Comments Add Comment

केपी ओलीको देउसे खुसी पार्ने नयाँ तरिका !

kp-oli-1

९ कात्तिक, काठमाडौं । सत्तारुढ दलका अध्यक्षको घरमा देउसी खेल्दा देउसेले कति दक्षिणा पाउलान् ? देउसेको स्तर र निकटता हेरेर तलमाथि हुने नै भयो । तर, एमाले अध्यक्ष केपी ओलीले देउसे खुशी पार्ने नयाँ तरिका झिकेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा देउसी खेल्न जानेहरुले यसपालि मनग्गे दक्षिणा पाए । अध्यक्ष ओलीले देउसेलाई मन फुकाएर दक्षिणाको व्यवस्था गरे ।
देउसेले दिएको आशिर्वाद लाग्छ भन्ने कहावत छ । सायद देउसेलाई सन्तुष्ट बनाएर उनीहरुको आशिर्वाद लिनलाई हुनुपर्छ ओलीले यसपालि नयाँ प्रयोग गरेछन् आफ्नै निवासमा ।
देउसी खेल्ने टोलीले ओलीको निजी सचिवालयमा पहिले नै पत्र पठाइसकेका थिए । तीमध्ये अधिकांश आफ्नै पार्टीका जनसंगठन तथा सम्पर्क मञ्चमा आवद्ध कार्यकर्ता थिए ।
‘घिऊ कहाँ पोखियो, दालमा’ भने जस्तै पार्टी सम्बद्ध व्यवसायीहरुलाई ओली निवासमै बोलाएर गच्छेअनुसार बढीभन्दा बढी दक्षिणा पार्टीका देउसेलाई दिलाइएको स्रोतले जनाएको छ ।
ओली निवासमा देउसेलाई दक्षिणा दिनका लागि विश्वकै धनीको सूचीमा रहेका खरबपति व्यवसायी विनोद चौधरी पनि लक्ष्मीपूजाको बिहानै पुगेका थिए ।

kp-oli-2
ओलीका स्वकीय सचिव रमेश आचार्यले पार्टी सम्बद्ध उद्यमी व्यवसायीहरुलाई ओलीकै निवास बालकोटमा बोलाएर देउसेलाई एकमुष्ठ दक्षिणा दिलाएको स्रोतले जनाएको छ ।
‘पार्टीका विभिन्न कमिटीहरुको कोषमा केही रकम जम्मा होस र अध्यक्षको निवासमै व्यवसायीहरुलाई बोलाएर देउसी खेल्दा रमाइलो पनि होस भनेर यो प्रयोग गरिएको हो’ स्रोतले भन्यो ।
ओलीको निवासमा देउसी उदघाटन रामेछाप काठमाडौं सम्पर्क मञ्चले गरेको थियो । सो टोलीले ओली निवासबाट करीव एक लाख रुपैयाँ दक्षिणा पाएको सम्पर्क मञ्चकी उपाध्यक्ष समिता केसीले बताइन् ।
देउसेलाई दक्षिणा विनोद चौधरीले तोकेका थिए । उनले शुरुमा आफ्नो तर्फबाट २१ हजार र अध्यक्ष ओलीको तर्फबाट ३१ हजार लेखेका थिए ।
रामेछापका एमाले नेता कैलाश ढुंगेलले रोड्याई गरेपछि चौधरीले अध्यक्षको भन्दा मैले बढी दिन मिल्दैन भने । ओलीले ‘पार्टीको अध्यक्ष म, पैसाको अध्यक्ष तपाई’ भन्दै उकासेपछि चौधरीले रामेछापको टोलीलाई ५१ हजार दिए ।
ओली निवासमै जम्मा भएका अन्य पार्टी निकट व्यवसायीहरुले गच्छेअनुसार सबैलाई दक्षिणा थप्दा देउसी निकै रमाइलो भएको जनसांस्कृतिक महासंघका महासचिव राजेश थापाले बताए ।

kp-oli-3
चौधरीले केही देेउसे टोलीलाई आफैंले दक्षिणा दिएका थिए भने आउन बाँकी पार्टी सम्वद्ध टोलीका लागि चेक छाडेर बालकोटबाट हिँडेको स्रोतले जनाएको छ ।
चौधरीले एमाले सम्वद्ध देउसेका लागि कति खर्च गरे भन्ने आधिकारिक जानकारी दिइएको छैन । स्रोतका अनुसार उनले १० लाख रुपैयाँ छुट्याएका थिए ।
पार्टी अध्यक्षले आफ्नै निवासमा व्यवसायीहरुलाई बोलाएर देउसी खेलाउँदा रमाइलो माहौल सिर्जना भएको युवा संघका अन्तरजिल्ला समन्वय समिति अध्यक्ष जय गुरुङले बताए ।
‘कतिपय नेताहरु घरको ढोका बन्द गरेर हिँड्छन् । तर, अध्यक्षको दैलोमा पार्टीका सबै कार्यकर्तालाई चौबीसै घण्टा स्वागत थियो’ गुरुङले भने ‘पार्टी सम्बद्ध व्यवसायी उहाँकै निवासमा बोलाउँदा देउसेलाई पनि सहज भयो’ ।
अध्यक्ष ओली गीत संगीतका पारखी भएकाले उनले देउसेका गीतमा नाचेर साथ दिएका थिए । उनी आफैं वाद्यवादक होइनन्, उनको घरमा संगीतका प्रायः सबै सामग्री राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment