Comments Add Comment

‘गोल्चेले हान्दा सिस्टमभित्रै हुने, मैले हान्दा बाहिर हुने ?’

सप्तरीको निर्वाचन क्षेत्र-३ बाट प्रत्यक्ष निर्वाचित एमाओवादी सभासद उमेशकुमार यादवलाई सोमबार राति संविधानसभामा तोडफोड हुनुपूर्व धेरै मानिसले चिनेका थिएनन् । तर, सो रात कुर्सी उचालेर भुइँमा पछार्दै गरेको उनको तस्वीर सार्वजनिक भएपछि उनी चर्चा र आलोचनाको प्रतिनिधि पात्र बने ।

सभासद यादवलाई आफूले गरेको उक्त कार्यमा पश्चाताप लागेको छ कि भनेर अनलाइनखबरले प्रश्न गर्दा उनले गर्वका साथ भने- ‘हामीले सिस्टमभित्रै बसेर प्रतिरोध गरेका हौं, गोल्चे सार्कीले रामचन्द्र पौडेललाई हान्दा सिस्टमभित्र बसेको हुने, मैले गरेको कसरी सिस्टम बाहिर भयो ?’   
Nepal-Ca-Todfood

  • संविधानसभाभित्र कुर्सी  बजार्दै सभासद उमेशकुमार यादव

सोमबार मध्यरातमा किन संविधानसभामा तोडफोड गर्नुभएको ?
संविधानसभाका लागि हामी जनयुद्ध लडेर आएका हौं । सत्तारुढ दलहरुले संविधानसभालाई संसदजस्तो बनाउन खोज्दा हामीले सिस्टमभित्र बसेर प्रतिरोध गरेका हौं ।

कुर्सी उचालेर पछार्ने पनि सिस्टमभित्रै बसेर भएको हो ?

हो । त्यो सिस्टमभित्रै बसेर हो । गोल्चे सार्कीले तत्कालीन सभामुख रामचन्द्र पौडेललाई जुत्ताले हान्दा सिस्टमभित्र बसेको हुन्छ, अनि मैले गरेको कसरी सिस्टम बाहिर भयो ?

अर्को कुरा, तपाईहरुले कुुर्सी तोडफोड गरेको मात्र देख्नुभयो । मेरो अनुहारमा हेर्नुभएन । मधेसलाई अहिलेसम्म दोस्रो दर्जार्को नागरिकका रुपमा हेरिएको पीडा थियो मेरो अनुहारमा । तपाई मिडियाका साथीहरुले पनि मधेसको आत्मा र पीडालाई चिन्नुभएको छैन । जबसम्म त्यो उत्पीडन रहन्छ, हजारौ कुर्सीहरु भाँचिन्छन् ।
तर, बैठक स्थगित भइसकेपछि तोडफोड गर्नुभयो नि । किन ?

सभामुखले बैठक स्थगित गरेको हामीले सुनेनौं । सभामुखले बलमिच्याइँ गरेर प्रक्रिया अघि बढाउन खोजेकाले हामीले प्रतिरोध गरेको मात्र हो । फेरि अघिल्लो संविधानसभामा हाम्रा पार्टीका सभासदहरुले बैठक बोलाउन आग्रह गर्दा नमान्ने सभामुखले यो पटक कांग्रेस र एमालेले भनेको मानेर बलमिच्याइँ गरेपछि यसको उत्पेरक उहाँ र सत्तारुढ दल नै हुन् ।

संविधानसभामा कुर्सी उचालेर पछारेको तस्वीरहरु आए, तपाईका मतदाताले के भने ?

मलाई मेरो मतदाताको कुुरा गर्नुहुन्छ भने सत्तारुढ दलका ठूला नेताहरुविरुद्ध सप्तरीको कुनै पनि क्षेत्रमा चुनाव लड्न तयार छु  म । म चुनौतीका साथ भन्छु, म राजीनामा दिन्छु र उनीहरुले पनि आफूले चाहेको क्षेत्रका सभासदलाई राजीनामा गराउनुस् । म जोसुकैविरुद्ध चुनाव लड्न तयार छु ।

तर, समाजिक सञ्जालहरुमा तपाईको निकै आलोचना भएको छ ? हेर्नुभएको छैन ?

मलाई गाली गर्ने भनेको पुरानै शासकीय मानसिकताका रोगी पहाडी खस शासकहरुले नै हुन् । गाली गर्ने १ सय जनामा ९५ जना त पहाडिया बाहुन नै छन्, जसको बोलबाला अब छिट्टै खत्तम हुनेवाला छ ।

अब आज पनि संविधानसभा बैठक छ, धेरैले यसलाई निर्णायक भनेका छन्, के गर्नुहुन्छ ?

सत्तारुढ दलहरुको निर्णायक हो भने हाम्रो पनि निर्णायक नै हो । उनीहरुले मुलुकलाई ०४७ सालतिर फर्काउन खोजेका छन् । म जनताको सिपाही हुँ, उनीहरुले जे भन्छन् त्यही गर्छु । हाम्रो पार्टीका श्रद्धेह अध्यक्ष कमरेडले जे आदेश दिनुहुन्छ, त्यहीअनुसार अघि बढ्छु ।

अस्ति तोडफोड गर्ने पनि अध्यक्षकै निर्देशन हो ?

अध्यक्षको आदेश भनेको बलजफ्ती गर्न खोजियो भने भने सिस्टमभित्र बसेर प्रतिरोध गर्नुस् भन्ने हो । हामीले सिस्टमभित्र बसेर नै प्रतिरोध गरेका छौं । मैले कुनै अपराध गरेको छैन । बरु हाम्रा श्रद्धेय नेता प्रचण्ड र बाबुरामलाई धन्यवाद दिनुस् कि एउटा मधेसीका छोरालाई आफ्नो कुरा बोल्न, लड्न र भिड्न सक्ने बनाउनुभयो । उहाँहरु अब हाम्रो पार्टीको मात्र होइन, उत्पीडित वर्ग र समुदायको राजनेता हुनुहुन्छ ।

माघ ८ मा संविधान दिने भीष्मप्रतिज्ञा थियो तर, संविधान त आएन ?

संविधान दिन नसकेकोमा म दुई हात जोडेर माफी माग्छु । तर, माघ ८ ठूलो कुरा होइन । कहिलेभन्दा पनि कस्तो संविधान भन्ने महत्वपूर्ण हुन्छ । तपाई मिडियाका साथीहरुले पनि यसमा नै बहस गर्नुस्, मेरो आग्रह छ ।

सत्तारुढ दलहरुले प्रक्रियाका नाममा अहिले मुलुकलाई अर्को द्वन्द्वमा लैजान चाहेका छन् । यिनै १० प्रतिशत शासकहरुले गोइतदेखि विप्लवसम्मलाई लेखेटे । अहिले हामीलाई किन संविधानसभाबाट घोक्रेठ्याक लगाउन खोजिरहेका छन् ?

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताका धाईआमाहरुले हामी असली आमालाई जवरजस्ती संविधानसभाबाट बाहिर पठाउन खोज्छन् भने ठीक हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment