Comments Add Comment

भारतले सित्तैमा बनाउने भनेको ‘नौमुरे’ अझै अलपत्र

१० मंसिर, अर्घाखाँची । भारत सरकारले उपहारस्वरुप सित्तैमा बनाइदिने आश्वासन दिएको अर्घाखाँचीको नौमुरे जलविद्युत परियोजना अहिलेसम्म अलपत्र परेको छ ।

अर्घाखाँचीको जलुके-२ मा पर्ने नौमुरे जलविद्युत परियोजना ०४५ सालमै सर्भे भएको थियो । सर्भे गर्न तीन महिना १० दिन लागेको थियो । ९० मिटर ड्याम बाँधेर नौमुरेबाट २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने निष्कर्षसहित विशेषज्ञ टोलीले प्रतिवेदन तयार पारेको थियो ।

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ९ महिने कार्यकालमा राष्ट्रिय योजनाअन्तर्गत नौमुरे परियोजना अघि सारिएको थियो ।

अर्का कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा यो परियोजनालाई भारतले उपहार स्वरुप निर्माण गरिदिने आश्वासन दिएको थियो । तर, दुई देशबीच भएको यो सहमति कागजमै सीमित छ ।

जैविक विविधता, पर्यावरण र पर्यटनको हिसावले पनि नेपालकै नमूना नौमुरेबाट विद्युत उत्पादन गर्ने काम सुरु भएको छैन । भारतले आश्वासनमात्रै दिएर कसरी झुलाउँछ भन्ने कुराको उदाहरण बनेको छ नौमुरे जलविद्युत परियोजना ।

‘नौमुरेलाई देशकै नमुना बनाउँछौं, जिल्लाको कुनाकुनामा बत्तिले झिलीमिली पार्छौं भन्थे तर अहिले २७ बर्ष बित्यो कहिले बन्ने हो अत्तोपत्तो छैन,’ २७ वर्ष पहिले सर्भे हुँदा सघाएका स्थानीय पिताम्बर सारुले भने ।

जुनसुकै मौसममा पनि समान परिमाणमा विद्युत उत्पादन गर्न सकिने भएकाले नौमुरे देशकै नमूना जलविद्युत परियोजना बन्ने बिज्ञहरूको  भनाइ छ ।

भारतले सबै विद्युत आफूले जिम्मा लिने र भारतको मातहतमा स्थानीयलाई विद्युत दिने बताएपछि परियोजना अलपत्र परेको स्थानीय जानकारको भनाइ छ ।

नौमुरे परियोजना संचालन भयो भने अर्घाखाँचीसहित प्युठान, दाङ, रोल्पा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी लगायतका जिल्लाका नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

‘नरेन्द्र मोदीले यसो गर र उसो गर भन्छन्, नेताहरु त्यतै भूलेका छन्,’ तर नौमुरेतिर कसैले ध्यान दिएनन्,’ जलुकेका एक स्थानीयले भने ।

-बिष्णुकुमार आलेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment