Comments Add Comment

खलंगामा हमला : गुलाफको फूललाई भाङ्ग्राको टोपी !

बेथर

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोवेल शान्ति पुरस्कार पाएपछि प्रतिक्रिया दिएका थिए-‘मैले केही गरेर भन्दा पनि केही गरोस् भन्ने प्रेरणा लागि पुरस्कार पाएको अनुभूति गरेको छु ।’

sata-ko-bookनोबेल पुरस्कार कुनै राम्रो कामको कदरका लागि सम्बन्धित व्यक्तिलाई दिइन्छ । तर, नेपाली साहित्यमा दिइने मदन पुरस्कार भने व्यक्तिलाई नभई कृतिलाई दिने परम्परा छ ।

मदन पुरस्कार गुठीले यस वर्षको पुरस्कार ‘खलंगामा हमला’ कृतिलाईलाई दिएको हो या लेखिका राधा पौडेलले समाजमा खेलेको उदाहरणीय भूमिकालाई दिएको हो ? यसमा दुविधा उत्पन्न हुन्छ, पुस्तक पढिसकेपछि ।

पुरस्कारको घोषणा हुनासाथ कतिपयले मदन पुरस्कार एनजीओलाई दिइयो भन्ने गुनासो समेत गरे । कतिपयले कहिल्यै नाम नसुनिएकी र साहित्यकारको रुपमा चर्चामै नआएकी राधालाई पुरस्कार दिइएको प्रतिक्रिया व्यक्त गरे ।

तर, ‘खलंगामा हमला’ किताब पढिसक्दा मदन पुरस्कार लगत ठाउँमा गएन भन्ने अनुभूत हुन्छ । तर, पाठक कहाँनेर झुक्किन्छ भने मदन पुरस्कार राधा पौडेलले पाएकी हुन् या उनको कृतिले ? कतै यो पुरस्कार जुम्लाको दुःखले त पाएको होइन ?

भनिन्छ, बदनियतले खनिएको भए पनि स्वर्ग जाने बाटोले राम्रै ठाउँमा पुर्‍याउँछ । राधा पौडेलकै शब्दअनुसार राम्रो कामका लागि प्रक्रिया मिच्नु नाजायज हुँदैन । मदन पुरस्कार गुठीले जुन निर्णय गर्‍यो, यसको नतिजास्वरुप अब पाठकले ‘खलङ्गामा हमला’ पुस्तक खोजी खोजी पढ्ने छन् । यसो गर्दा उनीहरुलाई कर्णालीवासीको कहर थाहा हुनेछ । आफ्नो देशबारे थाहा हुनेछ ।

शायद यसो पनि भन्न सकिन्छ, यसपालिको मदन पुरस्कार अरु कसैले होइन, कर्णालीले पायो । जुम्लाको आँशुले पायो ।

तैपनि स्मरण गर्नेपर्ने हुन्छ, अहिलेसम्म मदन पुरस्कार लेखकलाई होइन, कृतिलाई दिने चलन थियो । यही परम्पराका कारण एकै व्यक्तिले तीनपटकसम्म पुरस्कार पाएका थिए । यसपालि परम्परा तोडियो । प्रक्रिया मिचेर काम गरियो ।

लेखकीय गहिराइ र भाषा प्रस्तुतीको हिसाबले पुस्तक त्यति बलियो छैन, जति बलियो भोगाइको हिसाबले छ ।

के छ पुस्तकमा ?

khalanga-ma-hamalaमदन पुरस्कार प्राप्त खलंगामा हमला २१५ रुपैयाँ पर्ने १३५ पृष्ठको सानो किताब हो । छिटो पढ्न सक्नेले एकै बसाइमा यो किताब पढेर भ्याउँछ । छोटो र सरल भाषाको यो किताव द्वन्द्वकालका बेला जुम्लामा स्वास्थ्य सेवामा खटिएकी (हाल एनजीओकर्मी) एउटी नर्स राधा पौडेलको संस्मरण हो ।

पुस्तकमा सुरु र अन्त्यका दुई उपशीर्षक बाहेक ९ वटा उपशीर्षक छन् । बा हामी कति गरीब ? उपशीर्षकमा पौडेलले आफ्नो परिवार लमजुङबाट चितवन बसाइँ आएको र किशोरावस्थामा आफ्ना पिता जुम्ला पुगेको संस्मरण लेखेकी छन् । आफूले बालाई हामी कति गरीब छौं भन्दा बाले जुम्लाका मानिसजति आफूहरु गरीब नभएको बताउँछन् ।

दोस्रो प्रकरणमा उनले मेरो प्यारो जुम्ला उपशीर्षकमा जुम्लाको दुख र सम्भावनाहरुको वर्णन गरेकी छन् ।

तेस्रो प्रकरणमा उनले ‘त्रासमा जीन्दगी’ उपशीर्षकमा जुम्लाको खलंगामा माओवादी जनयुद्धकालमा कस्तो त्रास र डर लिएर जनता बाँचेका थिए भन्ने उल्लेख गरेकी छन् । यस्तो मनोदशा जुम्लाको मात्रै नभएर देशैभरि यस्तै थियो ।

तत्कालीन माओवादीले जुम्लाको सदरमुकाम खलंगामा हमला गरेको रात उनी जिल्ला प्रहरी कार्यालयकै सामुन्नेमा रहेको सम्झना होटेलमा थिइन् ।
माओवादी र राज्यपक्षवीच दोहोरो लडाइँ भइरहेको रात सदरमुकाममा रहेका सर्वसाधारणको मनोदशा कस्तो हुँदोरहेछ भन्ने त्यसमा देख्न पाइन्छ ।
यही खलंगामा हमला र त्यसपछि लासको लस्करको दृश्यहरुलाई उनले पुनर्जन्म, पहलिो दिन, दोस्रो दिन, तेस्रो दिनमा उल्लेख गरेकी छन् ।
खलंगा हमलाको पाँचौं दिन उनी उद्धारका लागि आएका कर्णाली एयरको विमान चढेर नेपालगञ्ज, काठमाडौं हुँदै चितवनस्थित घर पुगिन् ।

फेरि जुम्ला

खलंगाको आक्रमण ब्यहोरेर फर्किएकी राधा पौडेल फेरि जुम्ला गइन् । त्यहाँ उनले गैर सरकारी संस्था गठन गरेर काम गर्न थालिन् । बच्चाको हातमात्रै निस्किएर उपचार नपाई मरेका सुत्केरीहरु देखेकी उनले आथिएक सहयोग उठाएर जुम्ला अस्पतालमा अपरेशन कक्ष बनाइन् । विकट जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा लागिन् ।

फेरि जुम्ला र अन्त्यमा राधिकाले आफ्नो एनजीओले केके गरिरहेको छ भन्ने ‘विज्ञापन’ गरेकी छन् । र, यो विज्ञापनले पनि मदन पुरस्कार पाएको छ । जुम्लाबासीको पक्षमा काम गरेवापत यसअघि नै उनले वुमन पिस मेकर-२०१२ र एन-पिस अवार्ड-२०१२ पाइसकेकी छन् ।

लेखाइ सरल तर, सतही पनि

राधा पौडेलको लेखाइ सरल र सरस छ । तर, साहित्यिक भन्दा पनि अलि ठाडो शैली देखिन्छ ।

यद्यपि सरल भाषामै उनले मर्मस्पर्शी अभिव्यक्ति दिएकी छन् । पुस्तक पढिसक्दा राधा पौडेल एउटी दृढ इच्छाशक्ति भएकी युवतीका रुपमा प्रस्तुत हुन्छिन् । पुस्तककी नायिका नै उनै हुन् । कथानक सबै उनकै भोगाइ हो । तर, संस्मरणात्मक पुस्तक फिक्सन पो हो कि जस्तो अनुभूति हुन्छ पढिसक्दा ।

पुस्तकमा ‘आम्मामा’ भन्ने शब्द ठाउँ, कुठाउँमा अलि बढी नै प्रयोग भएको छ ।

गुलाफको फूललाई भाङ्ग्राको टोपी

पुस्तकको शीर्षकले पाठकलाई सुरुमा भ्रम पार्छ । ‘खलंगामा हमला’ भनिसकेपछि पाठकलाई खलंगा आक्रमणको कहानी लेखिएको होला भन्ने पर्छ । अझ पुस्तकको आवरणमा भग्न घरको तस्वीर देख्दा यो कुनै नर्सको डायरी नभई छापामार डायरीजस्तो लाग्छ ।

पुस्तकमा लेखिकाले माओवादीलाई न प्रशंसा गरेकी छन्, न गाली । राज्य पक्षले खलंगालाई गरेको उपेक्षा र कामचोर सरकारी कर्मचारीको धतुरो झारिएको छ ।

तर, पुस्तकको शीर्षक सार्थक देखिँदैन । यस्तो शीर्षकले राम्रो गुलाफको फूललाई भाङ्ग्राको पातले छोपेजस्तै भएको छ । खलंगामा माओवादीले गरेको हमला र यसको सकारात्मक नकारात्मक पक्षबारे नबोली यो विषयलाई पुस्तकको केन्द्र बनाइएको छ । यसले गर्दा पुस्तकले सुन्दररुपमा उठाएका अन्य सामाजिक पक्षहरुलाई ओझेलमा पारिदिएको छ ।

कतिपयले त के पनि ठान्छन् भने कतै मदन पुरस्कार माओवादीविरोधी लेखनलाई त दिइएको हैन ? पुस्तकको शीर्षक हेर्दा त्यस्तै देखिन्छ । तर, वास्तविकता त्यस्तो भेटिँदैन । पुस्तकको निश्कर्षमा जुम्लाले दुःख पाउनुको एकमात्रै कारक राज्य नै हो ।

‘साइड इफेक्ट’को खतरा

पुस्तकको साइड इफेक्ट पनि छ ।
कर्णालीका जनतालाई एनजीओ/आइएनजीओले बिगारेको पनि त छ । कर्णलीको दुःखको व्यापार गरेर धेरैले शहरमा महल ठड्याएका छन् । एनजीओले समाजमा पार्ने दुस्प्रभाव के हो भने यसले जनतालाई परमुखापेक्षी बनाइदिन्छ ।

कर्णालीबासीलाई अर्काको मुख ताक्ने बनाइदिने खतरा किताबमा छ । कर्णाली आफैं उठ्नुपर्छ, चितवनले उठाएर हुँदैन ।

पुस्तक पढिसकेपछि….

पुस्तक पढिसक्दा मनमा केही प्रश्न उत्पन्न हुन्छन् :
एक- पुस्तकको आवरणमा भत्केको घर राखेर माओवादीकरण गर्नुको साटो त्यहाँ जुम्ली महिलाको तस्वीर देख्न पाए कस्तो हुँदो हो ?

दुई- पौडेलले खलंगा बाहेकको गाउँ डुलेको चर्चा गरेकी छन्, तर ती गाउँका नाम र त्यहाँ भोगेको दुःखका विषयमा दुईचार शब्द पढ्न पाए हुन्थ्यो । पुस्तकमा जुम्ला बाहेक गाउँको दृश्य किन आउन सकेन ?

तीन- ‘आम्मामा !’ नेपालभित्रै यस्तो वस्ती ? एकपटक कर्णाली जानै पर्ने ठाउँ रहेछ सबै नेपालीले ।

चार- कर्णालीको मुहार फेर्ने विकल्प के हो ? अनि हाम्रो भूमिका र दायित्व के हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment