Comments Add Comment

संविधान माग्नेलाई सभासदले भने- ‘मन नपरे श्रीमती फेरिन्छ’ (भिडियोसहित)

sambidhan

मात्रिका पौडेल
९ पुस, टोक्सेल ओखलढुंगा । ‘माननीय ज्यू, एउटा पुल बनाउन १४ वर्ष लाग्यो, अब संविधान बनाउन कति वर्ष लाग्ने हो ?’ सुनकोशी पुल उदघाटनमा पुगेका माथिल्लो सगरमाथा क्षेत्रका सभासदहरुलाई स्थानीयले घेरेर प्रश्न वर्षाए ।

‘पोहोर भोट माग्न आउँदा एक वर्षमा संविधान दिन्छु भन्नुहुन्थ्यो, खोइ त माघ ८ गते संविधान आउँछ ?’ स्थानीय चिया पसलमा भेला भएका स्थानीयले दोस्रो प्रश्न वर्षाइहाले ।

जनताको घेरामा परेका थिए सोलुखुम्बुबाट निर्वाचित कांग्रेस सभासद बलबहादुर केसी र ओखलढुंगाबाट निर्वाचित एमाले सभासद यज्ञराज सुनुवार । त्यहाँ समानुपातिक सभासद हर्कबोल राई र शकुन्तला राजभण्डारी पनि थिए ।

जनताको प्रश्न प्रत्यक्ष निर्वाचित सभासदतिर सोझिएको थियो, किनकि उनीहरु एक वर्षअघि जनतासँग जुन बाचा लिएर भोट माग्न गएका थिए, त्यसको स्मरण गराउन चाहान्थे स्थानीय जनता ।

sabhasad1

माघ ८ त आइसक्यो त माननीय ज्यू १ काँधमा झोला भिरेर निकै टाढादेखि माननीय भेट्न आएका अर्का एक बृद्धले काउन्ट डाउन शैलीमा ब्युँझाएपछि कांग्रेस नेता केसी जवाफ दिन अग्रसर भए ।

केसीले भने-चुनावमा भोट दिने बेला ४ वर्षका लागि भनेर जिताउने, अहिले एक वर्षमै संविधान माग्ने ? म यही माघ ८ मा संविधान दिन्छु भनेर तपाईहरुलाई भन्न सक्दिँन र भनेको पनि थिइँन ।

नेताजीलाई के थाहा, गाउँका जनता नेताभन्दा पनि सचेत भइसकेका छन् । अर्का बृद्ध अघि सरे र केसीलाई प्रश्न गरे-तपाईको घोषणापत्र बोक्नुभएको छ ? घोषणा पत्रमा त एक वर्षमै संविधान दिन्छौं भनेको होइन ?

बलिउड चलचित्र नायकमा अमरेश पुरीलाई अनिल कपुरले सोधेकै शैलीमा स्थानीय जनताले र्‍याख र्‍याख्ती पार्न थालेपछि केसीले भने-मन नपरे स्वास्नी पनि फेर्न पाइन्छ, तपाईहरुले जनप्रतिनिधि फेर्न पाउनुहुन्छ ।

हेर्नुहोस् भिडियो-

sambidhan-1

जनताले आफ्ना सभासदबाट संविधान खोजे तर अर्का सभासद हर्कबोल राई भने आफूहरु पनि चार पाँचजना शीर्ष नेताको सिण्डिकेटको शिकार भएको भन्दै निरिहता प्रकट गरिरहेका थिए ।

जनता संविधान चाहान्थे । तर, नेताहरु भने जतिसक्दो चाँडो जनताको घेराबाट उम्किन चाहान्थे । जसै पुल उदघाटनका लागि मन्त्री र सभासदहरुको हेलिकोप्टर सुनकोशीको आकाशमा घुम्न थाल्यो, सभासदहरु हतार-हतार चिया पसलबाट बाहिरिए ।

तर, एक महिनापछि संविधान आउँछ त ? भन्ने प्रश्नको जवाफ जनताले पाएनन् । सायद यो प्रश्न अझै केही समय अनुत्तरित नै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment