Comments Add Comment

बाबुरामः अस्त्र बनाउँछन्, चलाउन जान्दैनन्

Ramesh-Neupaneरमेश न्यौपाने

संविधान जारी गर्ने संघारमा मुलुक पुगेको बेला रोचक परिदृश्यहरू सतहमा आएका छन् । संविधान कस्तो बन्दैछ भन्ने विषयमा खासै बहस छैन । अत्यास र आतंकको बीचबाट भए पनि संविधान प्राप्त गर्नुछ । बस्, अहिले यत्ति हो ।

संविधान बनाएको जस कसले लिने भन्ने होडबाजी चल्ने त सामान्य नै भयो । संविधान निर्माणमा कहिले प्रशंसित र कहिले आलोचित बाबुराम भट्टराईका नाममा केही टिप्पणी लेख्नुपर्ने भएको छ ।

बाबुराम एउटा मान्छे हुन्, प्रतिभा र कमजोरी सहितको । नेपाली समाजले कहिले मसिहा बनाउन खोज्छ, कहिले महिषासुर । केही दिन अघि उनले भनिदिए ‘यो देशको अखण्डता युगयुगसम्म जोगाउन सक्छौं कि सक्दैनौं भन्ने कुरा आजको २४ घण्टामा शायद फैसला हुनेछ ।’

नेपालका केही मिडियालाई नम्बरी मसला जुटिहाल्यो । बाबुरामले देश टुक्राउने अभिव्यक्ति दिए भनेर डंका पिटियो । कतिपयले सजिलै पत्याइदिए र उनका विरुद्ध कोकोहोलो मच्चाए । एउटा मिडियाले त भारतीय राजदूतसहित उनको पार्टीका अध्यक्ष समक्ष प्रक्रिया नरोके पार्टी फोड्ने धम्की दिए भन्नेसम्म प्रकाशन गर्न भ्यायो ।

आजको विश्वमा एउटा देशको प्रभूत्व त्यस देशको विशाल भौगोलिक क्षेत्रफलले मात्र गर्दैन । त्यस देशले अंगालेको विचार, राजनीतिक व्यवस्था, अर्थनीति र विज्ञान तथा प्रविधिको क्षेत्रमा आर्जन गरेको विकासले को कति शक्तिशाली भन्ने निर्धारण गर्छ । संविधानसभाभित्र रहेका दललाई अन्तिम पटक वार्तामा ल्याएर सबैलाई प्रक्रियामा सहभागी गराउने कुरा संवैधानिक–राजनीतिक संवाद तथा संवैधानिक समितिका सभापतिबाट आउनु के अपराध भयो भन्ने कुरा कसैले भनेनन् ।

देशमा कर्फ्यू लागेको छ, मानिसहरू संविधानसभा छाड्दैछन् । तिनीहरूको फर्कने बाटो बन्द छ । यदि त्यस्तो भएको अवस्थामा यसले विकराल रूप लिन्छ र नेपालीहरूको अखण्ड मनोविज्ञान भत्किन्छ भन्ने सोझो कुरालाई घुमाइफिराई उनलाई संविधानविरोधी रंग पोत्न खोजियो । फेरि त्यसलाई दक्षिणसँग जोडेर पनि एउटा विचित्रको स्वैरकाल्पनिक चित्र तयार पारियो ।

नेपालका कुनै नेता छैनन् जसको बैठक कक्षमा भारतीय राजदूतलाई पस्न अप्ठेरो होस् । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आँगन पनि रञ्जित रेका लागि कुनै अपरिचित थलो पक्कै होइन होला । जस जति आफ्नै पोल्टामा र अपजस जति बाबुरामको थाप्लोमा कसरी हाल्ने भन्ने विषयमा पारंगत अध्यक्षले रञ्जित रे आफ्नो निवासमा आउने
सूचना पाएपछि बालुवाटारमा सँगै रहेका बाबुरामलाई साथै लिएर गए । सञ्चार माध्यमले सनसनीपूर्ण समाचार सम्प्रेषण गरे । दाहालले समाचारको खण्डन गर्ने कुनै मन गरेनन् । सूचनाको गहिराईमा पुग्ने, सत्यतथ्य जाँच्ने हाम्रो चलनै छैन । दृश्यमा जे देखियो त्यसैलाई सत्य ठानेर धारणा बनाइहाल्ने र प्रतिक्रिया जनाइहाल्ने त हाम्रो परम्परा नै भइहाल्यो ।

बाबुरामले संविधान निर्माणका निम्ति भगीरथ प्रयत्न गरे । यसो भन्नलाई उनको भक्त हुनुपर्दैन । संवाद समितिमार्फत उनले थालेको पहल कसैबाट छिपेको छैन । यो बेग्लै कुरा हो उनले एउटा स्तरमा विकास गरेको परिस्थितिलाई कहिले पार्टी भित्रैकाले, कहिले बाहिरकाले तुहाइदिन्थे । उनी प्रधानमन्त्री हुँदा जेठ २ गते हात्तीवन रिसोर्टमा बनेको सहमति के कारणले तुहियो ? त्यतिखेर बनेको दलहरूबीचको सहमति अहिले बन्न लागेको संविधानको अन्तर्वस्तुभन्दा जनमुखी र प्रगतिशील थियो कि थिएन ? बाबुरामको भागमा संविधान बनाएको श्रेय जाने भयो भनेर क–कसलाई स्लीपिङ ट्यावलेट खाएर सुत्नुपर्‍यो ? आफ्नो हैसियतको ख्यालै नगरी कुन–कुन समुदायलाई आत्मघाती र अन्तर्विरोधी कदम चाल्न कसले उक्सायो ?

जेठ ३ गतेदेखि नै सहमतिको विरूद्धमा अरण्यरोदन गर्दै को–को हिंडे ? त्यतिले नपुगेर सर्वोच्च अदालतबाट संविधानसभाको आयु स्वत: समाप्त हुने फरमान जारी गरियो । बाबुरामले संकटकालको कलंकको टीका लगाएरै भए पनि थप ३ महिनामा सहमति जुटाएर संविधान बनाउँछु भन्दा समेत त्यसो गर्न दिइएन । उल्टै संविधानसभा विघटनको आरोप उनीमाथि लगाइयो । उनले निर्वाचनको घोषणा गरे । निर्वाचनको परिणाम जस्तो आए पनि संविधानसभाबाटै संविधान बन्ने कुरा सुनिश्चित भयो । आज इतिहासको यो यथार्थ बिर्सियौं भने इतिहासमाथि नै ठूलो अन्याय हुनेछ ।

माओवादी भित्र ‘शान्ति र संविधान’ बाबुरामको लाइन हो । यो देश दुनियाँलाई थाहैछ । यो दिशामा इमानदार प्रयत्न पनि उनले गरेकै हुन् । आज संविधान जारी गर्नै लागेको बेलामा उनको उछित्तो काढेर संविधान विरोधी देखाउन उनको पार्टीभित्र र बाहिरबाट पर्याप्त कसरत भएको सजिलै बुझ्न सकिन्छ । आखिर किन यस्तो भएको होला ?

बाबुराम अस्त्र बनाउने श्रमिक हुन्, अस्त्र चलाउन जान्दैनन् । आफूले तयार पारेको अस्त्रले अरुले निशाना लगाएकोमा नै आनन्दित हुन्छन् । जब त्यो अस्त्रले आफैंलाई दागा धरेको पाउँछन्, अनि मात्र झस्किन्छन् । उनको ‘शान्ति र
संविधान’को अस्त्र अध्यक्ष दाहालले पटक–पटक अपहरण गरे । उनले कहिल्यै अस्त्रको स्वामित्वको दावी गरेनन् । त्यही अस्त्र प्रयोग गरेर बाबुरामको राजनीतिलाई पटकपटक पासो थाप्छन् अध्यक्ष दाहाल ।

त्यसो त दाहालसँग यो विलक्षण प्रतिभा भएकै कारण उनी त्यस पार्टीका आजीवन मुखिया छन् । नयाँ ढंगको पार्टी बनाउने कुरा बाबुरामले उठाउँदा ज्यानकै खतरा हुने गरी उनलाई बन्दी बनाइयो । नयाझ् शक्तिको कूरा उनले अहिले उठाउझ्दा भारतका केजरीवालबाट प्रभावित भनेर दाहाल निकट सञ्चार माध्यम र व्यक्तिबाट सस्ता हल्ला
मच्चाइयो । विविसीका रविन्द्र मिश्र, केही चर्चामा रहेका तर खासै योगदान नगरेका युवा नेतासँग मिलेर पार्टी खोल्न लागेको फत्तुर लगाइयो ।

उनको कुरा गहिरोसँग बुझाउनै नदिने झेली खेल खेलियो । उनले पार्टीभित्र फरक मत राख्नेवित्तिकै पार्टी फुटाउन लागेको परम्परागत र बनिबनाऊ आरोप लगाईयो । नयाँ ढंगको पार्टी बनाउने र पार्टीलाई निरन्तर नयाँ शक्ति बनाइराख्ने १५ वर्षदेखि उनले भन्दै आएको कुरालाई सम्झिन र मनन गर्न आवश्यक ठानिएन । सत्य पत्ता लागेपछि भ्रमको फसल फस्टाउँदैन भन्ने कुरा भ्रमको खेती गर्नेलाई राम्रैसँग थाहा हुने नै भयो ।

एमाओवादीका अध्यक्षबाट निर्देशित केही सञ्चार साधन पार्टी अध्यक्षको गुणगान र बाबुरामको दोहोलो काढ्ने उपाय सोचेरै दिन बिताउँछन् । तिनको नियुक्ति नै त्यसका लागि भएको हुन्छ । आवश्यकता अनुसार फूलबुट्टा भरेर ती प्रस्तुत
गरिहाल्छन् । बाबुरामसित कहिल्यै सत्ता भएन । पार्टी सत्ताले त उनलाई जति अपमान कसलाई गरेको होला ? सरकारमा बस्दा पनि पार्टी सत्ताको छायाँमै उनको कार्यकाल गुज्रियो । बाबुराम सरकार पतन गराउन सबैभन्दा बढी आफ्नै पार्टी लाग्यो ।

पार्टीको हेटौँडा महाधिवेशनमा अचुक सूत्र भनेर प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरा पार्टी अध्यक्षले घोषणा गरे । बाबुरामकै नेतृत्वमा चुनावमा जानेकुराको विकल्प सबभन्दा बढी आफ्नै पार्टीले खोजी गर्‍यो । दाहालको
वाहवाही भयो, उनी मखलेल भए । जब परिणाम उल्टो निस्क्यो, खिलराजलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बाबुरामको हो भनेर निर्लज्ज भनिदिए । त्यो पनि जगतले पत्याइदिए ।

नेपाली राजनीतिमा भारतीय शासक विरोधी उल्लेख्य जनमत छ । यो तथ्य राम्रोसँग बुझेका दाहालले बाबुरामसँग पार्टी एकता गर्दैदेखि भारतसँग बाबुरामको निकटता छ भन्ने प्रचार गराए । एकलौटी संगठन कब्जा गरेका उनले एकोहोरो यो मन्त्र तलसम्म फैलाएर बाबुराम विरोधी मनोविज्ञान जबर्जस्त थोपरिदिए । नेपालको कम्युनिस्ट पार्टीमा यो नौलो मन्त्र होइन । स्थापनाकालदेखि नै चलनमा आएको हो । कसैलाई सिध्याउन पर्‍यो भने भारतपरस्तको तक्मा भिराइदिए पुगिहाल्ने । दाहालले बाबुरामको लोकप्रियताको हत्या गर्न यो हतियार सयौंपटक उठाइरहन्छन् ।

बाबुरामले भारत भ्रमण गरे । इतिहासमा पहिलोपटक दूताबासलाई भेटघाट थलो बनाए उनले । दूताबासका कर्मचारी राखेरै छलफल गरे सबैसँग । मिडियाले यस्तो पारदर्शी भेटघाटको शुरुवातलाई समेत सकारात्मक कोणबाट प्रस्तुत गरेन । केही समयअघि माओवादी अध्यक्ष र त्यसपछि अन्य पार्टीका नेताहरू भारत भ्रमणमा निस्किए । लिपुलेक नाकामा भएको सम्झौता सम्बन्धमा कुरा उठाउँदा भारतीय प्रधानमन्त्री मोदीले सुनेको नसुन्यै गरे भन्ने सुनियो । त्यो गोप्य भेटमा मोदीले चासोपूर्वक के चाहिँ सुने भन्ने बाहिर आएन । नेपाली नेताहरुको त्यस्ता गोप्य भेटघाटमा हुने छलफलको विषय कहिल्यै बाहिर आउँदैन ।  त्यस्तै भेटलाई राष्ट्रवादी र युगान्तकारी भन्ने विशेषण पनि हामीले नै भिराइदियौं ।

माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा उठायो । संसदीय व्यवस्थामा शासकीय स्वरुप प्रत्यक्ष हुँदा स्थायित्व, विकास र संसदीय व्यवस्थाको एक हदसम्म सुधार हुन्थ्यो । समकालीन नेताहरूले आफ्नो स्थानको गणित
गरे अनि दाहालले फ्याट्ट भनिदिए यसमा फरक मत राखेर जान्छौं । वास्तवमा यो मुद्दा भित्र र बाहिरबाट बाबुरामलाई छेक्नकै लागि तुहाइएको थियो ।

संविधानको संशोधन प्रस्तावमा छलफल हुँदा जनताले सबैभन्दा बढी सुझाव दिएको विषय प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, कम प्रदेश संख्या र धर्मनिरपेक्ष शब्द नराख्ने विषय थिए । प्रदेश संख्या ८ बाट ६ भयो । पछि ७ भयो । धर्म निरपेक्षताको व्याख्या थपेर धर्मनिरपेक्ष शब्दको अर्थ नै अर्को बनाइयो । शासकीय स्वरुपमा कुनै परिवर्तन गरिएन । बाबुरामले कुरा उठाइरहे तर जनमतको कुनै सुनुवाई भएन ।

बाबुरामले जसरी पनि संविधान बनाउनैपर्ने मत राख्दा एक थान संविधान भनेर खिसी गर्ने गरिन्थ्यो । उनले सबैलाई समेट्ने प्रयत्न गरौं भन्ने संवाद समितिबाट पटकपटक गर्दै आएको कुरालाई अहिले आएर दक्षिणको मनसाय उनको बोलीमा खोज्न लगाउने प्रवृत्ति नौलो होइन । यतिबेला माओवादी अध्यक्ष दाहाल चर्चामा छन् संविधानवादी
भएकोले । मधेसको एउटा मनोविज्ञान संविधान निर्माण प्रक्रिया बाहिर छ । थारु समुदायलाई बुटले कुल्चेर राखिएको छ । जनमुखी संविधान छँदैछैन । यसको नकारात्मक परिणाम आउन थाले ‘त्यतिखेर बाबुरामको कारणले सम्झौता गरिएको थियो’ भनेर दाहालले भनिदिए आश्चार्य नमाने हुन्छ ।

दाहाललाई शिखण्डी बनाएर सबै आफ्ना एजेण्डा यथास्थितिवादी शक्तिले थोपरेकै हो । बदलामा दाहालले स्याबासी पाइरहेका छन् । बाबुरामलाई कहिलेकाहीँ आवश्यक भन्दा बढी वाहवाही पनि यस्तै जमातले गरेको हुन्छ । दाहाललाई प्रशंसा गर्दा तिनै राम्रा र बाबूरामलाई गर्दा नराम्रा हुन सक्दैनन् ।

अन्तरपार्टी संघर्षको नियमलाई मान्ने हो भने पार्टीको संस्थापन पक्षले अर्को पार्टीको अल्पमत वा विद्रोही पक्षसँग निकट सम्बन्ध बनाउन चाहन्छन् । शक्तिकेन्द्रहरूको पनि त्यही नियम हुन्छ । तर माओवादी पार्टीको हकमा शक्ति
केन्द्र र अन्य पार्टीले संस्थापनसँग हातेमालो र अल्पमतको तीव्र आलोचना गरिरहेका छन् । यसको अर्थ के हो भने माओवादी पार्टीको विचार, मुद्दा र भविष्य दाहालसँग होइन भट्टराईसँग छ भन्ने बुझिन्छ । प्रतिस्पर्धी पार्टीले असुरक्षित
महसुस गर्ने नै विचार र मुद्दासँग हो । विचारहीन र मुद्दाविहीन व्यक्तिलाई काँधमै बोकेर हिँडे पनि केही अहित गर्दैन भन्ने तिनलाई राम्रो हेक्का भएकै हुनुपर्छ ।

नि:सन्देह समकालीन नेताहरूमध्ये बाबुराम यो देशका सबैभन्दा आशालाग्दा नेता हुन् । उनले आर्थिक समृद्धिसँगै देशलाई समुन्नत बनाउने योजना जनतासमक्ष पेश गर्नुपर्छ । संविधान निर्माणको क्रममा रहेको उनको अथक प्रयास जति छोप्न र भ्रमित पार्न खोजिए पनि झन्–झन् उजागर हुनेछ । नेपाली जनता यति चाँडै दिग्भ्रमित भइहाल्दैनन् ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment