Comments Add Comment

तामाकोशीको शेयरका लागि सर्वोच्चमा मुद्दैमुद्दा

२० फागुन, काठमाडौं । राष्ट्रिय गौरवको तामाकोशी जलविद्युत आयोजनाको शेयर विक्री भइरहेका बेला रामेछापबासीले पनि शेयर पाउनुपर्ने माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

तामाकोशी प्रभावित क्षेत्र दोलखाभन्दा रामेछाप बढी भएको भन्दै अधिवक्ता थरिप्रसाद कँडेलसहित १२ जनाले दोलखालीले जत्तिकै शेयर पाउनुपर्ने माग गर्दै रिट दायर गरेका हुन् । ‘प्रभावित क्षेत्रका बासिन्दाले पाउने शेयरको हक रामेछापबासीको पनि छ भनेर रीट दायर गरेका हौं’ अधिवक्ता कँडेलले भने ‘समानताको सिद्धान्त बमोजिम रामेछापबासीले पनि दोलखाबासीको जत्तिकै शेयर पाउनुपर्छ ।’

Barun hydro shair (16)

रिटमा रामेछापका ११ गाविस तामाकोशीबाट प्रभावित भन्दै सदरमुकाम मन्थली र विमानस्थलसमेत तामाकोशी किनारामा रहेकाले प्रभावितको परिभाषामा रामेछापबासीलाई पनि पार्नुपर्ने माग गरिएको छ ।

दोलखाबासी सबैले शेयर पाउँदा रामेछापबासीले पनि पाउनुपर्ने दावी सहित रिट दायर भएको हो । १२ लाख घनमिटर जलाशयुक्त आयोजना फुटेमा सबैभन्दा ठूलो क्षति रामेछापबासीले ब्यहोर्ने दावी गरिएको छ ।

आयोजनाको मुख्य निर्माणस्थल दोलखाको लामाबगर गाविसमा भए पनि यसको मुख्य प्रसारण केन्द्र भने रामेछापको फुलासी १ देवीटारमा निर्माण भइरहेको छ । ‘तामाकोशी वारिका देवीटारका जनताले रामेछापबासी भए बापत शेयर नपाउने, तर पारि किर्नेटारका बासिन्दाले दोलखाबासी भए बापत पाउने भन्ने कुरा न्याय हुन्न’ रिटमा भनिएको छ ।

सर्वोच्च अदालतले रिटमाथिको पेशी फागुन २२ गते शुक्रबारका लागि तोकेको छ । रिट निवेदकको तर्फबाट गोविन्द बन्दी, रामप्रसाद भण्डारी लगायतले बहस गर्नेछन् ।

शेयरका कारण मुद्दै मुद्दा

४५६ मेगावाट क्षमताको तामाकोशी आयोजना नबन्दै यसको शेयर विवाद अदालतमा पटक-पटक पुगिरहेको छ । आयोजनास्थल लामाबगर र गौरीशंकर गाविसलाई मात्र बढी प्रभावित भनेर त्यहाँका बासिन्दालाई ३०० कित्ता शेयर छुट्याएकोमा दोलखाकै अन्य ११ गाविसको तर्फबाट अदालतमा रिट दायर भएको छ ।

त्यस्तै कर्मचारी सञ्चयकोषका कर्मचारीले धेरै शेयर पाउने र सञ्चयकोषमा रकम दाखिला गर्ने अन्य सरकारी कर्मचारीले कम पाउने प्रावधानमा समेत असहमति जनाउँदै दायर भएको मुद्दा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment