Comments Add Comment

फ्री भिसा र फ्री टिकटको सहमतिले मेनपावर व्यवसायीबीच झगडा

१४ साउन, काठमाडौं । सरकारसँग फ्री भिसा र फ्री टिकटको सहमति गरिएपछि मेनपावर व्यवसायीबीच बबण्डर मच्चिएको छ । सरकारले असार २१ गतेदेखि मलेसिया र ६ खाडी मुलुकमा फ्री भिसा र टिकटको निर्णय लागू गरेपछि आन्दोलित भएका व्यवसायीहरुबीच शनिबार राति सहमति जुटेको थियो ।

Baidesik-Rojgar-Bibhag2फ्री भिसा र टिकटको निर्णयलाई यथावत राख्दै श्रम मन्त्रालयका कायम मुकायम सचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा कार्यदल गरिएको छ । कार्यदलले फ्री भिसा र फ्री टिकट लागू भएका मुलुकको भ्रमण गरी प्रतिवेदन तयार गर्ने सहमति भएको छ । तर, सरकार र ब्यवसायीबीच ३१ बुँदे सहमति भनिए पनि सहमति अधुरो रहेको भन्दै मेनवापर व्यवसायीबीच विवाद चर्किएको हो ।

‘सहमतिमा कार्यदलले कहिलेबाट काम शुरु गर्ने र काम शुरु गर्ने भन्ने नै स्पष्ट छैन, त्यसमा मेरो पनि असहमति हो’, गणतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष तथा वार्ता टोली सदस्य रामप्रसाद बान्तुनाले भने, ‘कार्यदलले टीओआर नै नबनाई कसरी काम शुरु गर्छ ?’

मेनपावर व्यवसायीहरुले नेतृत्वको चर्को विरोध गर्न थालेपछि शनिवार मध्यरातिसम्म सहमति हुँदा सँगै रहेका व्यवसायीहरु आफूहरुले हस्ताक्षर नै नगरेको भनी पन्छिने गरेको अर्का एक व्यवसायीले बताए ।

सहमति पत्रमा नेपाल वैदेशिक रोजगार ब्यवसायी संघसहित विभिन्न दल आवद्ध संघ संस्थाहरुको प्रतिनिधिहरु उल्लेख गरिए पनि व्यवसायीको तर्फबाट संघका अध्यक्ष विमल ढकाल र महासचिव रोहन गुरुङले मात्रै हस्ताक्षर गरेका छन् ।

विवाद मत्थर पार्न भेला बोलाइयो
सरकारसँग सहमति गरेपछि मेनपावर व्यवसायीहरुबीच विवाद उत्कर्षमा पुगेको छ । उत्कर्षमा पुगेको विवाद मत्थर पार्न भन्दै आइतबार व्यवसायिक भेला डाकिएको छ ।

सरकारसँगको सहमतिले व्यवसायीको हित नगर्नेे भन्दै व्यवसायीले आलोचना गरेपछि चर्किएको विवाद हल गर्न व्यवसायिक भेला बोलाइएको हो । असार २१ देखि साउन साउन ९ सम्मको आन्दोलनको समिक्षा तथा आगामी रणनीति तय गर्न भेला बोलाइएको संघका पदाधिकारीहरुले बताएका छन् ।

साउन १७ गते आइतबार बिहान १० बजे नक्साल बैंक्वेटमा बोलाइएको भेलामा ३१ बुँदे सहमति लगायतका विषयमा व्यापक एवं बृहत छलफल गरिने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले बताए ।

बैदेशिक रोजगारीमा फ्री भिसा र फ्री टिकटको प्रावधान लागु भएपछि  अधिकाश व्यवसायीले  मन्त्रालयसँगको वार्तामा संघको नवनिर्वाचित नेतृत्वले गम्भीर गल्ती गरेर व्यवसायी तथा कामदारको अधिकार रक्षा गर्न चुकेको गुनासो गरेका छन् ।

उनीहरुले संघ नेतृत्वको कमी कमजोरीका कारण बैदेशिक रोजगार व्यवसाय  निकट भविश्यमै संकटमा पर्ने  दाबी गरेका छन् ।

व्यवसायीहरुले ३१ बुदे सहमतिप्रति विरोध जनाउन कम्तिमा १० दिन पूर्वस्वीकृति सम्वन्धी फाइल पेश गर्न नगर्ने बताएका छन् । वर्तमान कार्यसमितिले कमीकमजोरीप्रति क्षमा माग्दै व्यवसायीबाट तत्काल विश्वासको मत लिनुपर्ने बताएका छन् ।

अध्यक्ष ढकालको राजीनामा मागियो

बिमल ढकाल
बिमल ढकाल

त्यस्तै आन्दोलनलाई अदालतमा प्रवेश गराई असफल गराएका कारण अध्यक्ष विमल ढकालले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेसमेत आवाज उठ्न थालेको स्रोतले बतायो ।

केही  आक्रोशित व्यवसायीले  संघको समानान्तर समिति बनाएर आन्दोलन अगाडि बढाउनुपर्नेसम्मका चर्का धारणा राख्न थालेका छन् । उल्लेखित पृष्ठभूमिका संघले बोलाएको व्यवसायी भेलालाई स्वयं व्यवसायीहरुले निकै चासोका साथ हेरिरहेको एक व्यवसायीले बताए ।

फ्री भिसा र फ्री टिकटको सरकारको निर्णय असफल पार्न आन्दोलन चर्काएका व्यवसायीहरुले आन्दोलनकै समयमा पनि संघका वर्तमान अध्यक्षले आन्दोलन हाँक्न नसकेको भन्दै आलोचना गर्दै आएका थिए ।

सरकारसँग सहमतिपछि संघका अध्यक्ष ढकाल पूर्णरुपमै असफल भएको भन्दै विशेष साधारणसभा बोलाएर ढकाललाई हटाउनुपर्ने आवाज व्यवसायीहरुबीच उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment