Comments Add Comment

भरतपुर अस्पतालमा सुत्केरीको चाप, भुईंमा राखेर उपचार

childbirth-in-Bharatpur-Hos१५ साउन, चितवन । चौबिसै घण्टा सुरक्षित र भरपर्दो सेवा दिँदै आएको चितवनको भरतपुर अस्पतालमा सुत्केरी महिलाहरुको चाप बढेको छ । शैया अभावमा भुईंमा राखेर उपचार गराउनुपर्ने स्थिति छ ।

काठमाडौंको प्रसुती गृहपछि भरतपुर अस्पताल दोस्रो ठूलो सुत्केरी सेवा दिने सरकारी अस्पतालको रुपमा परिचित छ ।

अस्पतालप्रति विश्वास बढेको दाबी

चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा समेत आमा सुरक्षा कार्यक्रम लागु भएपनि सुत्केरी गराउने महिलाहरुको चाप भरतपुर अस्पतालमा धेरै देखिन्छ । भरतपुर अस्पतालका प्रसुती रोग विभाग प्रमुख डा. सुनिलमणि पोख्रेलले जनताप्रति सरकारी अस्पतालको सेवामा विश्वास बढेकाले चाप धेरै भएको दाबी गरे ।

‘२४ सै घण्टा सबै प्रकारका अप्रेसन सुविधा छ, जोखिम एकदमै कम छ, अन्य प्रकारका रोगहरु महिलाहरुमा भएमा पनि बरिष्ठ फिजिसियनहरूबाट उपचार गराइन्छ,’ डा. पोख्रेलले भने, ‘२४ सै घण्टा सुरक्षित सुत्केरी सेवा पाएपछि अन्त किन जानू ?’

अन्य अस्पताल वा मेडिकलमा जाँदा विभिन्न बहानामा धेरै शुल्क असुल्ने भएकाले पनि भरतपुर अस्पतालमा गर्भवती महिलाहरू आउने गरेको उनको दाबी छ । उनले सुत्केरीहरुको चाप बढेकाले शैया थप्नुपर्ने स्थिति आएको बताए ।

‘अहिले भुईंमा राखेर समेत सुत्केरी गराउनुपर्ने अवस्था छ,’ डा. पोख्रेलले भने मौजुदा मानव संसाधन, बेड संख्या थप नगर्ने हो भने चाप धान्न सकिँदैन ।’

अस्पतालमा प्रसुती तथा स्त्री रोग सेवाका लागि ११५ शैया छन् ।

११ हजार ३ सय ६४ जनालाई सुत्केरी सेवा

चितवनको सरकारी भरतपुर अस्पतालमा विगत ७ बर्ष अघिदेखि आमा सुरक्षा कार्यक्रम लागु हुँदै आएको छ । भरतपुर अस्पतालमा आर्थिक बर्ष ०७१/७२ मा ११ हजार ३६४ जनाले सुत्केरी सेवा लिएका छन् । यो संख्या अघिल्लो आर्थिक बर्षको भन्दा १ हजार २ सयले बढी हो ।

अस्पतालमा ८ हजार ३१६ जनाले साधारण सुत्केरी गराएका छन् भने अप्रेशन गरेर सुत्केरी सेवा लिनेहरुको संख्या २ हजार ४६५ छ ।

यस्तै जटिल सुत्केरी सेवा ५८३ जनाले लिएको अस्पतालको तथ्यांक इकाइ प्रमुख नारायण रिजालले जानकारी दिए । अस्पतालमा १४० जना बच्चा मरेको जन्मिएको, २२ जना जुम्ल्याहा जन्मिएको र जन्मिएपछि ८ जना बच्चा मरेको तथ्यांक छ ।

सुत्केरी गराउँदा २ जना महिलाको मृत्यु भएको छ । यो कुल सुत्केरी सेवा लिने महिलाहरुको ०.०२ प्रतिशत हो । ४ केजी भन्दा बढीको बच्चा १७५ जना जन्मिएका छन् भने २५ सय ग्राम भन्दा कम तौल भएका २६६ बच्चाको जन्म भएको छ ।

उल्टो बच्चा जन्मिनेको संख्या ५३ छ । कुल सुत्केरी सेवा लिने बाहेक भरतपुर अस्पतालमा ७३८ जना सुत्केरी महिलाहरूमा जटिलता व्यवस्थापन गरिएको छ ।

यातायात र शोधभर्नाका लागि ४ करोड ५ लाख

भरतपुर अस्पतालमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत यातायात खर्च र शोध भर्नाका लागि आर्थिक बर्ष ०७१/७२ मा नेपाल सरकारबाट १ करोड ३५ लाख र दातृ निकायबाट २ करोड ७० लाख रकम प्राप्त भएको थियो । यो रकम सुत्केरीको यातायात खर्च र अस्पताल विकास समितिमा शोध भर्नाका लागि विनियोजन हुने गर्दछ ।

नेपाल सरकारबाट प्राप्त रकममध्ये १ करोड ३४ लाख ८४ हजार ९४० रुपैयाँ खर्च भएको छ भने दाताबाट प्राप्त रकममा २ करोड ४८ लाख ४३ हजार ५६० रुपैयाँ खर्च भएको भरतपुर अस्पतालका लेखापाल उमानाथ ढकालले जानकारी दिए ।

भरतपुर अस्पताललाई साधारण सुत्केरी गराए वापत प्रतिव्यक्ति १५ सय, जटिल सुत्केरी गराएको ३ हजार र अप्रेशन गर्नका लागि ७ हजार रकम शोध भर्नाका लागि प्राप्त हुन्छ ।

सुत्केरीलाई भुक्तानी कम

भरतपुर अस्पतालमा सुत्केरी गराएर डिस्चार्ज हुने सुत्केरीहरुलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ यातायात खर्च दिने गरिएको छ । यस्तै ४ पटकसम्म सरकारी स्वास्थ्य संस्थामा नियमित रूपमा परिक्षण गराएको प्रमाण अस्पतालमा पेश गरेमा प्रतिसुत्केरी ४ सय रुपैयाँ दिने व्यवस्था छ ।

त्यसका लागि अस्पतालमा आर्थिक बर्ष ०७१/७२ का लागि २० लाख रकम प्राप्त भएको थियो । त्यसमध्ये जम्मा ८७ हजार ६ सय मात्र खर्च भएको देखिएको छ ।

नियमित रुपमा सरकारी स्वास्थ्य संस्थामा जाँच नगराउने र गराएपनि त्यसको प्रमाण देखिने कागजात नल्याउँदा रकम खर्च हुन नसकेको लेखापाल ढकालले जानकारी दिए । ‘नियमित रूपमा ४ पटकसम्म सरकारी स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउनुपर्दछ भन्ने कुरा थाहा नभएको हुनसक्ने र कार्यक्रमबारे जानकारी नभएका कारणले रकम खर्च हुन नसकेको देखिन्छ,’ लेखापाल ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment