Comments Add Comment

भारतबाट आयातीत माछामा विषाक्त रसायन

रविन्द्र घिमिरे

१३ भदौ, काठमाडौं । माछाका पारखी नेपालीहरु थुप्रै छन् । उनीहरु बजारबाट मरेका माछा किनेर ल्याएर स्वाद मानी मानी खान्छन् । तर, त्यस्ता माछामा प्रयोग हुने विषाक्त रसायनका बारेमा भने धेरैलाई जानकारी छैन ।

मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्‍याउन सक्छ । तर, सरकारले यस्तो अखाद्य पदार्थको प्रयोग रोक्न खासै प्रयास गरेको छैन ।

machha 2

माछा बजारमा भारतीय प्रभाव

नेपालमा झण्डै ८० प्रतिशत बजार भारतीय माछाले ओगटेका छन् । भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झण्डै ४/५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरुले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् ।
फर्मालिनबारे जान्नैपर्ने कुरा

फर्मालिनको वास्तविक नाम र्फमलडिहाइड्रेड हो । यो एक प्रकारको विषाक्त रसायन हो । शवहरु सड्न नदिन मूर्दाघरमा फर्मालिन प्रयोग गरिन्छ । मरेका माछालाई यसमा डुबाएपछि ताजा जस्तै देखिन्छ । तर, यस्तो फर्मालिन हालेको माछाको प्रयोग मानव स्वास्थ्यका लागि निकै हानीकारक हुन्छ ।

तत्काल कुनै असर नगरे पनि यसले दीर्घकालीन रोगहरु निम्त्याउने चिकित्सकहरु बताउँछन् । यसले विशेषगरी मुटु र मृगौलालाई असर गर्ने डा. किशोर यादवले जानकारी दिए । यसैगरी पेट पोल्ने, पाचनशक्ति कमजोर गराउने, अल्सर हुनेसहित स्नायुमा समेत असर गर्ने उनको भनाइ छ ।

‘यसबाट आँखामा असर गर्ने र क्यान्सरसम्म गराउने सम्भावना हुन्छ,’ उनले अनलाइनखबरसित भने । विश्वभरि नै फर्मालिनको प्रयोग प्रतिबन्धित छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले खानेकुरामा फर्मालिन शून्य हुनुपर्ने भनेको छ ।

जिउँदो माछाको व्यवसाय फस्टाउँदै

काठमाडौंका विभिन्न स्थानमा अचेल जिउँदो माछा बिक्री केन्द्रहरु प्रशस्तै भेटिन्छन् । तीन वर्षदेखि सुरु भएको यस्तो व्यापार फस्टाउँदै गएको व्यवसायीहरुको भनाइ छ ।

मरेका माछा बिक्री गर्ने पसलका तुलनामा जिउँदो माछा बिक्री केन्द्र अत्यन्तै कम छन् । तर, उपभोक्ताहरु मरेका भन्दा जिउँदा माछातर्फ आकषिर्त भइरहेका छन् । व्यवसाय सुरु गर्दा घाटा व्यहोरेका व्यवसायीले पनि अब राम्रो मुनाफामा कमाउन थालेको पाइन्छ ।

जिउँदो माछा रोज्नुको मुख्य कारण यसको ताजापन हो । मरेका माछामा विषाक्तताको जोखिम हुने भएकाले पनि जिउँदो माछामा आकर्षण बढेको छ । मरेका माछामा फर्मालिनको प्रयोगको सम्भावना बारे बुझेका र जिउँदो माछाको स्वाद थाहा पाएका उपभोक्ता यसका पारखी छन् ।

काठमाडौंमा बेचिने जिउँदो माछा प्रायः चितवन, बारा र सर्लाहीबाट आउँछन् । पोेखरीबाट निकालेर प्लाष्टिकका ट्यांकीमा राखेर ल्याइने माछालाई पसलमै बनाइएका अस्थायी पोखरीमा राखिन्छ । ग्राहक आएपछि मात्र त्यसलाई निकालिन्छ र बेचिन्छ । यसैकारण निकै ताजा माछा उपभोक्ताको भान्छासम्म पुग्छन् । जसमा फरक स्वाद र पूर्ण स्वस्थता हुने व्यवसायी बताउँछन् ।

अधिकांश घरायसी उपभोक्ता

काठमाडौंको चाबहिलमा जिउँदो माछाको बिक्री सुरु भएको हो । त्यसपछि नयाँबानेश्वर, गोंगबु, कुलेश्वर, कलंकी, बौद्ध, बल्खु, कपन लगायतका धेरै ठाउँमा जिउँदा माछा बिक्री गर्ने पसलहरु खुलेका छन् । नयाँ बानेश्वरमा लाइभफिस हाउस सञ्चालन गरिरहेका ललन यादव जिउँदो माछाको व्यवसायबाट सन्तुष्ट छन् ।

आफ्ना ९९ प्रतिशत ग्राहक घरायसी उपोभोक्ता नै भएको यादव बताउँछन् । होटल तथा व्यवसायिक प्रतिष्ठानहरुले जिउँदो माछा किन्दैनन् । तैपनि उनको पसलबाट मासिक औषत २५ देखि ३० क्वीन्टल जिउँदो माछा बिक्री हुन्छ । एकपटक ल्याएको जिउँदा माछा दुई दिनलाई मात्रै पुग्ने यादवको भनाइ छ ।

काठमाडौंमा रहु, नैनी, भकुरा, बिगहेड, कमनकार्प, ग्रासकार्प र सिल्भरकार्प जस्ता माछा जिउँदै किन्न पाइन्छ ।

पैसा हेर्ने कि स्वास्थ्य ?

तुलनात्मक रुपमा मरेका माछाभन्दा जिउँदो माछा केही महंगो पर्छ । भारतबाट आएका मरेका माछा २ सय ८० रुपैयाा प्रतिकेजीसम्म बिक्री भए पनि जिउँदो माछा ४ सयदेखि ४ सय ५० रुपैयाँसम्म पर्छ । केही प्रजातिका माछा किलोको ६ सय रुपैयाँसम्म पर्छ ।

जिउँदै ल्याउँदा लाग्ने लागत र अस्थायी पोखरीमा हुने खर्चका कारण जिउँदो माछा महंगो पर्ने व्यवसायी यादवको भनाइ छ । तर, ताजा र स्वास्थ्यवर्द्धक माछा खानका लागि उपभोक्ताले पैसाको मुख हेर्न नहुने उनी बताउँछन् । एकपटक जिउँदो माछाको स्वाद लिनेहरु स्वादकै कारणले पनि दोहोर्‍याएर पसलमा फर्किने गरेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment