Comments Add Comment

सूर्यबहादुरसँग जोडिएका ९ रोचक प्रसंग

Surya-Bdr-Thapa

मात्रिका पौडेल

४ वैशाख, काठमाडौं । ०५३ सालतिर सूर्यबहादुर थापाले एउटा भाषणमा बहुदलीय व्यवस्था जोगाउन आफू कांग्रेसको सहयोग लिएर प्रधानमन्त्री बनेको बताएपछि बरिष्ठ पत्रकार जनार्दन आचार्यले ‘सूर्यबहादुरले बहुदल जोगाउने रे’ शीर्षकमा लेखेको लेख निकै चर्चित भयो ।

समकालीन साप्ताहिकका प्रधान सम्पादक रहेका धनकुटे आचार्य त्यसबेला सूर्यबहादुरकै पार्टी राप्रपासँग आवद्ध थिए । पछि उनी तत्कालीन राजाबाट राष्ट्रियसभा सदस्यमा मनोनित भए । अचेल उनी एमाओवादी प्रवेशपछि गुमनाम छन् ।

आचार्यले समकालीनको ‘समय समय’ स्तम्भमा लेखेका थिए- ०३६ सालमा सूर्यबहादुरले बहुदललाई हराउनका लागि फाँडेको चारकोषे झाडीका बुटाहरुमा भर्खर पालुवा लाग्दैछन्, फेरि सूर्यबहादुरले बहुदल जोगाउने रे, कठै ती पालुवा फेरि निमोठिने भए ।

सूर्यबहादुर थापासँग जोडिएका केही किस्सा यस्ता छन् ।

१. केही सम्झने बिर्सने तथ्य

धेरैलाई थाहा नहुन सक्छ, सूर्यबहादुरले खाना खाने बेलामा सधैं दुई चार जना नेता कार्यकर्ता र आसेपासेहरु उनको डाइनिङ रुममा हुनै पर्थ्यो । सहयोगीहरुका गफ सुन्दै खाना खाने उनको बानी नै थियो । लामो कालखण्डसम्म इन्द्रप्रसाद ढुंगेल, बसन्तमानसिंह अधिकारी, मोहन दाहाल, किरण गिरी जस्ता पात्रले उनलाई साथ दिइरहे ।

पत्रिका पढेर सुनाउनकै लागि पनि उनको निवासमा बिहानै दुई तीनजना पत्रकार पृष्ठभूमिका सहयोगीहरु नित्यकर्म नसक्दै पुगिसक्थे । यीबाहेक अन्य केही पात्रहरु बिभिन्न कालखण्डमा मालीगाउँ आउने र जाने भइरहे । अब यी सबै घटना र प्रवृति सम्झना विर्सनामा सीमित भएका छन् ।

२ . लोकेन्द्रसँगको लुकामारी

आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीबाट हटाएर आफू प्रधानमन्त्री बन्न थापाले कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव ल्याएका थिए । चन्दलाई एमालेले बोकेको थियो । राप्रपा त्यसबेला संसदमा २० सीटसहित सत्ताको साँचो बोकेर बसेको थियो ।

पञ्चायतकालदेखि नै आफूलाई दुःख दिँदै आएका थापाले आफ्नै पार्टीका र आफ्नै क्याबिनेटका मन्त्रीलाई रातारात अविश्वास प्रस्तावमा सही गराएर हटाएपछि चन्दले भनेका थिए-नेपाली राजनीतिमा भित्रिएको मुसा प्रवृत्तिले अन्ततः यो व्यवस्थालाई नै सिध्याउनेछ ।

आफैं बसेको जहाज प्वाल पार्ने मूसा र आफै सहभागी सरकार ढाल्ने राजनीतिक मुसाबीच लोकेन्द्रले दाँजेर गरेको व्यंग्य सूर्यबहादुर थापा र कमल थापाहरुप्रति लक्षित थियो ।

कालान्तरमा बहुदलीय व्यवस्थाको एक अध्याय सिध्याउने तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमपछि पनि लोकेन्द्र पहिलो प्रधानमन्त्री बने भने तीनै लोकेन्द्रलाई विस्थापित गरेर थापा प्रधानमन्त्री बने, जुन उनको जीवनकालको अन्तिम प्रधानमन्त्रित्व रह्यो ।

०४१ सालदेखि शुरु भएको लोकेन्द्रबहादुर चन्दसँगको सूर्यबहादुरको लुकमारी र प्रतिस्पर्धा ०७१ सालसम्म कायमै रह्यो । थापाले पार्टी अध्यक्षको आफ्नो जिम्मेवारी आलोपालो सहमतिअनुसार चन्दलाई दिनुपर्नेमा राणालाई दिएपछि चन्द अदालत गए ।

तर, अदालतबाट फैसला आउनुअघि नै सूर्यबहादुरको जीवनको अन्तिम फैसला भयो, चन्दसँग कहिल्यै प्रतिस्पर्धा नहुने गरि । यसरी सधैं एउटै व्यवस्था र एउटै पार्टीमा रहने तर कहिल्यै एक हुन नसक्ने यी दुई नेताको सम्बन्ध रह्यो ।

३. कोइराला परिवारसँगको सम्बन्ध

सूर्यवहादुर थापाको परिवार बिराटनगरमा कोइराला परिवारको नजिक थियो । थापा स्वयं पनि बिराटनगरमा कांग्रेसको ‘अफिस सेक्रेटरी’ भएर काम गरेको स्मरण कोइराला परिवारका एकमात्र कम्युनिस्ट कमल कोइरालालाई अझै छ ।

तर, उनी त्यसपछि कहिल्यै कांग्रेस भएनन् । बरु वीपीलाई फाँसी दिनुपर्छ भन्नेमा पुगे । तर, पनि थापाको सम्बन्ध कोइराला परिवारसँग कहिल्यै बिग्रिएन ।

४. जनमत संग्रह र सर्पको छाला

सूर्यबहादुर थापाले ०३६ सालको जनमत संग्रहमा पञ्चायतलाई जिताउन साम, दाम, दण्ड, भेद सबै नअपनाएको भए नेपालमा सम्भवतः दश वर्षअघि नै बहुदलीय व्यवस्था आउने थियो । तर, पञ्चायतलाई जिताउन थापाले हरियो वन नेपालको धन भन्ने सम्पत्ति स्वाहा पारे । थापाले राज्यकै तर्फबाट बैधानिक तस्करी गरे ।

सर्पको छालालगायतका वन्यजन्तुको तस्करी गर्न जाटिया परिवारलाई खुला गरे बापत चार करोड रुपैयाँ लिएको कुरा विनोद चौधरीले आत्मवृत्तान्तमै खुलासा गरेका छन् ।

त्यस्तै पञ्चायतलाई जिताउन आफू र आफूसहितका केही व्यापारीले त्यो समयमा डेढ करोड रुपैयाँ जम्मा गरेर थापालाई दिएको पनि चौधरीले लेखिसकेका छन् ।

५. छिन्ताङ काण्ड

सूर्यबहादुर थापाको नाम लिनासाथ जोडिने अर्को घटना हो छिन्ताङ काण्ड । ०३६ सालको कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङ गाउँमा एक सांस्कृतिक कार्यक्रमका बीच राज्यले गोली चलाएर १६ जनाको हत्या गरेको थियो ।

Chintang-kanda

तत्कालीन भूमिगत नेकपा मालेको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको प्रत्यक्ष निर्देशनमा गोली चलेको र सुत्केरीसहित १६ जना मारिएको आरोपको जवाफ नदिइ थापा बिदा भए ।

छिन्ताङ काण्ड आजपर्यन्त नेपाली राजनीतिमा ठूलो घटनाका रुपमा लिइने गरेको छ । थापाको ६२ वर्षे राजनीतिक जीवनमा छिन्ताङ काण्ड सधैं कलंकका रुपमा रहिरह्यो ।

६. सांसद किन्न ५० लाख ?

सूर्यबहादुरसँग जोडिने अर्को घटना पचास लाख काण्ड पनि हो । जुन काण्डलाई उनले अर्धसत्यका रुपमा राखिरहे । तर, पूरा खुलासा गरेनन् ।

सत्ताको चाबी बोकेको राप्रपाका २० सांसदहरु कुनै पनि बेला बिक्ने खसी बोकासरह थिए । आफू बाहेक अरुको विश्वास गर्ने अवस्था थिएन । सूर्यबहादुरसँग राप्रपाका कम्तिमा ८ सांसद छन् भन्ने थाहा पाएपछि किनबेचको प्रयास भइरहेको थियो ।

थापाले आफूलाई राप्रपाका सांसद किन्न एमालेको तर्फबाट ५० लाख रुपैयाँ पेश्की आएको खुलासा गरेका थिए । तर, उनले कांग्रेसलाई साथ दिए । एमालेलाई त्यो ५० लाख रुपैयाँ फिर्ता गरे कि गरेनन् ? न त एमालेले बोल्यो, न थापाले बोले । त्यो ५० लाख काण्ड रहस्यमै रह्यो ।

७. काँचो वायु र भूमिगत गिरोह

थापाले पञ्चायतकालमा राजदरबारका केही सदस्यलाई लक्षित गर्दै भूमिगत गिरोहको नामाकरण गरे । व्यवस्थामाथि अनिष्ठ आउन लागेको भन्दै उनले मुलुकमा काँचो वायु मडारिएको विम्ब प्रयोग गरेका थिए । काँचो वायुको परिभाषा उनले कहिल्यै दिएनन् ।

नेपालमा जब-जब सत्ता संकट आउँछ, त्यसबेला सूर्यबहादुर थापालाई प्रधानमन्त्रीका रुपमा चर्चामा ल्याउने गरिएको सन्दर्भमा पछिल्लो समयमा पनि उनका समर्थकहरु मुख मिठ्याउँदै थिए । सधैं भारतीय संस्थापन पक्षको दाहिने भएका कारण पनि उनका केही सदावहार समर्थक थिए, जो थापाको साथ जीवन पर्यन्त रहे । नेपाली राजनीतिका धेरै अनुदघाटित रहस्यहरु सँगै लिएर थापा अनन्त यात्रामा निस्किए ।

८. भूमिगत गिरोहपछि अदृश्य शक्ति

सूर्यबहादुर थापा ०४६ सालको परिवर्तनपछि पनि दुई पटक प्रधानमन्त्री भए । पछिल्लोपटक तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बनाएपछि उनले विद्रोही माओवादीसँग शान्ति वार्ता पनि गरे ।

माओवादीले पनि बाबुराम भट्टराईको नेतृत्वमै उच्चस्तरीय वार्ता टोली पठायो । बिभिन्न चरणका वार्ता असफल भएपछि माओवादी पुनः युद्धमा फर्कियो ।

माओवादी युद्धमा फर्किनु अघि नै रामेछापको दोरम्बामा माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । गैरन्यायीक र रहस्यमय मानिएको दोरम्बा हत्याकाण्डको बेला थापा प्रधानमन्त्री पदमा थिए ।

त्यसबेला थापाले वार्ता असफल हुनुमा अदृष्य शक्तिको हात रहेको बताएका थिए । तर, उनले भनेको त्यो अदृष्य शक्ति को थियो ? कहिल्यै खुलासा गरेनन्, बरु त्यो भनेलगत्तै उनलार्इ  प्रधानमन्त्रीबाट हटाएर ज्ञानेन्द्रले पुनः शेरबहादुर देउवालाई ल्याए ।

अदृष्य शक्तिले माओवादीसँगको वार्ता भाँडेको बताए पनि उनले अदृष्य शक्ति कहिल्यै देखाएनन् ।

९. दोस्रो छोरो !

राष्ट्रिय पञ्चायतको अन्तिम चुनाव अर्थात ०४३ सालमा सूर्यबहादुर थापा भोट माग्दै धनकुटाको चौबीसे क्षेत्रमा पुगेका थिए । त्यसबेला कुरुले तेनुपाका सन्तोष फागो (लिम्बू) पनि सूर्यबहादुर थापासँग चुनाब लडेका थिए । त्यसबेला थापा गाउँमा आएपछि फागो समर्थकले केराको थाम काटेर सूर्यबहादुर थापाको पुत्ला बनाई शंख बजाउँदै प्रदर्शन गरे ।

थापाले चाँहि भाषण गर्ने क्रममा जवाफ दिँदै भनेका थिए, ‘मेरो एउटा मात्रै छोरो छ भन्ठानेको थिएँ, तर मेरो किरिया गर्ने अर्को पनि छोरो रहेछ ।

र, अन्त्यमाः तत्कालीन नेकपा माले र हालको एमालेकाका पूर्वेली कार्यकर्ताले गाउने एउटा चर्चित जनवादी गीतका एउटा जीवित पात्र सूर्यबहादुर अस्ताएका छन् ।

‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुःख बिसाउँदा’ भन्ने किशोर थुलुङको गीत अहिले पनि छिन्ताङका जनताले घर घरमा गाउँछन्, बजाउँछन् । अहिले सूर्य अस्ताउँदा खोकु छिन्ताङ दुख्यो कि दुखेन ? थाहा भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment