Comments Add Comment

युरोपको कुन देशमा कस्तो छ एनआरएन अधिवेशन रन्को ?

बसन्त रानाभाट/प्रकाश ढकाल
गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने विश्व सम्मेलन नजिकिँदै गर्दा प्रवासमा राष्ट्रिय समन्वय परिषदका अधिवेशनहरुले माहोल तताएका छन् ।

प्रत्येक दुई-दुई वर्षमा नेपालमा हुने विश्व सम्मेलन अगावै राष्ट्रिय समन्वय परिषदका अधिवेशन सकिसक्नु पर्ने भएकाले पनि माहोल तातेको हो ।

nrna_logo_latest-6 (1)गैरआवासीय नेपाली संघका युरोपमा रहेका २७ वटा राष्ट्रिय समन्वय परिषदमध्ये अहिलेसम्म ३ वटा मुलुकहरुमा मात्र अधिवेशन सम्पन्न भएका छन् । युरोपका १६ वटा मुलुकहरुले अधिवेशनको मिति तय गरिसके भने ७ जटा राष्ट्रिय समन्वय परिषदले अहिलेसम्म पनि मिति तय गर्न सकेका छैनन् ।

गैर आवासीय नेपाली संघको प्रभाव प्रवासमा बढिरहेकाबेला विदेशमा क्रियाशील राजनीतिक दल निकट संगठन, जातीय क्षेत्रीय संघ संस्थाहरु पनि अधिवेशनको रौनकमा डुबेका छन् । बिभिन्न देशहरुमा कार्यसमितिका अधिकांश पदहरुका लागि राजनीतिक दल निकट संगठनहरु प्यानल नै बनाएर नेतृत्वको लागि सक्रिय बनेका छन् ।

अधिवेशन नजिकिँदै जाँदा ‘कोठे बैठक’ र छुट्टाछुट्टै घरदैलो कार्यक्रमहरु पनि आ-आफ्नो ढंगबाट शुरु गरेका छन् । पछिल्लो क्रममा विदेशमा खोलिएका जातीय तथा क्षेत्रीय संस्थाहरुले पनि संघमा आबद्ध हुन निकै सक्रियता देखाएको पाइएको छ ।

युरोपमा कहाँ-कहाँ भयो अधिवेशन ?

गैर आवासीय नेपाली संघ युरोप क्षेत्र अन्तर्गत नर्बे, फिनल्याण्ड र स्पेन गरी ३ मुलुकमा अधिवेशन सम्पन्न भइसकेको छ । युरोपमा सबैभन्दा पहिले नर्बेमा मे १६ तारिकमा नै अधिवेशन सम्पन्न भएको थियो ।

राष्ट्रिय समन्वय परिषद् नर्वेको चौथो अधिवेशनबाट कुमार पण्डित अध्यक्षमा निर्बाचित भए । अध्यक्षका अर्का प्रत्यासी संजीव थापालाई ५१ मतले हराउँदै पण्डित बिजयी भएका हुन् ।

यस्तै गत जुन २७ मा राष्ट्रिय समन्वय परिषद फिनल्यान्डको अधिवेशनले बालकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।

यस्तै गत जुलाई २६ तारिकमा बार्सिलोनामा राष्ट्रिय समन्वय परिषद स्पेनको चौथो अधिबेशन पनि सम्पन्न भयो । अधिवेशनले आईसीसी सदस्यमा एकराज गिरीलाई प्रस्तावित गरेको छ भने मुक्तबहादुर गुरुङलाई अध्यक्षतामा निर्बाचित गरेको छ ।

अधिवेशन सम्पन्न गर्न गैरआवासीय नेपाली संघका महासचिव कुमार पन्त र युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ बार्सिलोना आएका थिए । यस्तै नर्बे र फिनल्याण्डको अधिबेशन सम्पन्न गर्न युरोप उपसंयोजक सोम सापकोटा पुगेका थिए ।

अगष्टमा १२ देशमा अधिवेशन हुँदै

गैरआवासीय नेपालीहरुको लागि युरोप क्षेत्र अगष्टको गर्मीसँगै मज्जाले तात्ने भएको छ । अगष्ट महिनामा मात्र १२ वटा राष्ट्रिय समन्वय परिषदहरुका अधिवेशनहरु सम्पन्न हुने छन् ।

तर, पहिलो गाँसमा ढुंगा भने झैं ईटलीमा अगष्ट २ मा हुने भनिएको अधिवेशन भने सम्पन्न हुन सकेको छैन । नेतृत्वका लागि बिबाद हुँदा अधिवेशन सम्पन्न हुन नसकेको हो ।

युरोप क्षेत्रका संयोजक अर्जुनकुमार श्रेष्ठ ईटली पुगेर छलफल गरेका छन् । सहमतिको प्रयास जारी रहेकाले केहि दिन भित्र टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

तर अगष्ट ९ तारिकमा सम्पन्न हुने भनिएको राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको पाँचौ अधिवेशनबाट बन्ने नयाँ कार्यसमिति सर्बसम्मत हुने पक्का भएको छ । आगामी कार्यकालको लागि आईसीसी सदस्यमा श्रीराम कंडेल, अध्यक्षमा हिमाल गुरुङ, बरिष्ठ उपाध्यक्षमा केशबराज पाण्डे, उपाध्यक्षमा महेन्द्र सुबेदी र झलक जिसी सर्बसम्मत चयन भएका छन् ।

अगष्ट १६ तारिकमा भने स्विजरल्याण्ड, चेक रिपब्लिक र पोर्चुगलको अधिवेशन हुँदै छ । एनआरएनए स्विजरल्याण्डको अध्यक्षका लागि हिरावाल गुरुङ र तेञ्जिङ शेर्पाले उमेद्वारी घोषणा गरेका छन् ।

पोर्चुगलको नेतृत्वमा भने हेमन्त सेढाई, भिम केसी ‘कमल’ र खेमराज रानाभाटको नाम चर्चामा छ ।
यसको ठीक १ साता पछि अगष्ट २३ मा बेल्जियम, रोमानिया र फ्रान्समा अधिवेशन हुँदैछ ।

सँधै चर्चा र बिबादमा बल्झने बेल्जियममा यसपटक सहमतिको प्रयास तिब्ररुपमा थालिएको छ । नेपाली जनसम्पर्क समिति पक्षधरहरुबाट गंगाधर गौतम र सीता सापकोटाले अध्यक्षमा उमेद्वार घोषणा गरेको भएपनि पछि सापकोटाले गौतमलाई समर्थन गरिन् । गौतमसँगै अध्यक्षका लागि सरु चापागाई र सीपी भट्टको नाम पनि चर्चामा छ । निर्बाचन भने ३० तारिकलाई तोकिएको छ ।

यता अगष्ट २४ तारिक हुने डेनमार्कको अधिवेशनलाई पनि बढी महत्वका साथ हेरिएको छ । डेनमार्कमा पनि एनआरएनको रौनक चलिरहेको छ । अधिवेशन नजिकिँदै जाँदा सदस्य संख्या बढाउने र प्रभाव पार्ने काम पनि बढ्दै गएको देखिन्छ ।

हालका अध्यक्ष दीपक सापकोटा सहमतिमा नयाँ नेतृत्व चयन हुनेमा उनी विश्वस्त देखिन्छन् । तर त्यो गर्नका लागि संघ संस्थाको तत्परतामा कमी देखिएको छ ।

यस्तै अगष्ट महिना कै २५ तारिकमा आयरल्याड, २९ मा स्विडेन र ३० मा राष्ट्रिय समन्वय परिषद साईप्रसको अधिबेशन सम्पन्न हुँदै छ ।

सेप्टेम्बरमा चार मुलुकमा अधिवेशन हुँदै

युरोप क्षेत्रमा अधिवेशन सम्पन्न गर्न अगष्ट महिनामा धेरै ठूलो चाप देखिए पनि सेप्टेम्बरमा भने चार मुलुकहरुमा मात्र अधिवेशन मिति तय भएका छन् । तर अन्य ७ मुलुकहरुमा अधिवेशनबारे अहिलेसम्म मिति तय नभएकाले यही महिनामा थपिने भने निश्चित प्रायः नै छ ।

सेप्टेम्बर १ तारिकको पहिलो अधिवेशन जर्मनीबाट हुने छ । यस्तै ६ तारिकमा राष्ट्रिय समन्वय परिषद रसिया र पोल्याण्डले अधिवेशन आयोजना गरेका छन् ।

सेप्टेम्बर महिनामा नै हुने एनआरएन युकेको अधिवेशनलाई धेरै महत्वका साथ हेरिएको छ । सँधै बिबादमा फँसिरहने युकेको अधिवेशनले यसपटक कस्तो सन्देश दिने हो सबैको प्रतिक्षाको बिषय बनेको छ । युकेको अधिवेशनले केन्द्रलाई समेत ठूलो असर पार्ने हुँदा निकै महत्वका साथ हेर्ने गरिन्छ ।

सधै बिबाद मिलाउन कठिन पर्ने राष्ट्रिय समन्वय परिषद बेलायतले अधिवेशनको मिति सेप्टेम्बर २० तारिक तय गरेको थियो । तर ४७ औं आईसीसी बैठकले सबै राष्ट्रिय समन्वय परिषदले १५ सेप्टेम्बर अगाडि नै राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नुपर्ने निर्देशन जारी गर्दै युके अध्यक्ष महेन्द्र कंडेललाई पत्राचार गरिसकेपछि भने अधिवेशनको मिति अघि सारिएको छ ।

संघले १२ सेप्टेम्बरमा अधिवेशन र १३ सेप्टेम्बरमा कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । अध्यक्ष पदका लागि मुख्यतः मुछेत्र गुरुङ, हीराधन राई, सूर्य नेम्वाङलगायतको नाम चर्चामा रहे पनि आधा दर्जनले दावी गरेका छन् ।

७ मुलुकले अझै तोकेनन् अधिवेशन मिति

अगष्ट १५ भित्रमा अधिवेशन गर्न नसके विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनमा भाग लिन नपाइने भनी केन्द्रको कडा निर्देशन जारी गर्दा पनि पनि अझै युरोपका ७ मुलुकमा अधिवेशनको मिति तय भएको छैन । मिति तोकेर समयमा नै अधिवेशन सम्पन्न गराउन युरोप क्षेत्रले कसरत गरिरहेको छ ।

अहिलेसम्म मितिसमेत नतोक्ने राष्ट्रिय समन्वय परिषदहरुमा अष्ट्रिया, बेलारुस, बुल्गेरिया, गि्रस, हंगेरी, स्लोभानिया र युक्रेन रहेको युरोप उपसंयोजक सोम सापकोटाले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको विधान २०१३ को दफा २४ को उपदफा २४, १ अनुसार राष्ट्रिय समन्वय परिषदले विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको मिति भन्दा बढीमा ६ महिना बाँकी रहने गरी राष्ट्रिय महाधिवेशन गर्नु पर्ने प्राबधान रहेको छ।

राष्ट्रिय महाधिवेशन सम्पन्न गरी आइसीसीले तोकेको पञ्जीकृत शुल्क प्रतिव्यक्ति ५ अमेरीकी डलर, सदस्यहरुको नामावली र आईसीसी सदस्यता शुल्क प्रतिव्यक्ति ५०० अमेरीकी डलर सचिवालयमा पठाउनु पर्ने महाधिवेशन नियमावलीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment