Comments Add Comment

राजदूत नियुक्तिमा यसरी लाग्यो राजनीतिक ग्रहण

mahendra-pandey१८ भदौ, काठमाडौं । राजदूत नियुक्ति कहिले हुन्छ भनेर परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सोध्यो भने अब उनले जवाफ दिन छाडिसकेका छन् ।
चैतमै राजदूत नियुक्ति गर्ने भनेर मापदण्ड बनाएर दलका शीर्ष नेतालाई बुझाएका पाण्डेले यसबीचमा परराष्ट्रका ६ जना सहसचिवको नाम राजदूतका लागि पटक-पटक मन्त्रिपरिषदमा पनि पेश गरे ।

सबैतिरबाट हरेश खाएका पाण्डे भन्छन्-यो राजदूत नियुक्ति भन्ने कुरा मेरो बशमा रहेन, कहिले हुन्छ भनेर मलाई होइन प्रधानमन्त्रीलाई सोध्नुस् ।

मन्त्रीको अपमानबोध

राजदूत नियुक्तिका लागि छलफल गर्न भनेर प्रधानमन्त्रीले आफ्नो पछाडि कांग्रेसका दुई मन्त्री डा. रामशरण महत र मिनेन्द्र रिजाललाई खटाइदिएपछि पाण्डेले अपमानबोध गरेका छन् ।

उनले यो कुरा एमाले अध्यक्ष केपी ओलीलाई समेत सुनाएपछि ओलीले प्रधानमन्त्रीसँग पनि कुरा गरेको स्रोतले जनाएको छ । ‘आफ्नो मान्छे पार्नु पर्ने भए प्रधानमन्त्रीले सिधै मलाई भने हुने, किन मेरा पछाडि सुराकी खटाउनु ? पाण्डेको गुनासो उधृत गर्दै उनी निकट स्रोतले भन्यो ।

को-को थिए सिफारिसमा ?

मन्त्री पाण्डेले बरिष्ठता र कार्यक्षमताका आधारमा निर्माण गरिएकिो मापदण्ड अनुसार परराष्ट्रका ६ सहसचिवको नाम मन्त्रिपरिषदमा लगेको थिए ।
तर कांग्रेसले मापदण्डका आधारमा छनोट गरिएको करिअर डिप्लोम्याटको नाममा किचलो निकालेर नियुक्ति प्रक्रिया रोकेका आरोप उनले लगाएका छन् ।desire-to-be-a-ammbasador

बिगतमा राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाका ५० प्रतिशत र राजनीतिक नियुक्ति ५० प्रतिशत समेट्ने सहमति कांग्रेस एमालेबीच भएको थियो ।
सोही अनुसार मन्त्रीले बरिष्ठताका आधारमा खगनाथ अधिकारी, दिपक धिताल, अर्जुनकान्त मैनाली, अम्बिका लुइटेल, कालिप्रसाद पोखरेल र अमृत राईको नाम राजदूतका लागि प्रस्ताव गरेका हुन् ।

कांग्रेसको अर्कै नाम

तर, परराष्ट्रकै अन्य सहसचिवले राजनीतिक पावर भिडाए । कांग्रेसका मन्त्रीले दुर्गावहादुर क्षेत्री, यज्ञ हमाल र रमेश खनालको नाममा अडान लिएको स्रोतले जनाएको छ ।

क्षेत्रीको नाम राजदूतको सूचीमा पार्न प्रधानमन्त्री सुशील कोइरालाले पनि दबाब दिएको पाण्डे निकट स्रोतले जनाएको छ ।

पाण्डेले भने क्षेत्री सबैभन्दा कनिष्ठ सहसचिव भएकाले मापदण्ड मिचेर राजदूत बनाउन नसकिने जवाफ दिएका थिए ।

कांग्रेसका एक मन्त्रीले भने परराष्ट्रले प्रस्ताव गरेका सहसचिव अधिकांश एमाले निकट भएको भन्दै यसमा सहमति हुन नसक्ने बताए ।

क्षेत्रीको नाममा असहमति

नेपालको कुटनीतिक सम्बन्ध रहेका देशमध्ये ३२ देशमा राजदूतावास छन् । ती मध्ये १६ देशमा राजदूत छैनन् ।
हाल राजदूत रहेका १६ मध्ये १० ठाउमा करिअर डिप्लोम्याट र ६ ठाउँमा राजनीतिक नियुक्तिबाट गएका राजदूत छन् ।

अब नियुक्ति गर्दा ६ करिअर र १० राजनीतिक नियुक्ति गर्ने तयारी छ । कांग्रेसले भनेका सहसचिवलाई पनि थप्ने हो भने करिअर डिप्लोम्याट ८ जनालाई राजदूत बनाउनुपर्ने मन्त्री पाण्डेले बताएका छन् ।

उनको यो प्रस्ताव पनि कांग्रेसले मानेको छैन । प्रधानमन्त्री सहितका कांग्रेस मन्त्रीले प्रस्तावित नामबाट कम्तिमा एकजना हटाएर क्षेत्रीलाई थप्न दबाब दिएको स्रोतले जनाएको छ ।

भारत, अमेरिका, बेलायत, दक्षिण अफ्रिका, थाइल्याण्ड, जेनेभा, क्यानडा, जर्मनी, इजिप्ट, कतार, कुवेत, श्रीलंका, ब्राजिलमा राजदूत छैनन् ।
त्यस्तै फ्रान्समा मोहनकृष्ण श्रेष्ठ फर्किएपछि खाली भएको छ, भने बहराइन र ओमानमा राजदूतावास स्तरोन्नति गरिएको छ ।

सहसचिवको लबिङ

परराष्ट्रका सहसचिवहरुनै आफू राजदूत बन्न अर्काको विपक्षमा राजनीतिक लबिङमा लागेकाले मन्त्री अप्ठेरोमा परेका छन् ।
उनले केही दिनअघि राजदूतका आकांक्षी सहसचिवहरुलाई बोलाएर ‘नेताहरुको घरदैलो गर्दैमा राजदूत बन्न नसक्ने’ चेतानवनी दिएका थिए ।

मन्त्रीको राजनीतिक उत्तरार्ध

पाण्डेले आफ्नै पार्टीका नेताहरुलाई समेत आफू राजनीतिक जीवनमा उत्तरार्धमा रहेकाले विवादस्पद र विवेक बन्धक राख्ने कुनै काम नगर्ने स्पष्ट पारेका छन् ।

पाण्डेको भनाइ उधृत गर्दै स्रोतले भन्यो-‘एमालेको नया बिधान अनुसार ७० वर्ष पुगेपछि सक्रिय राजनीति गर्न पाइँदैन, अर्को महाधिवेशनसम्म म ७० पुगिसक्छु त्यसैले कसैको दबाब र प्रलोभनमा परेर गलत काम गर्न दिन्न ।’

राजदूत नियुक्तिमा सहमति जुट्ने सम्भावना कम हुँदै गएपछि मन्त्री पाण्डे निराश बनेका छन् । यसैबीच सार्क सम्मेलनअघि राजदूत नियुक्तिनै नहुने सम्भावना बढेको स्रोतहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment