Comments Add Comment

दसैं खर्चको दबाबले दिएको तनाव

विश्वमणि सुवेदी

अहिले हामी मध्यदसैंमा छौँ । यतिबेलासम्म मानिसहरु दसैं मान्नका लागि पुग्नुपर्ने ठाउँमा पुगिसकेका वा पुग्नै लागेका छन् । नेपाली समाजमा दसैं उल्लास र उमंगको वहाना हो । यही मेसोमा मानिसका आर्थिक अपेक्षा उच्च हुन्छन् । दसैंलाई उल्लास र उमंगसँग साट्ने साधनका रुपमा आर्थिक विषय जोडिने हो । यतिबेलासम्म मानिसका ती चाहना र अपेक्षा पूरा भए वा भएनन्, तर जे भए पनि एकथोक भइसकेको छ ।

Biswamani-subediपंक्तिकारको दुःख अर्कै छ । एकातिर देशका उपप्रधान तथा गृहमन्त्रीको सहयोगी हुनु हुनुका नाताले दसैं मुखमा आइसक्दा पनि अपेक्षाकर्ताहरुको एउटा अप्ठेरो सोधाइको जवाफ दिनुको हैरानी पंक्तिकारमा उत्तिकै छ । उनै उपप्रधान तथा गृहमन्त्री सबभन्दा वरिष्ठ उपाध्यक्ष रहनुभएको पार्टीको जनवर्गीय संगठनमा कोषाध्यक्ष हुनुका कारणले पनि अरुलाई उमंगका नाममा आएको दसैं पंक्तिकारलाई तनाव बनेर आएको हो ।

साथीहरुको निरन्तरको सरोकार हो, ‘गृहमन्त्रालयले दसैं खर्च बाँडेको छ रे । मेरो भागमा कति परेको छ, त्यो चाहियो ।’ यत्ति भन्नेलाई त जवाफ सजिलै छ, ‘यो हल्ला मात्रै हो, वास्तवमा त्यस्तो छैन ।’ तर, साथीहरु कतिसम्म अप्ठेरो कुरा गर्छन् भने पैसाकै नाममा ठाडै हप्कीदप्की गर्न भ्याउँछन् ।

एकजनाले भने, ‘वामदेवले मलाई दिनु भनेर पैसा दिएको छ रे, तिमीले खाइदियौं भन्छन् । भोलि तिमीलाई अनुहार देखाएर हिँड्नु छ कि छैन ?’ दिँदै नदिएको र हुँदै नभएको कुरामा मैले तनाव बोक्नु कति जायय हो ? (यो प्रश्न मैले आफैँसँग सोधेको हुँ ।)

एकजना आदरणीय सम्पादकज्यूले फोन गर्नुभयो र भन्नुभयो, ‘पोहोर–परार त तिमीले बोटल पनि दिएका थियौं । यसपालि तिम्रा नेता ठाउँमा छन्, खोइ केही छैन ?’ नभएको बोटल मैले कहाँबाट पुर्याउँ ?

मध्यमाञ्चलभित्रको एउटा जिल्लाका प्रेस चौतारी अध्यक्षले फोन गरे । भने, ‘लौ है कोषाध्यक्षज्यू, हजुरकै भर पर्या छु । यसो जिप्रकातिर केही गर्न भनिदिनुपर्यो ।’ मैले जवाफ दिएँ, ‘त्यस्तो केही पनि भनिँदैन र भनिदिनुपर्यो भनेर फेरि दोहोर्याएर फोन गर्नुहोला ।’ जवाफले उनको चित्त बुझेन ।

फेरि भने, ‘ह्या, तपाईं पनि के कुरा गर्नुहुन्छ, पोहोर–परार त अरु कमरेडहरुले त भनिदिएका थिए त ।’ मैले भने, ‘हामी आफैँ भ्रष्ट हुन खोज्ने, अनि प्रहरीले यति खायो र उति खायो भनेर तपाईं हामीले नै लेख्दै हिँड्नुपर्ने ? यस्तो दोेहोरो कुरा हुँदैन । आफूले गलत नगर्नुस् र उनीहरुका गलत कुरा देखिए बाँकी नराख्नुस् ।’ अन्तिममा उनले गाली गरे, ‘ठीकै छ सर, चौतारीको चुनाव आउला, हामीले पनि तपाईंलाई देखाउन जान्या छौँ ।’ उनी अझै केही भन्न खोज्दै थिए, तर तनाव झेल्न नसकेर मैले नै फोन काटेँ ।

एकछिनपछि एउटा एसएमएस आयो, हाम्रै संगठनको केन्द्रीय कमिटीकै पदाधिकारी साथीको । लेख्नुभयो, ‘गृहबाट के कस्तो भएको छ (?), यसो पाउँ न त ।’ तलका साथीहरुलाई सम्झाएर, बुझाएर वा हप्काएर थामथुम पार्ने एउटा कुरा भयो । तर, केन्द्रीय कमिटीकै पदाधिकारीले यस्तो सोधेपछि के भन्ने ?

मेरी श्रीमती पनि प्रेस चौतारीको अञ्चलस्तरकी नेता हुन् । साथीभाइलाई ‘वामदेवको पछि लागेर यसले अकूल सम्पत्ति जोडिसक्यो’ भन्ने भ्रम भएजस्तै कताकतै उनमा पनि भ्रम रहेछ क्यारे । आफू बेखर्ची भएको पीडा आफैँसँग छ । मानिसहरुमा व्याप्त भ्रमका कुरा अर्कातिर छन् ।

फूलपातीको अघिल्लो दिन श्रीमतीले गाली गरिन्, ‘तपाईंले पैसा कहाँ लुकाउनुभएको छ ?’ मैले भनेँ, ‘तलब र दसैं पेश्की ल्याएर तिमीलाई नै दिएको हो । अरु कुन पैसा सोधेको ?’ उनलाई पनि यो जवाफ किन चित्त बुझ्थ्यो र । फेरि बांगो मुख बनाउँदै कड्किइन्, ‘होला, होला, खुब तलब र दसैं पेश्कीमै भर पर्नुभा’होला । गृहमन्त्रालयमा लाइन लगाएर पैसा बाँड्या छ रे । कहाँ राख्नुभयो, त्यत्रो पैसा ?’

न गृहमन्त्रालयले पैसा बाँड्नु, न गृहमन्त्रीले नै पैसा दिनु । तर, एकोहोरो ‘हो कि हो’ भनेर नभएको कुरा भएजस्तो गरी सोधेको सोध्यै गर्न थालेपछि के हालत हुन्छ ? यो कुरा भोग्नेलाई मात्र थाहा छ ।

अस्ति मंगलबार श्रीमतीले यस्तो भनेपछि विरक्तिएर घरबाट निस्किएँ । सडक सुनसान छ । चिया पिउने पसलसम्म खुलेका छैनन् । प्रेस चौतारीको अफिस गएँ । साँचो खोल्दैमात्र थिएँ । घरबेटी दिदीले भनिन्, ‘ओहो भााइ, दसैंमा पनि अफिस खोल्नुभएको ?’ भनेँ, ‘के गर्नु दिदी, काठमाडौँमै दसैं मान्नुपर्ने । आफ्नै घरमा कति बसिरहनुभनेर यसो निस्किएको । शहर चकमन्न छ । त्यही भएर अफिसमा टाइमपास होला भनेर आएको नि ।’

उनले भनिन्, ‘हैन, बरु आउनुस् मेरोमा । चिया पिएर बसौँ ।’ समय काट्नु थियो । त्यसैले घरबेटी दिदीको चिया अफर स्वीकारेँ । दिदीले सुनाइन्, ‘तपाईंहरुको अफिसमा साथीहरु किन रिसाएको ?’ मैले अनभिज्ञता व्यक्त गरे । उनले सुनाइन्, ‘कोषाध्यक्षले त्यत्रो पैसा कमाएर हामीलाई एक पैसा दिएन भन्दै हिजो तपाईंको अफिसमा कुरा चल्दै थियो ।’ जुन तनाव झेल्न नसकेर श्रीमतीबाट भागेर म घरबाट हिँडे, अफिसकी घरबेटी दिदीले त्यही कुरा झिकेपछि त्यहाँँबाट पनि टाप कस्नुको विकल्प रहेन । भनेँ, ‘दिदी, त्यो सब हल्ला हो । चौतारीकै ऋण तिर्न नसकेर कत्रो टेन्सन छ ।

यो महिना तपाईंको घरभाडा पनि बेलामा तिर्न नसकिएलाजस्तो छ ।’ यसो भनेर म घडी हेर्दै भाग्न खोजेँ । उनकै पैसा बेलामा तिर्न नसकिने भनेपछि शायद उनलाई तनाव भयो होला । उठ्दाउठ्दै भनिन्, ‘सरकारमा १०–१० जना मन्त्री तपाईंहरुको पार्टीका छन् । तपाईंहरुलाई पनि पैसाको समस्या हुने भए अरु मान्छे कसरी बाँचेका होलान् ?’ म ‘पछि कुरा गरौँला दिदी’ भन्दै ढोकाबाट निस्किएँ । उनी छिटोछिटो बोल्न थालिन्, ‘बस्नुस् न भाइ, किन हिँडिहाल्नुभएको ? मैले केही नराम्रो पो भनेँ कि ?’ ‘होइन दिदी, होइन, मेरो त्यस्तो जरुरी काम आइलाग्यो’ भन्दै भर्याङ्गबाट झरेँ ।

मोटरसाइकल स्टार्ट गरेँ । तर, अब कहाँ जाऔँ ? अर्को तनाव शुरु भयो । बागबजारबाट भद्रकाली हुँदै सिंहदरबारतिर लागेँ । यसो सम्झिएँ, ‘अबचाहिँ बूढासँग मुखै फोरेर भन्नुपर्यो ।’ त्यहाँबाट सोझै पुल्चोकस्थित मन्त्री क्वार्टर गएँ । त्यहाँ सुनसान छ । सचिवालयमा शैलेन्द्र र सञ्जय मात्र छन् ।

मन्त्रीज्यू कुनै मिटिङ निस्किनुभएको थियो । त्यसैले त्यहाँ भएकै साथीहरुसँग गफिएर समय काट्ने सुर कसे । एउटा फोन कुनै टेलिभिजन च्यानलको चिफ क्यामेरा पर्सन हुन् उनी । भने, ‘सर, म कालिमाटी तिर हुन्छु, अलिक साँझखेर भेटौँ न ।’ साथीले खान–पिउन बोलाएर क्यार भनेर मख्ख परेको थिएँ । म ‘ठिकै छ’ भनेर उनलाई जवाफ दिन खोज्दै थिएँ । तर, उनले कुरा बिसाएनन् । भन्दै गए, ‘मलाई त रातोसातो होइन, कालो नै हुनुपर्छ है ।’ यति कुरा सुनेपछि मैले आफैँलाई धिक्कारेँ । थुइकक मेरो भाग्य, आफू बेखर्ची भएर हिँड्नु परेको छ । साथीहरु रातो, अर्थात् रेड लेबलले नभएर कालो, अर्थात् ब्ल्याक लेबल माग्ने भइसके । यसपछि फोन काटेँ मात्रै होइन, स्वीच अफ नै गरिदिएँ । पुल्चोकमा पनि बसिरहन मन लागेन ।

त्यहाँबाट निस्किएँ । तर, पुग्ने कहाँ ? बबरमहलतिर लागेँ । कलाकार नारद खतिवडासँग जम्काभेट भयो । कतै बसेर गफ गरौँ भन्दै हामी अनामनगरतिर लाग्यौँ । उनले हसाएपछि अलिक फ्रेस भएँ । मोबाइलको स्वीच अन गरेँ । बुज म्यासेजबाट खबर पाएँ, मोबाइलको स्वीच अफ गरेको आधा घन्टाभित्र १०८ वटा मिस्डकल आएछन् । नम्बरहरु चेक गरेँ, कालो, रातो, खामबन्दी सोध्नेबाहेक अरुको देखिनँ । फेरि फोन अफ गरेँ ।

खतिवडा हतारमा रहेछन् । हामी निस्कियौँ । निस्कँदा निस्कँदै नेकपा (एमाले), काठमाडौं जिल्ला कमिटीका अध्यक्ष निर्मल कुँइकेल देखिए । उनी त्यही कफीसपमा अर्को टेबुलमा बसेर केही कार्यकर्तासँग गफिँदै थिए । भन्दै थिए, ‘बरु, पशुपतिमा भजन गाएर बसिन्छ, गृहमन्त्रीलाई भेट्न उनको क्वार्टरमा जाने गल्ती अब गर्दिनँ ।’ उनीसँगै भएका एकजनाले सोधे । ‘किन कमरेड ?’ निर्मलले भने, ‘जिल्ला कमिटी, त्यो पनि काठमाडौँको अध्यक्षलाई पार्टीको वरिष्ठ उपाध्यक्षले गर्ने व्यवहार त्यस्तो हुन्छ भने यो पार्टी र नेता भनेर केका लागि मरिमेट्नु ।’ अब उनीसँग पनि बोलिसक्नु भएन । आफ्नै नेतालाई गाली गर्दैछन् । नकच्चरो जस्तो मुख किन देखाउनु भनेर नदेखेझैँ गरेर हिँडे । तर, उनले हेरिरहेका रहेछन् ।

बाहिर पुगेपछि आदेशात्मक शैलीमा बोलाए, ‘ओ कमरेड, यता आउनुस् ?’ म गएँ । अघिको कुरा नसुनेझैँ गरेर बसे । ‘ओहो, कतिबेला आउनुभयो कमरेड ?’ मैले सोधेको मैले के थिएँ, उनले जवाफ दिइहाले, ‘पल्लो टेबुलमा बसेर ओल्लो टेबुलको मान्छे पनि नदेख्ने ? शक्तिकेन्द्रको स्वादले आँखा पनि पुरियो कि क्या हो ?’ उनले यी कुरा जिस्किने शैलीमा भनेका थिए । त्यसैले मैले हाँसेरै टारिदिएँ । सँगै बसेर सिगरेट पियौँ । एक एक वटा कफी थप्यौँ । उनी कार्यकर्तासँग थिए । उनका कुरा सुन्दै गएँ, झन्झन् विरक्ति बढ्यो ।

कान्छी औंलाले ईशारा गर्दै पिसाब फेर्ने अनुमति मागेँ । शौचालयतिर गएँ, तर पिसाब लागेकै थिएन । भित्र छिरेँ । एकछिन ऐना हेरेर टाइमपास गरेँ । अनि, हात धुँदै बाहिर निस्किएँ । र, यसो पल्याकपुलक हेर्दै त्यहाँबाट भागेँ ।

अनामनगरबाट पुतलीसडकतिर जाँदा बीचमा एउटा चिया पसल खुलेको रहेछ । चियाको तिर्सना त थिएन, तर कतै एक्लै बसेर केही समय बिताउन मन लाग्यो । चिया पसलमा एक बोटल मिनरल वाटर मागेँ । पानी पिउँदै मोबाइल खेलाउन थाले । कतै बूढाले अलि अलि पैसा दिइहाल्छन् कि भनेर माग्न मन लाग्यो । फोन डायल गरेँ । घन्टी पनि गयो । तर, के भनेर पैसा माग्नु ? मनमा अप्ठेरो लागेपछि फोन काटेँ । फेरि सम्झिएँ, ‘बूढालाई त भन्ने आँट भएन । उहाँको छोरा हरिशमार्फत भन्नुपर्यो ।’ हरिशजीलाई फोन डायल गरेँ । तर, फोन उठेन । तुलसी कमरेड (उहाँकी पत्नी) लाई डायल गरेँ । तर, दुई–चार घन्टी गएपछि आफैँलाई लाज लाग्यो, कुन मुखले पैसा माग्नु ? के भनेर माग्नु ? पत्रकारलाई बाँड्न भनेर मागौँ, त्यो त झनै भएन । यसपछि वामदेव कमरेडलाई एसएमएस लेखेँ । ‘अरुलाई दसैं आयो, तर म पूरै बेखर्ची छु कमरेड ।’ यसको जवाफ आधा घन्टा पर्खिदा पनि आएन । सामान्यतया उहाँले जवाफ दिन चाहनुभयो भने तुरुन्तै फोन नै आउँछ वा म्यासेज नै लेख्नुहुन्छ । दुबै थोक नभएपछि चूप लागेर पानी पिएँ । एकजना भारतीय पत्रकार काठमाडौं आएका रहेछन् । उनले १० मीनेटको समय मागेका थिए । यो कुरा भन्नचाहिँ फोनै गर्नुपर्ला भनेर नम्बर डायल गरेँ । तर, फेरि उठेन । किनभने, मैले अघि नै म्यासेज गरेर पैसा मागिसकेको थिएँ । पैसै माग्न होला भनेर पनि हुनसक्छ, फोन रिसिभ भएन ।

त्यसपछि भारतीय पत्रकारले भेट्न चाहेको कुरा पनि म्यासेज गरेरै भनेँ । त्यसपछि पनि जवाफ आएन । मैले गल्ती गरेछु, पैसा मागेर । त्यसैले दोहोर्याई–तेहेर्याई फोन गर्न पनि लाज लाग्यो ।

पार्टीका १० जना नेता विभिन्न मन्त्रालयका मन्त्री छन् । त्यही पार्टीको जनवर्गीय संगठन हो, प्रेस चौतारी नेपाल । तर, प्रेस चौतारी आर्थिक रुपमा अहिले पनि रित्तो छ । कुनै मन्त्रीले एक रुपैयाँ सहयोग गरेका छैनन् । संगठन लाखौँ ऋणमा छ । दसैंमा केही भुक्तानी गर्नु थियो । आफ्नो तलब र दसैं पेश्कीबाट पकेट खर्चका रुपमा श्रीमतीलाई ठगेर लिएको पैसा साथमा थियो । भुक्तानी नदिई नहुने करिब १२ जनालाई अलिअलि गरेर पैसा दिएँ ।
संगठनमा एकदिन पैसा आउला र आफ्नो खर्च पुर्ताला होला । तर, कतैबाट नबाँडेको पैसा बाँडेकै छ भनेर दावी गर्दै मलाई तनाव दिने साथीहरुलाई म के जवाफ दिऊँ ? म नाजवाफ छु ।
[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment