Comments Add Comment

सहमतिविना संविधान असम्भव : सूर्यबहादुर थापा

१७ माघ, काठमाडौं । राप्रपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले प्रमुख दलहरुको सहमतिविना संविधान बनाउन असम्भव रहेको बताएका छन् । साथै उनले सत्तारुढ कांग्रेस र एमालेले हटाथमा प्रक्रियामा जान नहुने समेत बताएका छन् ।

surya-brd-thapa
फाइल फाेटाे

शनिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संविधानसभाका जेष्ठ सदस्य समेत रहेका थापाले माघ ८ मा संविधान जारी गर्न नसकेकोमा सबैले संयुक्त वक्तव्यमार्फत क्षमायाचना गर्नु पर्ने बताए । माघ ८ मा संविधान नबन्दा आकास नखसेको र धर्ती पनि नफाटेको भन्दै उनले जनतामा भने आक्रोस रहेको बताए ।

समय नपुगेर नभए दलहरुबीच गम्भीर छलफल नै भएर माघ ८ गुज्रिएको भन्दै उनले भने-‘विषयबस्तुमा केन्द्रीत भएर पछिल्लो तीन हप्ता मात्र छलफल भयो । पर्याप्य छलफल नै भएन ।’

माघ ८ मा संविधा नबन्दा जनता निराश भएको र अन्तराष्ट्रिय समुदायमा पनि खाली झगडा मात्र गर्छन् भन्ने सन्देश गएको भन्दै उनले असन्तुष्टि जनाए ।

अबको विकल्प : सबै दल एक ठाउँमा उभिने

पूर्वप्रधानमन्त्री थापाले अबको विकल्प भनेको सबै दल एक ठाउँमा उभिने र सहमति खोज्ने भएको उनले बताए । ‘आग्रह पूर्वाग्रह थाती राखेर अब नयाँ शिराबाट छलफल थाल्नुपर्छ’ थापाले भने-‘सहमति नै एक मात्र विकल्प हो ।’

दलहरु एउटा ठाउँमा नआएसम्म जनताले नै विश्वास नगर्ने भन्दै उनले भने-‘यस्तो भएन भनेर बैरागको गीत गाएर मात्र हुँदैन । अब देशलाई गति दिनुपर्छ । त्यसका लागि प्रमुख पार्टीहरु संविधानका विषयमा मिल्नुपर्छ ।’ तर, मुलुकलाई हानी कुन कुरामा भने लेनदेन हुन नसक्ने उनले बताए ।

कांग्रेस र एमालेका नेताहरुले बुहमतले संविधान ल्याउँछन् भनेका छन् नि भन्ने प्रश्नमा थापाले भने-‘दिगोपनका लागि उनीहरुलाई सहमतिमा ल्याउनु नै राम्रो हुन्छ । हठाथमा प्रक्रियामा जानु हुँदैन ।’

सहमति र प्रक्रियाको अडान लिने दुबै गलत भएको भन्दै उनले दलहरुबीच सहमति गर्ने र केही विषय नमिले सहमतिमा नै प्रक्रियामा जानु पर्ने बताए ।

अब दलहरु एक ठाउँमा आएर संविधान जारी गर्ने नयाँ मिति तोक्नु पर्ने भन्दै उनले भने-‘यथासक्य छिटो अर्को मिति तोक्नुपर्छ । चार वर्ष छ भनेर अन्तिम तिर लैजाउँ भन्नु हुँदैन ।’

मुलुकको राजनीति गतिहीन अवस्थामा रहेको भन्दै राप्रपाका वरिष्ठ नेता थापाले यो लामो समय सहि रहे भयावह अवस्था आउन चेतावनी समेत दिए ।

विहीबार भारत जाँदै
विहीबार भारत जान लागेका थापाले दिल्लीमा नपसी जयपुर जाने बताए ।  माघ ८ अगावै स्वास्थ्य परीक्षणका लागि जानुपर्ने भए पनि राजनीतिक परिस्थितिले रोकिएको भन्दै उनले भारतको जयपुरमा वैवाहिक समारोहमा जान लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment