६ कात्तिक, काठमाडौं । भारतको राजस्थानमा एक पसलमा आगो लाग्दा एकै परिवारका ५ सदस्यसहित ७ जनाको मृत्यु भएको छ । राजस्थानको बाडमेर जिल्लाको बालोतरामा आगो लागेर ७ जनाको मृत्यु भएको हो ।
तिहारको बेला फेन्सी कपडा पसलमा पटाका समेत बेच्न राखिएको थियो । सोही पसलमा बुधबार मध्यराति आगो लागेको हो । आगो लागेको समयमा पसल बन्द थियो । पसलभित्रै सुतिरहेकाहरुको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
आगो लागेको सूचना पाएलगत्तै अग्नी नियन्त्रक टोली घटनास्थल पुग्दा आगो बजारमा फैलिसकेको थियो । सयकडौं सवारी साधन जलेका थिए । कोशिस गरे पनि आगोमा फँसेकाहरुलाई बचाउन नसकिएको स्थानीय प्रहरी अधिकारीको भनाइ छ । केही घण्टापछि मात्रै आगो निभाइएको थियो ।
गएको हप्ता पनि भारतको आन्ध्र प्रदेशमा रहेको एक पटाका कारखानमा भएको विष्फोटमा १७ जनाको मृत्यु भएको थियो ।
एजेन्सीको सहयोगमा