Comments Add Comment

सभासदले प्रश्न गरे-हामी दशैंमा घर जान नपाउने ?

३१ भदौ, काठमाडौं। दशैंमा घर जान गाडी र हवाइजहाजको टिकट नपाएर सर्वसाधारणले गुनासो गरिरहेका बेला संविधानसभाका सभासदहरुले पनि उस्तै समस्या झेल्नु परेको खुलासा भएको छ ।

संसदको विकास समितिको मंगलवारको बैठकमा केही सभासदले आफूले टिकट नपाएर घर जान नपाउने अवस्था सिर्जना भएको गुनासो गरे । “माननीय सभापति ज्यू ! दसैँमा घर जान पाइएला की नपाइला ? सदन कहिले स्थगित हुने हो । अत्तो पत्तो छैन । घर जान कहाँबाट बसको टिकट पाइएला ? मैले त आजसम्म टिकट पाएको छैन । सर्वसाधारण जनताको के हालत होला ? सभासद कल्पना सोबले प्रश्न गरिन् ।

उनको भनाइ नसकिदै सांसद भक्तबहादुर विश्वकर्मा (खपाङ्गी)ले भने- सभापति ज्यू, मैले जनताको कुरो गर्ने हो कि आफ्नो कुरा राख्ने हो । जनताको कुरो गर्ने हो भने दसैँमा “घर जान टिकट मिलाइदिनु पर्‍यो माननीयज्यू” भनेर मोबाइलमा फोन र सन्देश आउने सङ्ख्या दिनको ५०० भन्दा बढी काटयो । सांसदका लागि छुट्टै व्यवस्था मिलाइदिनुपर्‍यो,” उनको माग थियो । 

समितिका अधिकांश सदस्यले दसैंलगायत चाडपर्वका समयमा घर जान आउन हवाई तथा बसको टिकट नपाएको गुनासो राखेका थिए ।  “टाढा टाढाका मात्र होइन, राजधानी वरिपरि जिल्लामा दसैँका समयमा आवतजावत गर्न यातायातको असुविधा हुन्छ, नजिक जिल्लामा किन थप बसको व्यवस्था नगरिएको हो ?” – धादिङका नेकपा -एमाले)का सांसद गुरु बुर्लाकोटी भन्दै थिए ।

समितिले दसैँ, तिहार, छठ, बकर इद जस्ता चाडपर्वका समयमा सडक आवतजावतलाई कसरी सुरक्षित तथा सरल बनाउने भन्ने विषयमा छलफल आयोजना गरेको थियो ।

छलफलमा सहभागी यातायात व्यवस्था विभागका कामु महानिर्देशक शरद अधिकारीले दसैँमा घर जाने सर्वसाधारण जनताका लागि टिकट समाप्त नभएको जानकारी दिए ।

यातायात व्यवसायीले यही भदौ २५ गतेदेखि टिकटको अगि्रम बुकिङ खुला गरेका छन् । अहिलेसम्म एक लाख १० हजारले टिकट लिइसकेका छन् । फूलपाती, अष्टमी, महानवमी र बडादसैँका दिन पालो पर्खेर जानेहरुका लागि टिकटको बिक्री बन्द भएको यातायात कम्पनीले जनाएका छन् ।

“पालो पर्खेर जानेबाहेक थप यातायातको साधनका टिकट बन्द भएको छैन, टिकट नपाए मलाईं भन्नुहोस्, म टिकटको व्यवस्था मिलाउने प्रयास गर्छु,” कामु महानिर्देशक अधिकारीले भने ।

हाकिमका कुरा पत्याउन नसकेका सांसदहरुले पूरक प्रश्न राखे – तपाईंले भनेका कुरा बस व्यवसायीले टेर्लान त ? कति बस थप गर्ने तयारी गर्नुभएको छ अहिले ?

कामु महानिर्देशक अधिकारीले ५० दिनको यातायात कार्ययोजना बनाई लागू गरिएको र चार दिनका लागि टिकटको अत्यधिक माग रहेको जानकारी दिए ।

थप बस सञ्चालनमा ल्याउन तयारी भइराखेको र हेल्प डेस्क स्थापना गरी यातायात सेवा सुलभ बनाउने कार्य भइरहेको उनको भनाइ थियो ।

महानगरीय ट्राफिक कार्यालय रामशाहपथका अनुसार गत वर्ष ती चाडपर्वमा करिव १९ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष करिब २५ लाख बाहिरिने अनुमान गरिएको छ ।  कार्यालयले ती मानिसका लागि न्यूनतम ६ हजार बस थप गर्नुपर्ने जनाएको छ । तर अहिले मुश्किलले सातसय बस सञ्चालनमा रहेका छन् ।

बैठकमा महानगरीय ट्राफिक कार्यालय रामशाहपथका प्रमुख केशव अधिकारीले सुरक्षित यात्रालाई आˆनो कार्यालयले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

क्षमताभन्दा बढी यात्रु राख्ने, टाढाको दूरीमा दुईजना चालक नराख्ने र मदिरा सेवन गरी यातायात सञ्चालन गर्नेमाथि कडा कारबाही गर्ने नीति अख्तियार गरिएको उनले बताए ।

बैठकले दसैँ, तिहार, छठ, बकर इदजस्ता चाडपर्वका समयमा सुरक्षित यात्रा, सुरक्षित सडक बनाउन सरकारलाई निर्देशन दिएको छ । यसका लागि अनुगमन समिति गठन गर्नेसमेत निर्णय बैठकले गरेको छ ।

समितिका सभापति रवीन्द्र अधिकारीले चाडपर्वका अवसरमा घर जान टिकटको सास्ती व्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गर्न जरुरी रहेको बताए । सिन्धुली १ का सभासद गणेश पहाडीले अन्तिममा आएर मात्र तात्ने प्रवृति अन्त हुनुपर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment