Comments Add Comment

अधिकारीको निधन : आँगनमा लास राखेर कतिञ्जेल विवाद गर्ने ?

अनलाइनखबर टिप्पणी

७ असोज, काठमाडौं । सशस्त्र द्वन्द्वकालमा माओवादीबाट मारिएका आफ्ना कान्छा छोराका हत्यारामाथि कारवाहीको माग गर्दै ३३० दिन अनशन बसेका नन्दलाल अधिकारीको निधन भएपछि सामाजिक सञ्जालमा प्रतिक्रियाको तरंग आएको छ । अधिकारीको शव शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । नन्दलालसँगै अनशन बसेकी गंगामाया वीर अस्पतालमै चिन्ताजनक अवस्थामा छिन् ।

तस्वीरः सुबोधराज प्याकुरेल
तस्वीरः सुबोधराज प्याकुरेल

अधिकारीको निधन भएको एकघण्टा पनि नबित्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले टि्वट गरेर प्रधानमन्त्री सुशील कोइरालाको राजीनामा मागे । थापाले अधिकारीलाई सहीद घोषणा गरिनुपर्ने थप माग गरे ।

त्यसलगत्तै पूर्वप्रधानसेनापति रुकमाङगद कटवालले पनि दोषीलाई कारवाही गर्नुपर्छ भन्दै हतार-हतार टि्वट गरे । कतिपयले सामाजिक सञ्जालमा मानवअधिकारवादीहरुको आरती उतार्न थाले भने कतिपयले माओवादीको आरती उतारे ।

माओवादीको मौनता

एमाओवादी र माओवादीले चाँहि ‘मानवीय नाताले ‘ केही बोलेन । केही गरेन ।

माओवादीहरूले कमसेकम वक्तव्य निकालेर अधिकारीको निधनमा दुःख व्यक्त गरेको भए पनि हुन्थ्यो, त्यो पनि गरेनन् । अधिकारीप्रति माओवादीले पनि सहानुभूति राख्नुपर्थ्यो, जसरी उनीहरुले ज्ञानेन्द्र शाह बिरामी हुँदा महत्व दिए ।

यस विपरीत केही पूर्वमाओवादीले चाँहि हतारो गरेर मानवअधिकारकर्मीहरुलाई गाली गर्न भ्याए । अधिकारीको निधनको जिम्मा मानवअधिकारकर्मीले लिनुपर्छ भन्ने आरोपसम्म माओवादी कित्ताबाट आउन थाल्यो, जुन दुखद हो ।

नूरप्रसादको ढीपी

मृतक नन्दलाल अधिकारीका छोरा नूरप्रसादले अब बुबाको शव उठ्दैन, सुशील कोइराला प्रचण्ड र बाबुरामको पनि सँगै उठ्छ भन्ने प्रतिक्रिया दिए ।

न्यायको खोजीमा लामो समय अनशनमा बसेर नन्दलाल अधिकारीले मृत्युवरण गरेपछि मानिसहरुमा यस्ता प्रतिक्रिया आउनु अस्वाभाविक होइन । यो मानवीय सम्वेदनाको एउटा पाटो पनि हो ।

अब के गर्ने ?

अधिकारी दम्पतीको अनशन प्रकरण एउटा जटिल बहसको विषय बन्दै आइरहेको छ । नन्दलालको मृत्य भएपछि यसले अर्को जटिलता थपेको छ ।

अधिकारी कसले गर्दा मारिए ? यसमा कोको दोषी छन् ? यस विषयमा अहिले विवाद गरेर बस्दा अन्तराष्ट्रिय समुदायले अचम्म मान्न सक्छ । घरमा लास ढलेपछि आँगनमा बसेर झगडा गर्दा छिमेकीलाई कस्तो लाग्छ ? देशको सवालमा पनि यही कुरा सत्य हो ।

सशस्त्र द्वन्द्वमा नन्दलाल अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीजस्तै धेरै नागरिकहरु मारिए । मारिनेहरुमा कैयौं निर्दोष थिए, निहत्था थिए । तर, प्रमुख राजनीतिक दलहरुले तिनको छानविनका लागि ६० दिनभित्र सत्य निरुपण आयोग बनाउँछौं भनेको ८ वर्ष बितिकेको छ ।

बेलैमा त्यस्तो आयोग बनिदिएको भए अधिकारी दम्पतीले अनसन बसेर हत्यारालाई कारवाहीको माग गर्नुपर्ने थिएन कि ?

अहिले गल्ती भइसकेको छ । तीनै दलले पालैपालो सत्तामा पुग्ला पनि आयोग नबनाएर गल्ती गरिसकेका छन् । पहिले गृहयुद्ध गरेर निर्दोष मानिसको हत्या गरेर गल्ती गरे । त्यसपछि सत्य निरुपण आयोग नबनाएर गल्ती गरे । यिनै गल्तीहरुका कारण अधिकारी दम्पती अनसन बसे, नन्दलालको निधन भयो ।

अब फेरि नन्दलालको शवमाथि नेताहरुले फेरि उसैगरी राजनीति गर्न र जग हँसाउनु सही हुँदैन ।

नन्दलालको मृत्युलाई एउटा दुखद अपवाद मान्दै समस्या समाधानका लागि सबैले लाग्नुपर्छ । सत्तापक्ष, माओवादी, मानवअधिकारवादी र परिवारका सदस्यले समेत के गर्दा निकास हुन्छ, त्यसो गरेर अधिकारीको लास उठाउनुपर्छ र सदगति गर्नुपर्छ ।

हिजो माओवादीलाई सेना र प्रहरीले पक्राउ गर्दा मानवअधिकारकर्मीलाई गाउँमा बोलाइन्थ्यो । माओवादीलाई हिजो तिनै मानवअधिकारवादी चाहिएको थियो । शान्ति प्रक्रियापछि तीनै माओवादी र मानवअधिकावादीको सम्बन्ध बिग्रियो ।

अधिकारी दम्पती प्रकरणमा पनि यस्तै भयो । अधिकारी दम्पतीलाई अनसन बस्न कतिपयले उक्साए पनि होला । तर, यसै विषयलाई लिएर मानवअधिकारवादीलाई ‘हत्यारा’ भन्दै गाली गर्नु गैरजिम्मेवारपूर्ण कार्य हो ।

मानवअधिकारकर्मीहरुले अधिकारी दम्पतीको अनसन तोडाउनका लागि पटक-पटक प्रयास गरेका छन् । तर, नन्दलालका छोरा नूरप्रसादले नमान्दा अनसन नतोडिएको तथ्य यसअघि नै बाहिर आइसकेको छ ।

तर, यसो भनेर नन्दलालका छोरा नूरप्रसादलाई पनि गाली गर्नु सही हुँदैन । आफ्नो भाइ मारिएको र अनशनमै बुबाको निधन भएको स्थितिमा नुरप्रसादको ठाउँमा हामी भएको भए कस्तो हुन्थ्यौं होला ? यो हिसाबले सोचेर नुरप्रसादमाथि सहानुभूति प्रकट गर्न र नन्दलालको सदगति कार्यलाई सहज बनाउन आवश्यक छ ।

नूरप्रसाद अधिकारीले पनि समाज, देशको भावना अनि र समयको गति अनुसार चल्नुपर्छ । हिजो बुबाआमालाई अनशन तोडाएर न्यायिक लडाइँ लडौं भन्ने मानवअधिकारकर्मीहरुको आग्रहलाई नुरप्रसादले नमान्दा नन्दलालको निधन भयो । अब आमाको अनशन तोडाउन नुरप्रसादलाई पनि गाह्रो पर्न सक्छ ।

अब फेरि नूरप्रसादले आफ्ना पिताको सदगतिलाई बेवास्ता गरे भने यसले अधिकारी परिवारमाथि सहानुभूति राख्नेहरुलाई अपमान गरेको ठहरिनेछ । तर, राज्यले मानवीय नाताले उनका केही आग्रह छन् भने समाधान गरिदिनुपर्छ ।

तर, राज्यका कारणले नन्दलाल अधिकारी मृत्यु भएको भन्दै राज्यलाई गैरजिम्मेवार भनिहाल्ने ठाउँ पनि रहेन । खिलराज रेग्मीदेखि वामदेव गौतमसम्मले अनशन तोडाउने प्रयास गरेकै हुन् । अधिकारीको मागबमोजिम माओवादी कार्यकर्तालाई पक्रेर मुद्दा पनि चलाइएको हो । तर, नन्दलालले मृत्यु नै रोजे ।

अब असली अर्थमा नन्दलालको आत्मालाई शान्ति दिने हो भने चाँडै सत्य निरुपण एवं बेपत्ता छानविन आयोग गठन गरेर द्वन्द्वकालीन घटनाहरुको निश्पक्ष छानविन गर्न र दोषी देखिएकालाई कारवाही गर्न अनि पीडितलाई न्याय दिन राज्यले ढिलाइ गर्नु हुँदैन ।

हिजो नहुनुपर्ने द्वन्द्व भयो । नमारिनुपर्ने मान्छे मारिए । नमर्नुपर्ने मान्छे मरे । अब त कमसेकम हामी मिलौं । आपसी एकता र समझदारीको बाटो खोजौं । न्यायको बाटो खोजौं । आँगनमा लास राखेर परिणामविहीन विवाद नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment