Comments Add Comment

प्रारम्भिक अनुसन्धान भन्छ- कांग्रेस नेता पौडेलको हत्या कार्यकर्ताबाटै

Murder-of-Ramji-Paudel-Bada

सन्देश श्रेष्ठ
२९ साउन, पोखरा । नेपाली कांग्रेसका जिल्ला तहका नेता रामजी पौडेल (बादल) को हत्या कांग्रेसकै कार्यकर्ताबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले हत्यामा संलग्न भएको भन्दै कांग्रेसकै राजु रानाभाटलाई पक्राउ गरेको छ ।

लेखनाथ १२ पावर हाउस निवासी ५२ वर्षीय पौडेलको शुक्रबार विहान लेखनाथ नगरपालिकाको गगनगौंडा नजिकै पृथ्वीराजमार्ग भन्दा करिव ५० मिटर तल शव फेला परेको थियो । उनको शरीरका विभिन्न ठाउँमा निलडाम र चोट छ ।

प्रत्यक्षदर्शीको बयान

विहीबार राति लेखनाथको लामेआहालमा रहेको कांग्रेसका स्थानीय नेता बुद्धिमान गुरुङको घरबाट मोटरसाईकलमा पौडेल आफ्नो घरतर्फ आउँदै गर्दा कांग्रेसका कार्यकर्ता विश्वास गौतम, प्रकाश गुरुङ लगायतका ८/१० जनाले गगनगौंडामा आक्रमण गरेको आफूले देखेको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य मनोज गुरुङले बताएका छन् । पौडेल मनोज गुरुङकै मोटरसाइकल चढेर राति साढे ९ बजे घरतर्फ हिँडेका थिए ।

आक्रमणबाट गुरुङ र तरुण दल कास्कीका उपाध्यक्ष नारायणहरी तिवारी पनि घाइते छन् । गुरुङका अनुसार विश्वास गौतम, प्रकाश गुरुङ लगायतले सुरुमा नारायणहरी तिवारीलाई मोटरसाईकल चलाइरहेको अवस्थामा आक्रमण गरेका थिए ।

‘तिवारीलाई कुटपिट गरेपछि मोटरसाईकल रोकेर छेक्न जाँदा हामीलाई पनि आक्रमण गरे,’ गुरुङले भने, ‘पौडेललाई उनीहरुले भाटा र रडले कुटीकुटी हत्या गरे । भाटाले टाउकोमा लागेपछि म पनि ढलें ।’ रातीको समय र लोडसेडिङ भएकाले आक्रमण गर्ने सबैलाई चिन्न नसकेको उनले बताए ।

अर्का घाइते तिवारीले आफूहरुमाथि आक्रमण भएको जानकारी बुद्धिमान गुरुङलाई गराएपछि विहीबार राति नै पौडेलको खोजी गरिएको थियो । शुक्रबार विहान ८ बजे मात्रै पौडेलको शव फेला परेको थियो । स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यस्तो छ घटनाक्रम

नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा पक्षका पौडललाई राजनीतिक प्रतिशोधले नै हत्या गरिएको एक कार्यकर्ताले बताए । नगर अधिवेशन नजिकिँदै गर्दा संस्थापन पक्षले देउवा पक्षलाई तर्साउन पौडेलको हत्या गरेको आरोप देउवा पक्षकाले लगाएका छन् ।

घाइते गुरुङका अनुसार भदौ २७ गते तालचोकमा नगर अधिवेशनबारे छलफल भइरहेको बेलामा विश्वास गौतमले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका नारायणहरी तिवारीलाई कुटपिट गरेका थिए । कुटपिट गर्दा रामजी पौडेलले उनीहरुलाई छुट्याएका थिए । पार्टी भित्रकै कार्यकर्ताबीच कुटपिट भएपछि भदौ २८ गते दिउँसो बुद्धिमान गुरुङको सक्रियतामा दुवै पक्षलाई राखेर विवाद मिलाउने प्रयास गरिए पनि विश्वास गौतम लगायत नआएपछि साँझ बुद्धिमान गुरुङको घरमा विवादबारे छलफल भएको थियो ।

छलफलमा बुद्धिमान गुरुङ, रामजी पौडेल बादल, नारायणहरी तिवारी, मनोज गुरुङ, मेघराज पौडेल, सञ्जय गुरुङ, शरण प्रधान, रविन केसी, विश्वास गौतम, प्रकाश गुरुङ, राजु रानाभाट लगायतका १५/१६ जना सहभागि थिए ।

छलफलमा प्रकाश गुरुङले पौडेललाई मुखै छाडेर तथानाम गाली गरेको र बुद्धिमान गुरुङको घरबाट बाहिर आएपछि कुट्छु भनेको स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउँछन् । कुट्छु भन्दै बाहिरिएका विश्वास गौतम, प्रकाश गुरुङले नियोजित रुपमा बाटो ढुकेर आक्रमण गरेको गुरुङले बताए ।

घटनामा संलग्न भएको आरोपमा रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ । लेखनाथ १६ का वडा सभापति रानाभाट केही दिन अघि मात्र सभापति बनेका हुन् ।

अधिवेशनको राजनीति

भदौ १७ गते हुने लेखनाथ नगर अधिवेशनमा संस्थापन पक्षका राजेन्द्रमणि लामिछानेको प्यानलबाट विश्वास गौतमले सदस्यमा उम्मेदवारी दिने कार्यकर्ता माझ बताएका थिए । देउवा पक्षका नारायणहरी तिवारीले सभापतिमा उम्मेद्वारी घोषणापछि संस्थापन पक्ष र देउवापक्षबीच विवाद बढेको कार्यकर्ताले बताए । कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा कोइराला र देउवा पक्षबीच कास्कीमा सदस्यता विवाद समेत रहेको कांग्रेस नेताहरु बताउँछन् ।

देउवा पक्षका बादल क्षेत्र नम्बर एकमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय पौडेलले इमान्दार नेताको छवि बनाएका थिए । कार्यकर्तामाझ निकै भिजेका पौडेलको अन्य पार्टीका नेताहरुसँग पनि राम्रो सम्वन्ध रहेको स्थानीय बताउँछन् ।

पौडेलको हत्यामा संलग्न भएको आरोप लागेका प्रकाश गुरुङ, विश्वास गौतम र राजु रानाभाट अहिले फरार छन् । प्रहरीले घटनाको अनुसन्धान भैरहेको र फरार व्यक्तिको खोजि भइरहेको बताएको छ ।

पृथ्वी राजमार्गमा प्रदर्शन

Pokhara Strike (2)

पौडेलको हत्या भएपछि कांग्रेस कार्यकर्ताले शुक्रबार दिनभर पृथ्वी राजमार्गको गगनगौडा खण्ड अवरुद्ध पारे । प्रहरीले शवको मुचुल्का तयार गरेर आफन्तलाई बुझाउने प्रयास गरेपनि हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने र सडक खोल्न नदिने अडान परिवारका सदस्यहरुले लिएका छन् ।

टायर बाल्दै गरिएको प्रदर्शनमा देउवा पक्षधर नेता कार्यकर्ता सहभागी छन् । आक्रोशित उनीहरुले घटनाका आरोपित विश्वास गौतमको ग १२ च ३२८० नम्बरको नीजि भ्यान जलाएका छन् । एउटा बसमा पनि तोडफोड भएको छ ।

बाटो अवरुद्ध हुँदा यात्रुहरुबीच बाटोमै अलपत्र परेका छन् । स्थानीय प्रशासनले बल प्रयोग गरेर बाटो खुलाउने प्रयास नगरेको भन्दै यात्रुहरुले भने आक्रोश पोखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment