Comments Add Comment

काठमाडौंलाई नाकाबन्दी गर्ने राजेन्द्र महतोको धम्की

  • फाइल तस्वीर

२० असार, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामा पनि मधेसको माग नसमेटिए काठमाडौंलाई नाकाबन्दी गर्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आफूहरुले संविधानसभा र काठमाडौं छाड्ने प्रस्ताव राखेको भन्दै उनले अब हुने मधेस आन्दोलन नेपालको इतिहासमा कहिल्यै नभएको आन्दोलन हुने दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा महतोले भने-‘अन्तिम मस्यौदासम्म कुर्छौं । त्यसमा पनि हाम्रो भावना सम्बोधन भएन भने संविधानसभा त्यागेर काठमाडौको दानापानी बन्द हुने गरी नाकाबन्दी गर्छौं ।’

भारत विगतका सहमति र सम्झौता अनुसार संविधान बन्नुपर्छ भन्नेमा स्पष्ट रहेको भन्दै उनले आफूहरुको आन्दोलनमा भारत लगायत देशको समर्थन रहने दाबी गरे । ‘हामीलाई सम्झौतामा जानु पर्‍यो भनेर भारत आएको थियो । उनीहरु साक्षी किनारामा बसेका थिए’ महतोले भने-‘सहमति अनुसार नभएपछि सम्झाउन भारतीय दुतावास गएका हौं ।’

आफूहरुको मध्यस्थामा भएको सम्झौताबारे भारतीय राजदुत रेले जानकार रहेको भन्दै उनले भने-‘अहिले संघीयता र स्वायत्तता नदिने भनपछि हामीले के गर्ने ?’

उनले थपे-‘प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड भारतीय दुतावास र दिल्ली जान हुने हामी भारतीय दुतावास जान नहुने ?’

सदभावनाका अध्यक्ष महतोले प्रस्तावित संविधानको मस्यौदाले मधेसमाथि संवैधानिक कू गरेको आरोप लगाए । दलहरुले प्रदेशहरुको सीमांकन गर्न नसके कुन ग्रहको मानिस आएर कोर्छ भन्दै महतोले यसलाई संघीयता नदिने षड्यन्त्रको संज्ञा दिए ।

विदेशबाट विवाह गरेर आएकाका सन्तानले अंगिकृत नागरिकता पाउने ब्यवस्थाले मधेसीहरु कहिल्यै पनि प्रधानमन्त्री, राष्ट्रपति, न्यायशीश र संवैधानिक आयोगका प्रमुख बन्न नसक्ने गरी षड्यन्त्र गरिएको दावी गर्दै उनले अब नेपाल पहाडियाको मात्र मुलुक हो भनेर घोषणा गर्न मात्र बाँकी रहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment