Comments Add Comment

प्रकाशमान ज्यू ! खोई तपाईले बालेको ७५ लाखको सौर्यबत्ती ?

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह सिंगै देशको स्थानीय विकास मन्त्री हुन् । उनले कस्तो स्थानीय विकास गरिरहेका छन् भन्ने हेर्न काठमाडौं क्षेत्र नं १ स्थित बुद्धनगरमा वर्षेनी भत्काइने बाटोलाई हेरे पुग्छ ।

hilo-(8)

काठमाडौं क्षेत्र नम्बर १ का निर्वाचित सभासद रहेको मन्त्री सिंहले आखिर आफ्नो चुनाव क्षेत्रमा एक आर्थिक वर्षभरि के-के गरेछन् भनेर खोजीगर्दा अनौठो तथ्य फेला परेको छ ।

संविधानसभा अगाडि बत्ती बालेको २५ लाख !

काठमाडौं १ का सभासदको हैसियतले प्रकाशमानले संसद सचिवालयलाई बुझाएको विवरण अनुसार निर्वाचन क्षेत्र पूर्वाधार कार्याक्रम अन्तरगतको एक करोड रुपैयाँमध्ये २५ लाख रुपैयाँ संविधानसभा अगाडि सौर्यबत्ती जडान र वगैंचा निर्माणमा खर्च गरिएको देखाइएको छ ।

जबकि अन्तरराष्ट्रिय सम्मेलनकेन्द्र अगाडिको पार्क र बत्ती जडान सार्क सम्मेलनकै बेलामा गरिएको थियो र त्यसका लागि बेग्लै कोष प्रयोग गरी सोको विवरण यसअघि नै सार्वजनिक भइसकेको थियो ।

मन्त्री सिंहले केकेमा खर्च गरे ?

Prakashman singh

स्थानीय विकासमन्त्री सिंहले पूर्वाधार विकास कोषका लागि चालु आर्थिक वर्षमा पाएको १ करोडमध्ये २५ लाख रुपैयाँ मीनभवनमा किरियापुत्री घर बनाउन खर्च गरेको विवरण संसद सचिवालयलाई बुझाएका छन् ।

त्यस्तै, बसन्तनगरमा बाटो कालोपत्रे गर्न र सौर्यबत्ती जडान गर्न २५ लाख खर्च भएको सिंहले विवरण पेश गरेका छन् । काठमाडौं ३२ मा सौर्यबत्ती जडान गर्दा थप २५ लाख खर्च भएको देखाइएको छ । यसरी हेर्दा सिंहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तरगत आएको १ करोड मध्ये झण्डै ७५ लाख रुपैयाँ सडकमा वत्ति जडानमा खर्च भएको देखाइएको छ ।

तर, कहाँ कति सौय बत्ति जोडियो भन्ने प्रश्नमा क्षेत्र नम्बर १ का कांग्रेस सचिव राजु अर्यालले गोलमटोल कुरा गरे ।

काठमाडौंमा लोडसेडिङका कारण लुटपाट र चोरीको डर हुने भएकाले सौर्यबत्तिलाई प्राथमिकतामा राखिएको अर्यालले बताए । उनले अनलाइनखबरसित भने-‘अहिले सडक वत्तिको ९५ प्रतिशत काम सकिएको छ ।’

तर, काठमाडौं महानगरपालिकाका एक अधिकारीले भने यसबारे अनविज्ञता प्रकट गरे । ती अधिकारीले अनलाइनखबरसँग भने-‘त्यहाँ कसैले सौर्यवत्ती जडान गरेको वा पार्क निर्माण गरेको हामीलाई थाहा छैन । महानगरपालिकाभित्र त्यस्तो विकास गरिएको भए संरक्षण गर्ने महानगरपालिकाले हो र हामीलाई त्यसबारे जानकारी हुन्छ । ‘

स्थानीय विकासमन्त्री समेत रहेका सिंहले निर्वाचन क्षेत्र विकास कोष अन्तरगत आएको १५ लाख रुपैयाँलाई निर्वाचन क्षेत्रमा कनिका छरे झै बाँडेका छन् ।

मन्त्री सिंहले बानेश्वर युवा क्लवलाई खेलकुद सामाग्री खरिदका लागि एकपटक २ लाख र अर्को पटक ३ लाख दिएका छन् । त्यस्तै प्रशिक्षण कार्यक्रमका नाममा केही संस्थालाई दुईदेखि ४ लाखसम्म बाँडेका छन् ।

बाटोको हालत हेरिनसक्नु

स्थानीय तहको विकास गर्ने मन्त्रालय सम्हालेका सिंहको चुनाव क्षेत्र एवं काठमाडौंको मुटुमा बसोबास गर्ने राजधानीबासीको अवस्था चाँहि असारे खेतमा बसेजस्तो छ ।

सिंहको निर्वाचन क्षेत्रमा पर्ने मैतीदेवी-भीमसेनगोला सडक खण्डको हविगत अहिले धान रोप्ने खेतभन्दा कम छैन । काठमाडौंको मुटुमा रहेको चार किलोमिटर सडक पीच गर्न नसकेर आलोचना खेपिरहेका मन्त्री सिंहले एक वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका केही पनि काम नगरेको स्थानीयको गुनासो छ ।

सिंहको चुनाव क्षेत्र अन्तरगत पर्ने बुद्धनगरको बाटो दुईवर्ष नबित्दै दुईपटक भत्काइएको छ । अहिले यो बाटोमा मानिसलाई आवत जावत गर्न गाह्रो परिरहेको छ । पानी परिरहेका बेला बजेट सक्नका लागि धमाधम पिच गर्ने तयारी थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment