Comments Add Comment

दसैंका लुगा किन्न कोही सिंगापुर, कोही रत्नपार्क !

dashain-bazaar26
१३ असोज, काठमाडौं । तपाई आफूलाई चाहिने समान किन्न कहाँ जानुहुन्छ ? काठमाडौंको रत्नपार्क ? नेपालमै खुलेका सपिङ मल या विदेश ?
गत महिना राजधानीको कलंकीमा भाटभटेनी सुपरमार्केटको ‘आउट लेट’ खुल्दा उपभोक्ताको भीड यति ठूलो लाग्यो कि भीडलाई व्यवस्थित गर्न भाटभटेनीका सुरक्षा गार्डलाई हम्मे-हम्मे पर्‍यो ।

सुपरमार्केटमा देखिएको भीडले नेपालीहरुको ‘सपिङ कल्चर’मा परिवर्तन हुन लागेको संकेत दिन्छ । यद्यपि रत्नपार्क लगायतका फुटपाथमा फिँजाइएका पसलहरुमा पनि मानिसको भीड घटेको छैन ।

‘पहिला रत्नपार्कमा सपिङ गर्ने उपभोक्ता अहिले न्यूरोड, सुन्धारामा सपिङ गर्छन्, पहिला त्यहाँ सपिङ गर्नेहरु दरबार मार्ग, सीटी सेन्टर, सीटीसी मल, भाटभटेनी, ब्लूबर्ड लगायतका सपिङ सेन्टर पुग्न थालेका छन् भने पहिला त्यहाँ सपिङ गर्नेहरु अहिले विदेशमा सपिङ गर्न थालेका छन्’ न्यूरोडका कपडा व्यवसायी विकास केसीले भने ।

अहिले नेपालीहरु ब्रान्डप्रति सचेत बन्दै गइरहेका छन् । उनीहरु आफुले रुचाएको ब्रान्ड खोजी-खोजी खरिद गर्ने गर्छन् । यसले गर्दा विदेशका प्रख्यात ब्रान्डहरु नेपाल भित्रिने क्रम बढ्दो छ ।

‘पछिल्ला दिनमा नेपालीहरुको सपिङ गर्ने संस्कार विकास भएको पाइन्छ’ सीटी सेन्टरका एक व्यवसायीले भने- ‘सबैखाले उपभोक्ताहरु यहाँ सपिङका लागि आएको देखिन्छ ।’

विदेशमा सपिङ

फेसनले मानिसको स्टाटस बताउने हुँदा पनि नेपालीहरु सपिङमा विशेष सतर्क हुन थालेको लक्ष्मी ग्रुपका निर्देशक अञ्जन श्रेष्ठ बाताउँछन् ।
‘मेरो सपिङ गर्ने निश्चित टाइम छैन, अवसर मिल्दा र आवश्यकता पर्दा सपिङ गर्ने गरेको छु’ श्रेष्ठले अनलाइनखबरसँग भने- ‘अहिले म प्रायः विदेशमा सपिङ गर्ने गरेको छु ।’

कामविशेषले मलेसिया, सिंगापुर लगायतका देशहरुमा जाँदा उतै सपिङ गरेर फर्किने गरेको उनले सुनाए । नेपालमा सपिङ गर्नुपरेमा उनी थापाथलीस्थि ब्लुबर्ड मल, दरबारमार्ग लगायतका सपिङ सेन्टर पुग्छन ।

‘कलेज लाइफमा मैले सुन्धारा, कमलाक्षी, न्यूरोडतिर सपिङ गर्ने गर्थें’ उनले विगत सम्झँदै भने- ‘तर, अहिले त सपिङ कल्चर धेरै परिवर्तन भइसकेको छ, अब सुविधायुक्त सपिङ सेन्टरको खोजी हुन थालेको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य सपिङका लागि सपरिवार बैंकक पुग्ने गर्छन् । नेपालमा सपिङ गर्नुपर्‍यो भने उनी भाटभटेनी सुपरमार्केट पुग्ने गर्छन ।

‘हाम्रो दसैं-तिहारमा छुट्टै संस्कार छ, हामी आफन्तलाई गिफ्ट दिनुपर्छ’ वैद्यले केही समय अगाडि अनलाइनखबरसँग भनेका थिए- ‘त्यसैले हामीले यो समयमा ठूलो सपिङ गर्ने गछौर्ं ।’ ब्रागेनिङ गर्न झन्झट लाग्ने हुँदा निश्चित मूल्य तोकिएको भाटभटेनीमा सपिङ गर्न जाने गरेको उनको भनाइ थियो ।

नेपालमै पाइन्छन् सस्ता कपडा

लुम्विनी जनरल इन्स्योरेन्सका सिइओ शेखर बरालले पनि भाटभटेनीमा सपिङ गर्ने गरेको बताए । सपिङका लागि दसैं-तिहार नै कुर्नुपर्ने अवस्था समाप्त भएको बताउँदै उनले जति बेला आवश्यक पर्छ, त्यति नै बेला सपिङ गर्ने गरेको उनले सुनाए ।

पहिलाजस्तो अहिले टालेका फाटेका लुगा लगाउनेहरु भेटिँदैनन् । छिमेकी मुलुक चीनका कारण अहिले नेपालमा सस्ता कपडा उल्लेख्य पाइन्छन् । पहिला फाटेका लुगा लगाउनेहरु अहिले रत्नपार्क, खुल्लामञ्च लगायतका सस्तो बजारमा पुग्ने गरेको पाइन्छ ।

मध्यम वर्गका नेपालीको क्रयशक्तिमा भएको वृद्धि र सपिङ कल्चरको विकासले पछिल्लो समय यस्ता सपिङ सेन्टरहरु भरिभराउ हुन थालेका छन् । नेपालीमा सपिङ गर्ने बानीमा परिवर्तन हुँदै जान थालेको बुझाइ छ ।

राजधानीमा प्रशस्त सपिङ सेन्टर र डिपार्टमेन्ट स्टोरहरु खुलेका छन् । उच्च तथा मध्यमवर्गीय ग्राहकलाई लक्षित गर्दै खोलिएका यस्ता सपिङ सेन्टरमा आकर्षण बढ्दो छ ।

यसो भन्दैमा न्यूरोड र सुन्धारातिर सपिङ गर्नेहरु घटेका छैनन् । खुल्लामञ्च, रत्नपार्क र अन्य सडकमा राखिएका पसलमा सपिङ गर्नेहरु झनै बढी देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment