Comments Add Comment

ब्याटिङमा नेदरल्याण्डको हात माथि, बलिङमा नेपाल शक्तिशाली

Nepal-Vs-Middlesex (4)

१६ असार, काठमाडौं । नेपाल र नेदरल्याड्सबीच चारवटा टी-२० म्याचको श्रृंखला आजबाट सुरु हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार राति पौने ९ बजे हुनेछ ।

 दुई शक्तिशाली एसोसिएट्स राष्ट्रबीचको यो भिडन्त रोचक हुने पक्का छ । पहिलो र दोस्रो खेल नेदरल्याण्ड्सको आम्सटेलभिनस्थित भिआरए रंगशालामा हुने छन् । बाँकी दुई खेल रोटरडमको भिओसी रंगशालामा हुने कार्यक्रम छ ।

खेल पत्रकार तथा क्रिकेट अम्पायर देवेन्द्र सुवेदीले पहिलोपटक हुन लागेको नेपाल-नेदरल्याड्स टी-२० प्रतियोगितालाई यसरी विश्लेषण गरेका छन्:

कति महत्वपूर्ण हो यो श्रृंखला ?

नेपालका लागि यो श्रृंखला दुई कारणले महत्वपूर्ण छ । पहिलो टी-२० वल्र्ड र्‍याङ्किङमा पर्नका निम्ति र दोस्रो टी-२० विश्वकप क्वालिफायरको लागि मनोबल उच्च बनाउन ।

टि-२० वल्र्ड र्‍याङकिङमा पर्नका निम्ति कुनै पनि देशले ८ वटा खेल अनिवार्यरुपमा खेल्नुपर्ने प्रावधान छ । तर, नेपालले र्‍याङ्किङ अवधीमा अहिलेसम्म चार वटा म्याच मात्र खेलेको छ । त्यसैले नेपाल सो र्‍याङ्किङमा पर्नका निम्ति नेदरल्याड्ससितका चारवटै खेल अनिवार्य खेलिनुपर्छ । कुनै कारणले एउटा खेल पनि स्थगित भएको खण्डमा नेपालले अवसर गुमाउने छ ।

नेपालले यसअघि खेलेका चार टी-२० म्याचमा दुई जित र दुई हार व्यहोरेको छ । आइसीसीको र्‍याङ्किङ टेबलमा अटाउन नेपालले यो श्रृंखलाका दुई म्याच जित्नै पर्ने अवस्था पनि छ । स्मरणीय के छ भने चार वटा म्याच लगातार चार दिन खेलाइँदै छन् ।

विश्वकप छनोटको यात्रामा पनि यो श्रृखलाको महत्व छ । यो श्रृंखला लगत्तै नेपालले आयरल्याण्डमा विश्व टि-२० क्वालिफायर खेल्ने छ । सोही प्रतियोगिताको तयारीका हिसाबले पनि नेदरल्याड्सविरुद्धको श्रृंखलालाई महत्वका साथ हेरिएको छ । यो प्रतियोगीताले नेपाललाई अन्तिम ११ खेलाडी छनोट गर्न पनि सघाउ पुग्नेछ भने जित हासिल गरेको खण्डमा मनोबल उच्च रहने छ ।

जित सजिलो छैन

नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म टी-२० म्याच भएको छैन । एसोसिएट्स राष्ट्रबीच मात्र नभएर विश्व टी-२० मै तहल्का पिटेको देश हो नेदरल्याण्ड्स । त्यसमाथि उसकै घरेलु मैदानमा प्रतियोगिता हुँदैछ । त्यसैले यो भिडन्त नेपालका लागि फलामको च्यूरा सावित हुने पक्का छ ।

Netherlands

ब्याटिङतर्फ नेपालभन्दा नेदरल्याण्ड्स बलियो देखिन्छ । उसका धेरै ब्याट्सम्यानहरु फस्ट क्लास क्रिकेटका अनुभवी छन् । प्राविधिक हिसाबले नेपालका ब्याट्सम्यानहरु पनि कमजोर होइनन् । तर, अनुभव र पावरमा उनीहरुको हात माथि छ ।

बलिङमा भने नेपाल परम्परागत रुपमै शक्तिशाली हो । विशेषतः स्पिन बलिङमा । तर, त्यहाँको पिच कन्डिसन हाम्रा खेलाडीहरुका लागि नौलो हुने छ । त्यहाँ अभ्यास म्याच समेत नखेली एकैचोटी मुख्य प्रतिस्पर्धामा उत्रिनुपर्दा बलिङ डग्मगाउन पनि सक्छ ।

मलाई जहाँसम्म लाग्छ, त्यहाँको पिचले स्पिनरलाई फाइदा गर्दैन । पेस र बाउन्सयुक्त पिच भएको खण्डमा नेपालले एकजना मात्र स्पिनर लिएर खेल्न सक्छ । शक्ति गौचनको स्थानमा एक्स्ट्रा फास्ट बलर खेलाउने निर्णय कोच र कप्तानले लिन सक्छन् ।

नेदरल्याण्ड्सका बलरहरु धेरै बेगवान छैनन् । उनीहरु स्वीङ र सिममा निर्भर हुन्छन् । सम्हालिएर खेलेमा नेपाली ब्याट्सम्यानले उनीहरुलाई झेल्न सक्छन् ।

नेदरल्याण्ड्सका ब्याट्सम्यानहरु सबै एक से एक छन् । त्यसमा पनि कप्तान पिटर बोरेनसित सतर्क हुनपर्ने देख्छु । स्टेफन माइबर्ग पनि उत्तिकै डरलाग्दा ब्याट्सम्यान हुन् । यद्यपी नेपाली बलिङले आफ्नो स्तरको प्रदर्शन गरेमा उनीहरुलाई दवावमा राख्न पनि सक्छ ।

ब्याटिङमा मध्यक्रमको भर

देवेन्द्र सुवेदी
देवेन्द्र सुवेदी

नेपालको ब्याटिङ मुलतः मध्यक्रममा निर्भर रहँदै आएको छ । यसपटक पनि त्यही परम्परा दोहोरिने देख्छु । ओपनिङको समस्या यथावत् छ । प्रशिक्षक पुबुदु दासानायके ओपनिङमा सुभाष खकुरेलको साथी कसलाई बनाउने भन्नेमा द्विविधामै देखिन्छन् । उनी धेरैजनालाई ट्राइ गरेर थाकेका छन् ।

तेस्रो नम्बरमा खेल्दै आएका ज्ञानेन्द्र मल्ललाई ओपनिङमा पठाउने चर्चा भए पनि म त्यो सम्भावना कम देख्छु । किनकी अभ्यास म्याचहरुमा उनलाई कोचले तेस्रो नम्बरमै खेलाएका छन् । सम्भावित ओपनरका रुपमा प्रदिप ऐरी र अनिल मण्डल नै छन् । तर, मलाई जहाँसम्म लाग्छ, कमजोरीका बाबजुद सागर पुनले नै सुभाषलाई साथ दिनेछन् । प्रदिप ऐरीले मौका पाए भने ६-७ नम्बरमा खेल्ने छन् । अनिलले एउटा म्याचसम्म खेल्न पाउलान् ।

नेपालको मध्यक्रम भने राम्रो फर्ममा देखिएको छ । पछिल्ला अभ्यास म्याचहरुमा कप्तान पारस खड्का र्फममा फर्किनु नेपालका लागि सबैभन्दा सुखद समाचार हो । यस्तै, आउट अफ र्फम रहेका विष्फोटक व्याट्सम्यान विनोद भण्डारीले अन्तिम अभ्यास खेलमा धुवाँधार ब्याटिङ गरेका छन् । उनी जमे भने नेपाललाई कठिन परिस्थितिबाट पनि जित दिलाउने क्षमता राख्छन् ।

शरद भेषवाकर र ज्ञानेन्द्र मल्ल पनि राम्रो लयमा छन् । यदी ओपनिङ जोडीले राम्रो सुरुवात दिएको खण्डमा मध्यक्रमले जित दिलाउन सक्छ ।
(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment