Comments Add Comment

‘प्रधानसेनापतिका भाइको पेट्रोल पम्प’मा सिलबन्दी, सञ्चालक पक्राउ

AshtaVuja-Petrol-Pump-Chitw
गोविन्द घिमिरे

९ मंसिर, चितवन । वाणिज्य विभागले चितवनको भरतपुर १० रिजाल चोकस्थित अष्टभुजा पेट्रोल पम्पमा सिलबन्दी गरेको छ । पेट्रोल पम्प सञ्चालक खिलकान्त बर्तौलालाई विभागले नियन्त्रणमा समेत लिएको छ ।

कालोबजारी गरेको पाइएपछि विभागका निर्देशक हरिनारायण बेल्बासे नेतृत्वको टोलीले बुधबार विहान पेट्रोल पम्पमा सिलबन्दी गर्दै सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

उक्त पेट्रोल पम्प नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीका भाइ रविन्द्र क्षेत्रीको जग्गामा बनेको छ । बर्तौलाले भाडामा पेट्रोल पम्प चलाउँदै आएका थिए । स्थानीयले अष्टभुजा पेट्रोल पम्पलाई प्रधानसेनापतिको भाइको पेट्रोल पम्प भनेर चिन्ने गर्दछन् ।

Hari-Narayan-Belbase,-Astav
पेट्रोल पम्प सिल गर्दै वाणिज्य विभागका निर्देशक बेल्बासे

‘उपभोक्ताको व्यापक गुनासो आएको थियो । हामीले अनुसन्धान गर्दा पनि कालोबजारी गरेको पाइयो, त्यसैले कारवाही अघि बढाएका हौं,’ बेलबासेले अनलाइनखबरसँग भने ।

वाणिज्य विभागका निर्देशक बेल्बासेले पेट्रोल पम्प सञ्चालकलाई कालोबजारी सम्वन्धी ऐन र केही सामाजिक अपराध ऐनअन्तर्गत कारवाही गर्ने बताए ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको भाइ  रविन्द्र क्षेत्रीको नाममा उक्त जग्गा भएको पुष्टि गरे । तर, पनि पाँच बर्ष अघिदेखि नै उक्त जग्गा भाडामा लगाइरहेको उनले जानकारी दिए । नेपाली सेनाका प्रवक्ता कार्कीले भने, ‘व्यवसाय गर्ने अधिकार सबैलाई हुन्छ । त्यसैअनुसार भाडामा दिएको हो । भाडामा लिनेले गलत काम गर्छ भने कस्को के लाग्छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment