Comments Add Comment

सभासद फुँयाल कोदाली बोकेर सडकमा निस्किएपछि

Rameshower-kodali-khandai

२९ भदौ, काठमाडौं । आफ्नो क्षेत्रबाट निर्वाचित सभासद रामेश्वर फुँयाल एकाएक हातमा कोदाली बोकेर हिलो सडकमा निस्किएपछि काठमाडौंको नयाँपाटीका बासिन्दा छक्क परे ।

दशैंअघि नै नयाँपाटीको पाखाथोकमा गाडी ल्याएरै छाड्ने भन्दै सो क्षेत्रका सभासद फुँयाल कोदाली बोकेर हिँडेपछि उनलाई करीव दुई सय स्थानीय जनताले साथ दिए ।

जनता पछि लागेपछि फुँयालले भने-‘जनप्रतिनिधि भएपछि आफैं अघि सरेर जनतालाई श्रमदानमा लगाउन सक्नुपर्छ, सरकारको मुख ताकेर कहिल्यै विकास हुँदैन ।’

राजधानीमै रहेर पनि बत्तीमुुनिको अँध्यारो बनेको नयाँपाटी गाविसको पाखाथोकमा दशैंअघि नै सार्वजनिक सवारी साधन पुर्‍याउने अभियान शनिबारदेखि शुरु भएको छ ।

Rameshower-kodali-khandai-1

जोरपाटी र गोकर्ण नजिकै रहे पनि यो गाउँका बासिन्दाले अहिलेसम्म गाडी सुविधा पाएका छैनन् । नयाँ पाटी गाविस वडा नम्बर-९ को पाखाथोक बस्तीमा दशैंअघि नै गाडी गुडाउन जनस्तरबाटै पहल शुरु भएको हो ।

गोकर्णेश्वरदेखि माइती नेपाल हुँदै पाखाथोक पुग्ने सडकलाई जनश्रमदानका माध्यमबाट मर्मत र सुधार गर्ने कामको थालनी काठमाडौं क्षेत्र नम्बर ३ का सभासद फुँयालले गरेका छन् ।

सडक मर्मत सकिएपछि गाउँलेले व्यवस्था गरेको भुटेको मकै र भटमास सभासद र स्थानीयवासीले सँगै बसेर खाएका थिए ।

तीन किलोमिटर सडक सुधार गरी असोज १ गतेदेखि नै यातायात सेवा सञ्चालन गर्ने तयारी भइरहेको सभासद फुँयालले बताए । यो मार्गमा यातायात सञ्चालन भएपछि गोकर्णेर्श्वर, बालुवा र नयाँ पाटीका बासिन्दाले सुविधा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment