Comments Add Comment

अग्निपरीक्षामा ओली: के-के छन् चुनौती

Kp-oli-At-Press-Meet

अरुण बराल/ विश्लेषण
२२ असोज, काठमाडौं । कुनै जटिल चलखेल भएन भने आइतबारदेखि एमाले अध्यक्ष केपी ओली देशको प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । प्रधानमन्त्री बन्ने सम्भावनासँगै ओलीका सामु जटिल चुनौतीले पनि पछ्याइरहेका छन् ।
एमाले अध्यक्ष ओलीका चुनौतीबारे विश्लेषण गर्नुपूर्व उनीबारे केही ‘पब्लिक ओपिनियन’को चर्चा गरौं ।

१. शुक्रबार बानेश्वरको एक सैलुनमा दाह्री काट्दाकाट्दै टक्क अडिएर मधेसी मूलका एक युवकले भने- ‘यो ओली प्रधानमन्त्री भयो भने देश बर्बाद हुन्छ, नाकाबन्दी पनि खुल्दैन, नेपाल सिरियाजस्तै बन्छ ।’

२. नयाँ बानेश्वरको इन्द्रेणी होटलको सामुन्नेमा गायक कृष्ण कँडेल भेटिए । उनले पनि केपी ओलीकै नाम लिए । उनले भने-‘ओलीलाई प्रधानमन्त्री बन्न नदिने हो भने यो देश भारतले कब्जा गर्‍यो भन्ने ठाने हुन्छ, हामीले भारतसँग किन झुक्ने ? ओली प्रधानमन्त्री नहुनु भनेको हामी भारतसँग झुक्नु हो ।’

३. विहीबार राति एकजना एमाओवादीका केन्द्रीय सदस्यले टेलिफोनमा भने- ‘तपाईले प्रष्ट बुझिराख्नोस्, ओली प्रधानमन्त्री बन्नु भनेको नेपालीहरुले जित्नु हो, कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री बन्नु भनेको भारतले जित्नु हो । यो प्रष्टै हो, बुझिराख्नोस् ।’

यी तीन परिघटनाले चिया पसलदेखि महलसम्म भइरहेका वर्तमान राजनीतिक चर्चा परिचर्चाको प्रतिनिधित्व गर्छन् । केपी ओलीप्रति मानिसहरुको ठूलो आशा र भरोसा पनि छ । अनि त्यही मात्रामा अविश्वास र आशंका पनि छ भन्ने यसले स्पष्ट पार्छ ।

नेपाली समाज तीव्ररुपमा ध्रुवीकृत भइरहेका बेला ओलीले सरकार सञ्चालनको नेतृत्व गर्ने तयारी गरिरहेका छन् । तर, उनी आफैं ध्रुवीकृत नेताका रुपमा चर्चामा छन् ।

यस्तो परिस्थितिमा ओलीका सामुन्नेमा खासगरी चारवटा चुनौती मुख्य छन् :

केपी ओली असक्षम नेता होइनन् । अहिले सिंगो एमालेले एक ढिक्का भएर उनलाई साथ दिएको छ । अरुको पनि साथ पाइरहेका छन् । उनीसँग एमालेका सक्षम नेताहरुको ठूलो टीम छ । खाँचो एउटै कुराको छ, मधेसी, थारु र जनजातिलाई हेर्ने उदार दृष्टिकोण ।

पहिलो चुनौती : मधेसमा भइरहेको लामो समयको आन्दोलनलाई साम्य पार्नुपर्ने र चाडबाडमा सहज वातावरण बनाउनुपर्ने ओलीका सामु रहेको पहिलो चुनौती हो । यसमा उनीसँग दुईवटा उपाय छन् : या त यसलाई बल प्रयोग गरेर सहज बनाउने, या वार्ता र लेनदेनको माध्यमबाट समाधान गर्ने । ओलीले कसरी यसलाई हल गर्छन् ? त्यो उनको ‘स्कुल अफ थट’ को कुरा हो ।

दोस्रो चुनौती : ओलीप्रति धेरै ठूलो जनसमुदायको भरोसा देखिएको छ । उनले लिएको ‘राष्ट्रवाद’को अडानलाई धेरैले राष्ट्रियताकै पर्यायवाचीका रुपमा व्याख्या गरिरहेका छन्, लोकगायक कृष्ण कँडेलले जस्तै । अब उनीहरुको अपेक्षा र ‘राष्ट्रिय स्वाभिमान’लाई ओलीले कसरी बचाउलान् ?

प्रधानमन्त्री बन्ने क्रमसँगै केपी ओलीका सामु ‘राष्ट्रिय स्वाभिमान’ पनि जोगाउनुपर्ने र जनतालाई तत्काल ग्यास र तेलको विकल्प पनि दिनुपर्ने चुनौती छ । आफूमाथि तीव्र अपेक्षा गर्नेहरुलाई निराश बन्न नदिने चुनौती ओलीको सामुन्नेमै आइपुगेको छ ।

तेस्रो चुनौती : ओलीको तेस्रो चुनौती भनेको आफूमाथि आशंका गर्नेहरुलाई विश्वासमा लिनु हो । प्रधानमन्त्री बन्ने क्रमसँगै ओलीले राजनेता बन्ने अवसर पनि पाउनेछन्, यदि उनले मधेसी, थारु र जनजातिप्रति उदार मन बनाए भने । सैलुनमा काम गर्ने युवकको आशंका हटाउनेपर्ने चुनौती उनका सामुन्नेमा छ ।

तथापि, केपी ओली आँट भएका नेता मानिन्छन् । सरकारको नेतृत्व सम्हाल्ने अवस्थामा उनले मधेसी र थारुका मागलाई सम्बोधन गरेर सीमांकनमा पनि समाधान निकाले भने ओली प्रधानमन्त्री बन्ने क्रमसँगै मधेस आन्दोलन फिर्ता हुनेछ र दसैं, तिहार एवं छठसम्म सबैले ओलीको हाइहाइ गर्नेछन् । उनको पुत्ला जलाउने र उनीमाथि आशंका गर्नेहरुले पनि प्रशंसा गर्न थाल्नेछन् ।

यसर्थ आफूसँग आश गर्नेहरुलाई निराश नपार्ने चुनौतीसँगै ओलीका सामुन्नेमा तेस्रो चुनौती छ, आफूलाई गाली गर्ने र सराप्नेहरुलाई गुनले जित्ने ।

चौथो चुनौती : भनिँदै आएको छ कि कतिपय विदेशी शक्तिले ओलीलाई प्रधानमन्त्री बन्न नदिन हात धोएर लागेका छन् । यति यो साँच्चै हो भने ओलीले सबैभन्दा पहिले घरभित्रको समस्या समाधान गरेर, नेपाली जनतालाई मिलाएर थप शक्ति आर्जन गर्न जरुरी हुनेछ ।

आशन्न दसैंलाई साँच्चैको विजयोत्सवमा बदलेर विदेशीलाई देखाइदिने सम्भावना ओलीको ढोकैमा खडा भएको छ । विदेशीलाई ‘देखाएर’मात्रै पुग्दैन, विश्वासमा लिनुपर्ने चुनौती पनि ओलीका सामुन्नेमा छ ।

गरीब परिवारको पृष्ठभूमिबाट हुर्केर राजनीतिमा आएका, लामो समय जेल जीवन बिताएका, अनि निरन्तर राजनीतिमा लागेर खारिएका अनुभवी नेता हुन् केपी ओली । अब उनले आफ्ना कमजोरीहरुलाई सच्याएर साँच्चै नै देशको अविभावक बनेर महानता देखाउलान् या कुनै निश्चित समुदाय र जातिको मात्रै नेता बनेर ध्रुवीरकणलाई अझै बढाउलान् ? यसैमा उनको सफलता र देशको भविश्यसमेत अन्तरनीहित रहनेछ ।

काठमाडौंमा कपाल काट्ने युवक र गीत गाउने गायकले गरेका आशंका र अपेक्षा दुबैको एकमुष्ठ समाधान पनि यही प्रश्नमा अन्तरनीहित छ ।

आलोचक र विपक्षीहरु पनि यो कुरामा सहमति छन् कि केपी ओली असक्षम नेता होइनन् । अहिले सिंगो एमालेले एक ढिक्का भएर उनलाई साथ दिएको छ । अरुको पनि साथ पाइरहेका छन् । उनीसँग एमालेका सक्षम नेताहरुको ठूलो टीम छ । खाँचो एउटै कुराको छ, मधेसी, थारु र जनजातिलाई हेर्ने उदार दृष्टिकोण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment