Comments Add Comment

सलमान खानको बजार बन्यो नेपालीको छाती !

Salman Khan
विजय आवाज
यतिबेला नेपालले आफन्त र पराइ चिन्ने मौका पाएको छ । दुखेको घाउमा मल्हम लगाइदिने र मल्हम लगाइदिने बहानामा झनै चर्‍याउने काम गर्नेहरुलाई नेपालीले विस्तारै पहिचान गर्दैछन् । यही मेसोमा यतिबेला नेपाली जनताका लागि नेपालसँगै बलिउड र हलिउडका कलाकारको साथ र हातले पनि उमंग दिन्छ र दिइरहेको छ ।

हामी कहिलेकाही दृष्टिविहीन पाराले हात्ती छामेर आ-आफ्नै तरिकाले विवेचना गर्छौं । शनिबार फेसबुकमा देखिएको केही स्टाटसले यस्तै कुराको संकेत गर्‍यो ।

बलिउडका सर्वाधिक चर्चित नायक सलमान खानले १० करोड सहयोग र २ वटा हेलिकप्टर नेपालका भूकम्प पीडितहरुका लागि दिएको चर्चाले फेसबुक गर्मायो । सलमानका फ्यानहरुले उनको फेसबुक र ट्विटर समेत नहेरी सलमानको फ्यान भएकोमा गर्व गरे ।

त्यसको २ दिनमै सलमानले यो कुराको खण्डन गरे । सलमानले आफूले दिन लागेको भनिएको सहयोगको खबर झुटो रहेको बताए । कुनै विदेशी कलाकारले सहयोग गर्छ या गर्दैन भन्ने कुरा ठूलो होइन । सलमान खानले नेपालीलाई सहयोग नगर्दा हामी भोकै भौंतारिने पनि होइनौं । सलमानले नेपाललाई सहयोग गर्नैपर्छ भन्ने पनि कहाँ छ र ?

तर, प्रश्न त्यतिबेला उठ्यो, जतिबेला सलमानले आफूले संचालन गर्दै आएको च्यारेटीबल संस्था बीइङ ह्यूमनले भारतीयहरुलाई मात्र सहयोग गर्ने स्टाटस फेसबुकमा लेखिदिए । भूकम्प गएको करिब ९ दिनपछि सलमानले लेखेको यो स्टाटसले धेरैको मन भूकम्पले चर्काएको घर जस्तै चर्काएको छ । सलमानले ९ दिनसम्म नेपालमा गएको भूकम्पको बारेमा कुनै शब्द कोरेनन् न त सहानुभूतिको मन नै देखाए ।

एक बर्ष अगाडि सलमान खानको यो च्यारेटीबल संस्थाले नेपालको काठमाण्डौ स्थित राइजिङ मलमा बीइङ ह्यूमनको पसल खोलेको थियो । सोही क्रममा बीइङ ह्यूमन लेखिएका टिसर्ट र पाइन्टबाट आएको रकम नेपालका विभिन्न क्षेत्रमा पनि सहयोग गरिने बताइएको थियो । तर, त्यसको केही समयमा नै सलमानले नेपालमा खोलिएको पसल कपडा मात्र बेच्नका लागि हो भनेर पुष्टि गरिदिए ।

अहिले नेपालमा यो टिसर्ट प्रशस्त विक्री हुन्छ । जसबाट उठेको रकम भारतीय नागरिकहरुको लागि खर्च हुँदै आएको प्रष्ट हुने समय लाग्दैन । यो टिसर्ट लगाएर धेरै नेपाली र सलमानका फ्यान बीइङ ह्यूमन बनेकोमा गर्व गरिरहेका छन् ।

अब, एउटा प्रश्न, भारतीय नागरिकका सामु सलमान खानलाई देवता बनाउन हामीले बीइङ ह्यूमनको टिसर्ट लगाएर गर्व किन गर्ने ? हामी जाडोले काप्दा न्यानो नदिने टिसर्टमा हामीले किन छाती फुलाउने ?

बरु, आइ लभ नेपाल लेखिएका टिसर्टमा नै हामीले मानवता, सहायता र राष्ट्रियता किन नखोज्ने ? राजेश हमालले नेदरल्याडमा करोड जुटाइरहादा, प्रियंका कार्कीले लण्डनमा निशुल्क आफ्नो प्रस्तुती दिएर लाखौं रकम जम्मा गरिरहदा, केकी र करिश्मा हराएका सपनामा आशा खोज्न आफ्नै दिदी बहिनीसँग हातेमालो गरिरहदा, हामीले यता ध्यान दिने कि नदिने ?

फेसबुकका भित्तामा सलमान खानले गर्दै नगरेको कुरामा गर्व गरेर रमाइहँदा हाम्रा कलाकारले नेपालीसँग गरेको हातेमालोमा नयाँ ईट्टा थप्ने कि नथप्ने ?

साहरुख खान, अमिताभ बच्चन, आमिर खान, रणवीर कपुर, आलिया भट्ट, करण जोहरले नेपालमा आएको विनाशकारी भूकम्पमा भलै मुखैले भए पनि सहानुभूति र साथको कुरा गरिरहँदा सलमान खान बीइङ ह्यूमन नेपालका लागि नभएको बताउँछन् । आउनुहोस्, आइ लभ नेपाल लेखेको टिसर्टमा हामी ह्यूमन बीइङको खोजी गरौं । संसारमा मानवता ‘ह्यूमन बीइङ’मा अडिएको छ । अब, तपाई आफै छनोट गर्नुहोस्, बीइङ ह्यूमन बन्ने या ह्यूमन बीइङ ।
salman-khan-status
भनिन्छ, छिमेकी मर्दा र पर्दामा काम लाग्छन् । बिहेमा जन्ती जाने भन्दा मर्दा मलामी जाने असल छिमेकी हुन् । छिमेकीको साथ हाँसोमा भन्दा आँसुमा डुब्दा ज्यादा मुल्यमान हुन्छ । वैशाख १२ गते गएको भूकम्पपछि नेपालीहरु यस्तै साथको खोजी गर्दैछन् ।

हामीले दिएको २ किलो चामलले कसैको जीवनभरको भोक मेट्दैन, तर उसमा बाँच्ने आशा र साहस पलाउँछ । हामीले थप्थपाएको हातले कसैको जिवन ठडिदैन, तर आफै ठडिने अठोट बन्छ । यसैले पनि हामी यतिबेला यस्तै हात र साथको खोजी गरिरहेका छौं, जसले हामीलाई २ दिनको भोजन होइन, जीवनभर उठ्ने साहस दिओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment