Comments Add Comment

सुदूरपश्चिममा सुरु भयो ‘गौरा पर्व’

gauraa-4

१७ भदौ, भीमदत्तनगर । सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व बुधबारदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।

महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरुको भनाइ छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।
देउडाको रौनक

gauraa-Deuda7

सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दसैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् ।

गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । गौरा पर्वलाई एकताको पर्वका रुपमा पनि लिइन्छ । गौरा पर्वका लागि काम विशेषले घर बाहिर गएका व्यक्तिहरु घर फर्किने गर्छन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रशन्न हुने जनविश्वास छ ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उहाँकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ । पछिल्ला केही वर्षयता देशको राजधानीमा समेत देउडाले लोकप्रियता पाउँदै गएको छ । बसाइँ सराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने देउडाप्रति सबैको आकर्षण बढेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment