Comments Add Comment

काकाकुल बन्दै मन्थलीबासी, एक गाग्री पानी भर्न विहानभरी पालो

Ramechhap-Manthali-Problem-

नवराज पथिक

१८ साउन, मन्थली । रामेछाप सदरमुकाम मन्थली खाँदबारीकी सीता श्रेष्ठ विहानै उठेर जरुवामा पानी लिन गइन् । ६ बजेदेखि लाइनमा बसेको ९ बजे पानी भर्ने पालो आयो ।

सीता श्रेष्ठ मात्रै होइन मन्थलीबासीको हालत अहिले यस्तै छ । किनकी मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मेशिन बिग्रिएको भन्दै चार दिनदेखि पानी वितरण बन्द गरेपछि मन्थलीबासी जरुवामा भर पर्न बाध्य छन् ।

रामेछापको सदरमुकाम मन्थली बजारमा खानेपानीको व्यवस्थापन गर्नको लागि मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समिति बनेको छ । सो समितिले डिभिजन खानेपानी कार्यालय लगायत सरकारी तथा गैह्र सरकारी विभिन्न सहयोगी निकायको सहयोगमा मन्थली खानेपानी योजना निर्माण गरी खानेपानी वितरण गरीरहेको छ । मन्थली बजारको किनारमा रहेको तामाकोशी नदीमा इनार बनाएर लिफ्ट मार्फत मन्थली बजारको सिरानमा पानी तानेर खानेपानी वितरण हुँदै आएको छ ।

पानी तान्ने मेशिन विग्रिएको भन्दै उपभोक्ता समितिले ४ दिनदेखि खानेपानी वितरण गरेको छैन । स्थानीय डोकोमा गाग्री बोकेर जरुवा धाएको दृष्य देख्दा लाग्छ, नेपाली नागरिकको मौलिक अधिकारको रुपमा रहेको स्वच्छ पीउने पानी उपभोगबाट मन्थलीबासीहरु बञ्चित मात्र भएका छैनन् उपभोक्ता समितिले मागे जति पैसा तिर्दा पनि पानी पीउन पाएका छैनन् ।

‘हामीले उपभोक्ता समितिले मागे जति पैसा तिरेका छौं । अहिले पनि मासिक पाँच सय रुपैयाँ न्युनतम शुल्क तिरीरहेका छौँ । तर उपभोक्ता समितिको चरम लापरवाही छ । बिजुलीबत्ति बन्द भएपछि पानी आउँदैन, कहिले मिटर विगि्रयो भन्दै पानी बन्द गरिन्छ । यसले उपभोक्ताहरुलाई सास्ती दिएको छ,’ स्थानीय उपभोक्ता सुरेन्द्र्र केसीले भने ।

विकल्प के ?

Ramechhap-Manthali

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गत मन्थली बजारमा ६४८ धारा जडान गरिएका छन् । जसमा व्यक्तिगत धाराहरु ५९६ वटा छन् । त्यस्तै सरकारी कार्यालयहरुमा ३२, गैह्रसरकारी संघसंस्थामा ११, व्यक्तिगत घरमा रहेका कार्यालयमा ७ र २ वटा अतिरिक्त धाराहरु जडान गरिएको समितिले जनाएको छ । धारा संख्या र पानीको महसुल वर्षेनी बढाउँदै लगे पनि उपभोक्ता समितिले उपभोक्तालाई उचित सेवासमेत दिन सकेको छैन ।

मोटरबाट पानी तान्नुपर्ने भएकाले विद्युत सेवा बन्द हुँदा खानेपानी वितरण गर्न नसकिने उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र वियोगी बताउँछन् । उनले मेशिनरी सामान भएकाले बेलाबेलामा मेशिन विग्रने हुँदा खानेपानी आपूर्तिमा समस्या हुने गरेको बताए । ‘विद्युत आए पानी आउँछ, नत्र आउँदैन,’ उनले भने ।

मन्थलीमा बारम्बार विद्युत जान्छ भन्ने कुरा उपभोक्ता समितिलाई राम्रोसँग थाहा छ । तर पनि वैकल्पिक व्यवस्था गरिएको छैन ।

खानेपानी वितरणमा लापरबाही गरेर उपभोक्ता समितिले उपभोक्ता माथि अन्याय गरेको स्थानीय उपभोक्ता तथा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ बताउँछन् । ‘जिम्वेवारी लिने तर काम नगर्ने यो उपभोक्ता माथिको अन्याय हो । कि जिम्मेवारी पूरा गर्नु पर्छ, कि छाडिदिनु पर्छ । काम गर्ने अरु निस्कन्छन्,’ श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment