनखबर

कटवालले मध्यस्तकर्ता बनेर आउनेलाई भनिदिएछन्- ‘त्यहाँ टेक्न आउनेलाई म आफैँ सिपाहीको अग्रपंक्तिमा बसेर मेसिन गनले भुटिदिन्छु ।’ त्यही सभामा माओवादी अध्यक्ष प्रचण्डले भनेको भन्दै लेखेका छन्- ‘को हो त्यो कटवाल ?’

माथिका हरफहरूले एकसाथ थुप्रै विरोधाभाषहरूको भण्डाफोर गर्छ । एक त काठमाडौँमा माओवादीको पहिलो संगठित विशाल आमसभा दोस्रो वार्ताकालमै भएको हो । टुँडिखेल भरिने गरी, जसलाई वार्ता टोलीका नेताहरू बाबुराम भट्टराई, रामबहादुर थापालगायतले सम्बोधन गरेका थिए ।

मरेका गिरिजाप्रसादलाई कटवालले यति निरीह बनाएर धम्क्याएका छन् कि लाग्छ, कोइराला आज पनि कटवालको धम्क्याइबाट तर्सेर यतै कतै बाँसको टुप्पोमा बसेर हल्लिइहेका छन्

कटवालले शान्ति प्रक्रियापछिको पहिलो सभा भनेर उल्लेख गरेको हो भने पनि त्यो विशाल आमसभा ०६३ जेठ १९ गते खुलामञ्चमा भएको थियो । माओवादीहरूले देशभर हप्तौँ अघिदेखि सोही किसिमले पोस्टरै टाँसेर प्रचार गरेका थिए । त्यो सभालाई कृष्णबहादुर महराले सम्बोधन गरेका थिए । जबकि प्रचण्ड ०६३ असार ३ मा मात्रै बालुवाटारबाट सार्वजनिक भएका थिए । र, त्यसको झण्डै डेढ महिनापछि मात्रै कटवाल सेनाको कार्यवाहक प्रधान सेनापति र भदौ २६ मा मात्रै उनले सेनापतिको फूली लगाएका थिए । को हो त्यो कटवाल भनेर प्रचण्डले भाषण गरेको ०६३ फागुन १ को जनयुद्ध दिवसको दिनमा हो, जतिबेला वृहत शान्ति सम्झौता भएर माओवादी सेना शिविरमा गइसकेको थियो र माओवादी नेताहरू मन्त्री बनिसकेका थिए ।

त्यतिबेलाको सभा गर्न माओवादीले सैनिक मञ्च कब्जा गर्ने कुरै थिएन । जेठ १९ को सभामा खुलामञ्चमा नअटाएका हजारौँ माओवादी कार्यकर्ताले सैनिक मञ्च नियन्त्रणमा लिएर कम्युनिष्ट झण्डा फर्फराएका बेला कटवाल आँखाको अप्रेसन गराउन विदेशको कुनै अस्पतालमा थिए भनेर उनलाई छुट भने दिन सकिन्छ । अन्यथा त उनले मेसिन गन पड्काएर सैनिक मञ्च पुगेका माओवादी कार्यकर्तालाई भुटिसकेका हुन्थे ।

अर्कोतिर कटवालले सेनाको एउटा अफिसरकोे सनकका भरमा मान्छेलाई कसरी भुटिँदो रहेछ भनेर सेनालाई चरम विवादित रूपमा पेश गरेका छन् । दरबारभित्र त्यत्रो फौज राखेर आफ्नो एकथान परमाधिपतिलाई बचाउन नसक्ने सेनाको एउटा अफिसरले ‘मास म्यासाकर्ड’ गर्न मेसिन गन बोकेर मान्छे भुट्ने रौद्र रूप देखाउने धम्की दिनु सामान्य विषय होइन ।

राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनाका लागि नेपाली सेनाको ठूलो संख्या परिचालित हुने गर्छ । त्यसरी जाँदा नेपाली सेना युएनको कार्यादेश लिएर जाने गर्छ । संकटकालका दिन भेडाबाख्रा चराउने मानिसहरूसमेत आतंककारीको नाममा ‘बहादुर’ जर्नेलको निर्देशनमा भुटिइरहेका बेला युएनको कार्यादेश लिएर आएको युएनओएचसिएचआर र पछि सेना समायोजनको मध्यस्तता गर्न आएको राष्ट्रसंघीय मिसन अनमिनप्रतिसमेत उनको विषवमन सैनिक संस्थालाई समेत डस्ने खालको छ ।

लोकतन्त्रवादीका रुपमा कटवालको दाबी

पुस्तकमा उनी आफू नै लोकतन्त्र भएको र आफ्नै कारण मात्र लोकतन्त्र बचेको बखान गर्न रत्तिभर लजाउँदैनन् । धन्न उनले आफूले गर्ने ‘लघुशंका’समेत लोकतन्त्र जोगाउनका लागि हुन्थ्यो भनेर आत्मरति प्रर्दशन भने गरिहालेका छैनन् ।

कैयौँ मानिसहरू खराव कारणले प्रख्यात भएका व्यक्तिहरूको सही कुरासमेत विश्वास गर्न चाहँदैनन् किनभने उनीहरू जान्दछन्- त्यसले थप विवादको नियत मात्रै बोकेको हुन्छ

दरबारको ममताले भाग्य अजमाएका कटवालले आत्मकथा लेख्ने, लेखाउने दरबारिया शैलीलाई राम्ररी पछ्याएका छन् । भारतीय लेखक कृष्णमूर्तिलाई ल्याएर तलब दिइवरि जीवनी लेखाएका उनका ‘गडफादर’बाट उनले नसिक्ने कुरै थिएन । त्यसरी राजा-महाराजाको गाथालाई इतिहासका रूपमा लेख्ने लेखाइने प्रचलन उहिल्यैदेखि चलेको हो । आज पनि हामी नेपालको इतिहास भनेर राजा-महाराजाले दरबारमा कतिवटी ल्याइते र कतिवटी ब्याइते भित्र्याए भनेर पढिरहेकै छौँ ।
‘इतिहास विजेताहरूको अत्यासलाग्दो झूठको आत्मप्रवचन हो’ भनेर जुलियन बार्निजले बुकर पुरस्कारप्राप्त चर्चित पुस्तक ‘दि सेन्स अफ एन एन्डिङ्ग्र’मा लेखेका छन् । प्रचण्डसँगको एउटा संघर्ष थुप्रै स्वार्थकेन्द्रहरुको जोडमा कटवाल नामको मोहरामार्फत जितेको र त्यसका लागि मानिसहरूले उनलाई दिएको शंकाको लाभ उठाउँदै कटवालले पुस्तकमा अन्य कैयन झूठहरू सुटुसुटु घुसाएका छन् ।

कटवाल लेख्छन्-‘माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा सार्वजनिक भएको दिन सेनामाथि लाल्छना लगाइरहँदा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरू स्रोता बनेर बस्नुभएको थियो ।’ जबकि प्रचण्डले बालुवाटारको कुनामा पालले बारेको अँध्यारो ठाउँमा बसेर बोल्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला उपस्थित थिएनन् ।

स्वास्थ्यको कारण देखाउँदै उनी त्यहाँ आएका थिएनन् । मरेका गिरिजाप्रसादलाई कटवालले यति निरीह बनाएर धम्क्याएका छन् कि लाग्छ, कोइराला आज पनि कटवालको धम्क्याइबाट तर्सेर यतै कतै बाँसको टुप्पोमा बसेर हल्लिइहेका छन् ।

कटवालले लेखेका छन्-‘म सानैदेखि उटङ्गया स्वाभावको थिएँ ।’ सेनापतिबाट रिटायर्ड भइवरि पुस्तक लेख्दासम्म उनको उटपट्याङ्ग जारी रहेको सचेत पाठकले ठम्याउन सक्छन् ।

कतिसम्म भने रामवरण यादवलाई राष्ट्रपतिसमेत आफैँले बनाएको भनेजसरी उनी आफूलाई अग्लो देखाउन खोज्छन् । पुस्तकमा केही तथ्यहरू सार्वजनिक गरेर कटवालले पाठकलाई गुन लगाएका छन् । होलेरी काण्डमा सेनाले कसरी प्रधानमन्त्री कोइरालालाई ढाँट्यो, सेना कसरी चल्थ्यो, पर्दाभित्रका राजनीतिक घटनाक्रमहरू कसरी गुजि्रन्थे भन्नेमा कटवालले खुलेर लेखेका छन् ।

फेरि पनि समस्या उनको लेखनको विश्वसनियताको हो । यहाँनेर ग्रेस फ्लेमिङ्गको भनाइ सम्झनु उचित होला-‘केही मानिसहरू खराब कारणले प्रख्यात हुन्छन् । कैयौँ मानिसहरू खराव कारणले प्रख्यात भएका व्यक्तिहरूको सही कुरासमेत विश्वास गर्न चाहँदैनन् किनभने उनीहरू जान्दछन्- त्यसले थप विवादको नियत मात्रै बोकेको हुन्छ ।’

(देवकोटा पत्रकार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment