Comments Add Comment

सिके राउत र ज्वालासिंह आत्तिए, मधेसमा नयाँ ध्रुवीकरण सुरु

१७ भदौ, काठमाडौं । मधेसमा विखण्डको प्रचार एवं हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका ज्वालासिंह लामो समयदेखि गुपचुप एवं निश्क्रिय थिए । तर, संयुक्त मधेसी मोर्चाले आन्दोलन सुरु गरेपछि उनी मधेसी नेताविरुद्ध वक्तव्यवाजीमा उत्रिएका छन् ।

CK raut and jwala sing
त्यस्तै गरी स्वतन्त्र तराईका नाममा मधेसमा गतिविधि गर्दै आएका डा. सिके राउतले पनि मधेसी नेताहरुको विरोधमा फेसबुकमा स्टाटस लेखेर दिन गुजार्न थालेका छन् । आफ्ना कार्यकर्तालाई मधेसी नेताहरुले गिरफ्तार गराएको आरोपसमेत डा. राउतले लगाएका छन् ।

विभिन्न व्यक्तिको हत्या एवं चन्दा असुलीपछि प्रहरीबाट जोगिन भूमिगत भएका ज्वालासिंहले हस्तलिखित वक्तव्यमार्फत् मधेसवादी नेताहरुलाई दलाल र चाटुकार नेताको संज्ञा दिएका छन् ।

मधेसमा भइरहेको स्वायत्त मधेस प्रदेशको आन्दोलनलाई पहाडे र मधेसीवीचको साम्प्रदायिक तनाबमा फेर्ने षड्यन्त्रमा ज्वाला सिंहले चलखेल थालेको उनको वक्तव्यमा उल्लेखित भाषाले नै स्पष्ट पारेको छ ।

ज्वाला सिंहले मधेसवादी नेताहरुलाई ‘जनतालाई मूर्ख बनाउने पहाडियाका भक्त एवं दलाल’ भन्दै अनर्गल गाली गरेका छन् ।

tarai

संविधानसभामा प्रतिनिधित्व गर्ने मधेसवादी दलहरुले मधेसमा आन्दोलन थालेेपछि आफ्नो अस्थित्व संकटमा पर्ने देखेर ज्वालासिंह मधेसवादी नेताको विरुद्धमा उत्रिएका हुन् ।

सिंहले मधेसको आन्दोलनलाई पहाडियाविरुद्ध प्रयोग गर्न खोजे पनि अहिलेसम्म मधेसी जनताले आफ्नो आन्दोलनलाई राज्यका विरुद्धमा मात्र केन्दि्रत गरेका छन् ।

कैलालीदेखि सप्तरीसम्मका आन्दोलनहरु कुनै पनि समुदायप्रति लक्षित नभई राज्यसँगको संघर्षमा केन्दि्रत भइरहेकाले ज्वाला सिंहको साम्प्रदायिकता भड्काउने षड्यन्त्र अहिलेसम्म सफल हुन नसकेको मधेसी मोर्चाका नेता बताउँछन् ।

सिके राउत पनि संकटमा

मधेसमा विखण्डनको बीउ रोप्ने प्रयासमा लागेका डा. सिके राउत यतिबेला फेसबुकमा स्टाटस लेखेर मधेसी मोर्चाका नेताहरुलाई गाली गर्दै दिन कटाउन बाध्य छन् ।

बिराटनगरमा आफ्ना कार्यकर्ता अजय मिश्रलाई मधेसी दलकै जिल्ला अध्यक्षले गिरफ्तार गराएको डा. राउतको आरोप छ । यसबारे मधेसी नेता उपेन्द्र यादव, महन्थ ठाकुरलगायतका नेतासँग कुरा गर्दा मिश्रलाई रिहाइ नगराएको डा. राउतले बताएका छन् ।

आफूहरुलाई मधेसी नेताले घुसपैठियाको आरोप लगाउने गरेको डा. राउतको भनाइ छ । मधेसमा आफ्ना कार्यकर्तालाई आन्दोलनमा घुसाएर मधेसी नेताहरुले इन्काउन्टरमा पार्न खोजेको भन्दै राउतले मधेसी नेताहरुसँग सतर्क रहन र भीडभित्र पसेर गोली नथाप्न कार्यकर्तालाई सचेत गराएका छन् ।

‘हरेक जिल्लामा ‘स्वराजी’ कार्यकर्तालाई फसाउने र मार्ने षडयन्त्र मधेसी पार्टीले रचेका छन्,’ ‘सिके राउतले भनेका छन्-‘विभिन्न जिल्लामा आन्दोलनको संयोजक वा सदस्य बनाएर, उनीहरुलाई पक्डाएर मुद्दामा फसाउने या आन्दोलनका नाममा इन्काउन्टर गराउने साजीश चलिरहेको छ ।’

CK raut_
आफ्ना कार्यकर्ताका अघिपछि रहेका मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुंगा हान्ने र आफ्ना कार्यकर्ताहरु गोली खान बाध्य हुने गरेको डा. राउतको दाबी छ ।

मधेस आन्दोलनले ल्याएको ध्रुवीकरण

मधेसका ठूला नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका चर्चित नेताहरु सडकमा आएपछि डा. राउत र ज्वाला सिंहको ‘बिजनेस’ संकटमा परेको छ । पछिल्लो आन्दोलनसँगै मधेसमा नयाँ राजनीतिक ध्रुवीकरण सुरु भएको छ ।

र, यही ध्वीकरणका कारण विजयकुमार गच्छदार पनि अर्को मोर्चा बनाएर शान्तिपूर्ण आन्दोलनमा जान बाध्य बनेका छन् । यसअघि सबै मधेसी नेताहरु काठमाडौंमा मात्र केन्दि्रत हुँदा डा. सिके राउतले मधेसलाई आफ्नो एकछत्र बपौती ठान्दै आएका थिए । तर, अहिले मोर्चाको आह्वानमा मधेसका जनता सडकमा आएपछि डा. राउत छटपटाएका छन् ।

प्रहरीको नजरबन्दमा रहेका राउतका आफ्ना कार्यकर्ताहरु धमाधम मधेसी मोर्चाको आन्दोलनमा समाहित हुन थालेपछि छटपटाएको र अनर्गल प्रचारमा उत्रिएको मोर्चाका नेताहरु बताउँछन् ।

‘हामीले मधेसी जनताको हक अधिकार मागेका हौं, विखण्डन होइन,’ मोर्चाका एक नेताले अनलाइनखबरसँग भने, ‘अहिले भइरहेको शान्तिपूर्ण आन्दोलनबाट आत्तिएकाहरुले हाम्रा नेताको बदनामी गर्ने प्रयास गरिरहेका छन् । तर, मधेसी जनता अहिले पनि मोर्चाकै साथमा छन् भन्ने स्पष्ट भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment