Comments Add Comment

नाङ्गै पारेर बीच बजारमा उभ्याएको जस्तो भएको छ

नेपालले बङ्गबन्धु कपमा सनसनीपूर्ण फुटबल खेलिरहेको दृष्य पूर्वकप्तान सागर थापा टेलिभिजनमा हेरिरहेका छन् । यदि म्याच फिक्सिङ प्रकरणमा नपरेको भए उनलाई सम्भवतः सारा जनताले टेलिभिजनमा हेरिरहेका हुन्थे ।

नेपालका राष्ट्रिय टोलीबाट ८८ वटा क्याप जितेका सागरको फुटबलबाट दुःखद बहिर्गमन भएको छ । एउटा खेलाडीलाई लाग्नसक्ने सबैभन्दा संगीन आरोप लागेको छ सागरसहितका चार खेलाडीमाथि ।

म्याच फिक्सिङ प्रकरणका विषयमा सागरले पहिलोपटक अनलाइनखबरसित खुलेर कुराकानी गरेका छन् । उनले आफू निर्दोष रहेको भन्दै ढिलो चाँडो सफाई पाउने आशा पनि व्यक्त गरे । प्रस्तुत छ, अनलाइनखबरका लागि सागरसित चिरञ्जीवी पौडेलले गरेको कुराकानीः

sagar thapa_650 final

म्याच फिक्सिङमा परेपछि तपाईंको खेलजीवन भताभुंग भएको छ । फर्केर हेर्दा कस्तो लाग्छ ?

– मैले कुनै गल्ती गरेको छैन । त्यसैले ढुक्क छु, ढिलो चाँडो न्याय पाउने छु । तर, यो केसले मेरो खेल जीवन मात्रै होइन, निजी जीवनसमेत भताभुङ्ग भएको छ । यतिबेला आफूलाई नाङ्गै पारेर बजारबीचमा उभ्याइएको जस्तो महसुस भइरहेको छ ।

कुनै गल्ती छैन भने कसरी मुछिनुभयो त फिक्सिङमा ? के नेपालको प्रहरीले त्यसै पक्राउ गरेको हो ?

– मलाई फसाइएको हो । मैले अहिलेसम्म यो कुरा मिडियामा बोलेको छैन । समय आएपछि बोल्छु भनेर बसेको थिएँ, आज बोल्दैछु । मलाई विप्लव गौतम भन्ने व्यक्तिले फसाएको हो । उ पहिले मच्छिन्द्र क्लबमा थियो । अहिले एएफसीमा काम गर्छ । यो सबै उसैको षड्यन्त्र हो ।

पहिले म सबैको प्यारो थिएँ । अहिले सबैका नजरमा देशलाई धोका दिने गद्दार भएको छु । बाटो हिँड्दा म्याच फिक्सिङ गर्ने सागर थापा यहि हो भनेर कुरा गर्दै हिँडेको सुन्छु

खासमा उसको दुश्मनी मसित भन्दा पनि गणेश थापासित थियो । जमानामा उसले गणेश थापाको छोरा गौरवसित टक्कर गर्न खोज्दा एएफसीबाट निकालिएको थियो । त्यतिबेलादेखि नै उ गणेश थापाको विरोधी हो । अहिले दुईवटा साँढेको फाइटमा हामीलाई बाच्छा बनाइएको छ । कर्माछिरिङलाई उकासेर एन्फाबाट निकालेर अर्को एन्फा बनाउन कोशिष गरेको पनि उसैले हो । गणेश थापाले यो गर्‍यो, त्यो गर्‍यो भनेर उसले सूचना दिने र कर्माछिरिङले यहाँ मिडियामा ल्याउने काम भइरहेको थियो ।

हो, कसैले गल्ती गरेको भए सजाय पाउनुपर्छ । कसैले फुटबलको पैसा खान्छ र खेलाडीलाई सुविधाबाट वञ्चित गर्छ भने हामी विरोध गर्छौं । तर, अनाहकमा कसैलाई लाञ्छित गर्नु पनि त ठिक होइन नी । त्यहि भएर एक पटक मेरो नेतृत्वमा गएर गणेश थापाको विषयमा खेलकुदमन्त्रीलाई ज्ञापनपत्र दिएका थियौं । त्यसपछि विप्लव गौतमलाई पर्‍यो कि यो गणेश थापाको खास मान्छे हो । त्यसैले मलाई सिध्यायो भने गणेश थापाको एउटा हात भाँचिन्छ भनेर म्याच फिक्सिङका जाल बुनेको हो ।

यो सारा काम उसैले गरेको भनेर तपाईंलाई थाहा कसरी भयो ? एउटा व्यक्तिले आफ्नो स्वार्थपूर्तिका लागि सिंगो प्रहरी संगठनलाई प्रयोग गरिरहेको छ भन्नु अति काल्पनिक कुरा भएन र ?

– जब हामी यो केसमा मुछियौं, त्यसपछि विगतका घटनाक्रमहरुबारे धेरै सोचविचार गर्‍यौं । जेलबाट निस्केपछि हामीलाई कसले फसायो त भनेर चारैतिर बुझ्दा विप्लव गौतमको कुरा आएको हो । अहिले हामीलाई सतप्रतिशत विश्वास भएको छ कि यो सबै उसैको करामत हो ।

हाम्रो केस हुनुभन्दा एक महिना अगाडि त्यो मान्छेेले एसएसपी सर्वेन्द्र खनालसित भेटेको रहेछ । सर्वेन्द्र सरले पनि यो कुरा बताउनुभएको छ । म सर्वेन्द्र सरको विषयमा धेरै कुरा बोल्न चाहन्न । तर, उहाँले गरेका कामहरु पनि एकदमै सुद्द छन् भन्न सकिँदैन । उहाँलाई पनि पब्लिसिटी चाहिएको छ । किनभने प्रहरी संगठनमा उहाँलाई जित्न सक्ने भावी आइजिपीका दावेदारहरु छन् । घैंटे प्रकरणमा पनि उहाँको विषयमा धेरै कुराहरु आएका हुन् । कतिले राम्रो भनेका छन् त कतिले शंका पनि गरेका छन् ।

भनेपछि सर्वेन्द्र खनालले एउटा व्यक्तिको उक्साहटमा परेर फसाउनु भएको शंका छ तपाईंहरुलाई ?

– म ठाडै कसैमाथि आरोप लगाउन चाहन्न । तर, होइन भन्न सक्ने अवस्था पनि छैन । यद्यपि, हामी छुटेर आएपछि सर्वेन्द्रजीले राम्रै हिसाबले सम्झाउनुभएको थियो । मिडियासँग राम्ररी बोल्नु भनेको थियो । मेरो तिमीहरुसित कुनै व्यक्तिगत रिसइवी होइन भनेर भन्नुभएको थियो । मैले पनि उहाँप्रति कुनै नकारात्मक भावना पालेर हिँडेको छैन ।

अर्को कुरा पनि म आज खुलासा गरिदिन्छु कि, विप्लव गौतमले नै विगतमा हामीलाई म्याच फिक्सिङको अफर गरेको थियो । त्यतिबेला मच्छिन्द्र र महेन्द्र पुलिस क्लबको म्याच हुँदा मच्छिन्द्रलाई जिताउन उसले नौ लाख रुपैयाँको अफर गरेको मलाई थाहा छ । अहिले फिक्सिङमा मुछिएको मध्ये एक जनालाई अफर गरेको थियो । तर, उसले त्यसलाई अस्वीकार गर्‍यो ।

आज त्यहि विप्लवले मलाई यो अवस्थामा पुर्‍याएको छ । मैले उसलाई भनेको छु, यदि मेरो म्याच फिक्सिङ पुष्टि भयो भने म मर्छु, पुष्टि भएन भने पनि चूप लागेर बस्दिनँ ।

प्रहरीले विदेशबाट ठूलो रकम रितेश थापाको खातामा आएको छ भनेर प्रमाण समेत दिएको छ । यो चाहिँ के हो ?

– रितेश थापाको बैंकको एकाउन्टमा मनि ट्रान्सफर भएको छ । त्यतिबेला उसलाई कम्बोडियाको एउटा क्लवमा खेल्नका लागि अफर आएको थियो । यो कुरा त्यतिबेलाको कोचकै अगाडि बसेर भएको हो ।

पुलिस टिमले उसलाई बाहिर गएर खेल्ने अनुमति दिएन । यो कुरा त्यतिबेलाको मिडियाहरुमा नै आएको थियो । मलाई थाहा भएसम्म यो पैसा त्यहि क्लवले खेल्न आउनका लागि हवाई टिकट र एडभान्सका रुपमा पठाएको हो । क्लबले सिधै नपठाएर एजेन्ट मार्फत पठाएको थियो । कति पैसा भन्ने मलाई थाहा छैन । तर, पछि उसले त्यो पैसा रिफन्ड गरिदिएको भनेको छ । 

रितेश थापाले त म्याच फिक्सिङका लागि पैसा आएको र त्यो पैसाले आफूले विहे गरेको प्रहरीसँग स्वीकारेका होइनन् र ?

– त्यो झूट कुरा हो । हामी कुनै पनि खेलाडीले म्याच फिक्सिङ गरेको स्वीकारेको छैन । यदि त्यस्तो छ भने प्रहरीले प्रमाण देखाओस् । हामीले स्वीकारेको भनेर कसरी मिडियामा आयो अचम्मित छौं । हामीलाई सुरुमा मिडियामा बोल्न समेत दिइएन । प्रहरीले भनेको आधारमा खाली एकतर्फी समाचारहरु आइरह्यो । हामीलाई त्यतिबेला मिडियासँग पनि दुःख लागेको थियो ।

अन्जन केसीलाई आएको पैसा चाहिँ के हो ?

पैसा आएको छ भने प्रमाण देखाउनुपर्‍यो । भनेर मात्रै भएन । अन्जन केसी पहिले मेरो ‘टिम मेट’ थियो । उसले फुटबल छोडेको पाँच वर्ष जति भयो । प्रहरीले भनेको ट्रान्जेक्सन पिरियड र म्याचको तालमेल नै मिलेको छैन । अन्जन केसीको २७ हजार, १ लाख २५ हजार ट्रान्जेक्सन भएको भनिएको छ । के यति पैसामा म्याच फिक्सिङ हुन्छ त ? अरु ट्रान्जेक्सन खोई त ? प्रहरीले भनेको जस्तो एउटै म्याचको पाँच हजार डलर लिएको हो भने हामीले त्यो पैसा कहाँ खर्च गर्‍यौं त ? त्यो पनि त खोजी हुनुपर्‍यो ।

Sagat Thapa

तपाईंहरुलाई लागेको आरोपलाई एन्फाले कसरी लिएको छ ? एन्फाका पूर्वअध्यक्ष गणेश थापासित तपाईंहरुको कुराकानी भएको छ कि छैन ?

एन्फाले (हाम्रो पक्ष) खासै केहि गरेको छैन । छुटेर आएपछि गणेश थापासित एकपटक भेट भयो । उहाँ आफैं पनि अप्ठेरो अवस्थामा हुनुहुन्थ्यो । न हामीले उहाँलाई सहयोगका लागि आग्रह गर्‍यौं न उहाँले सहयोग गर्ने आश्वासन नै दिनुभयो । आफैं समस्यामा परेको व्यक्तिबाट के सहयोगको अपेक्षा गर्ने र ।

एएफसीले तपाईंहरुलाई आजीवन प्रतिवन्ध लगाइदिएको छ । के उसले पनि कसैको उक्साहटमा नै यस्तो गरेको हो त ?

– एएफसीको कारवाहीमा हामीलाई दुःख लागेको छ । उसित हामीले अपिल गरेर ‘ग्राउन्ड अफ डिसिजन’ मागेका छौं । तर, कुनै जवाफ दिएको छैन । सुरुमा हामीलाई १० दिनमा जवाफ पठाउन भनेर स्पष्टिकरण सोधेको थियो । हामीले त्यहिभित्रमा जवाफ पठायौं । तर, त्यसको कुनै अध्ययन-विश्लेषण नगरीकन एक्कासी हामीलाई प्रतिवन्ध लगाइएको छ ।

प्रहरीले पक्राउ पर्दा तपाईं कहाँ हुनुहुन्थ्यो ? कसरी पक्राउ पर्नुभयो ?

– मलाई प्रहरीले आफैं आएर पक्राउ गरेको पनि होइन । त्यो दिन म ट्रेनिङबाट छोरालाई लिएर घर फर्किदै थिएँ । भोलिपल्ट फाइनल म्याच थ्रीस्टारबाट खेल्नुपर्ने थियो । थ्रीस्टारलाई लिग जिताउन भनेर चार महिनाको एग्रिमेन्टमा गएको थिएँ । टिमलाई फाइनलमा पुर्‍याएँ पनि । तर, फाइनल म्याच खेल्ने अघिल्लो दिन प्रहरीको फन्दामा परेँ ।ट्रेनिङबाट फर्किदै गर्दा रितेशको फोन आयो । उसले अर्जेन्ट छ भनेर भेट्न बोलायो । म घरतिर नगईकन छोरो लिएरै उसले बोलाएको रेस्टुरेन्टमा गएँ ।

जेलमा रहँदा सुसाइड गर्नेसम्मका कुरा दिमागमा आउँथे । यस्तो बेइज्जति सहनुभन्दा मर्नु ठीक हो कि झैं लाग्थ्यो । तर, जसोतसो बाँचेर आएँ । अब जसरी हुन्छ आफूमाथि लागेको दाग मेटाउनु छ ।

त्यहाँ पुग्दा रितेशसहित अन्जन केसी र विकास श्रेष्ठ तीन जना प्रहरीसित कुरा गरिरहेका थिए । रितेसलाई त्यो दिन ११ बजे दरवारमार्गबाट पक्राउ गरेको रहेछ । सुरुमा उसलाई एउटा प्रहरी भएका कारण सम्मानपूर्वक सोधपुछ गरेका रहेछन् । पछि रितेशले नै अन्जनको घर देखाइदिएको रहेछ । अन्जनलाई समात्न जाँदा विकाश श्रेष्ठ पनि राति त्यहि सुतेकाले सँगै पक्राउ पर्‍यो ।

म पुग्दा प्रहरी इन्सपेक्टर सुदीप पाठकले रितेशलाई र्‍याखर्‍याख्ति पारिरहेका रहेछन् । रितेशसित कुरा गर्दा मेरो नाम आएपछि प्रहरीले उसलाई मलाई बोलाउन भनेको रहेछ । मलाई इन्सपेक्टरले म्याच फिक्सिङमा तपाईंको पनि नाम जोडियो भनेपछि झसँग भएँ । मैले त्यतिबेलै भनिदिएँ कि, ठीक छ प्रमाण देखाउनुस् म टुँडिखेलमा झुण्डिन पनि तयार हुन्छु ।

त्यसपछि त्यहाँबाट सर्वेन्द्र खनाललाई फोन गरेपछि उहाँलाई टेकुमै ल्याउन भने । मैले हाफपाइन्ट लगाएको थिएँ । छोरा पनि थियो । त्यसैले घर पुगेर ड्रेस चेन्ज गरेर आउँछु भने । त्यसपछि एकजना प्रहरी मसँगै आए । म घरमा गएर नहाईधुवाई गरेँ । प्रहरीलाई देखेर श्रीमती आत्तिएको अवस्था थियो । मैले उनलाई ‘कुराकानी गर्न बोलाएको छ, आत्तिनु पर्दैन’ भनेर सम्झाएँ ।

मलाई टेकुमा रहेको अपराध महाशाखामा लगियो । त्यहाँ सर्वेन्द्र सरकै रुममा राखियो । उहाँले मसित खासै सोधपुछ गर्नुभएन । अञ्जनसित अलिकति बोल्नुभयो ।

प्रहरीले हामीलाई बेलुकासम्म यत्तिकै झुलाएर राख्यो । हामीले किन राखिरहेको भन्दा ‘ठूलो इस्यू होइन, बेलुका तपाईंहरुलाई छाड्छौं’ भनेर झुक्याए । ‘धेरै हल्लाखल्ला गर्नु हुँदैन । मिडियामा गयो भने नराम्रो हुन्छ । बरु घरमा खाना बनाउन लगाउनु’ भनेका थिए । तर, त्यो उनीहरुको जालसाँझी रहेछ । भोलिपल्टदेखि दशैंको विदा हुने भएकाले त्यो दिन अदालत बन्द हुञ्जेल हामीलाई यत्तिकै अल्मल्याएका रहेछन् ।

बेलुकी भएपछि आज यतै सुत्दा कसो होला भनेर भने । त्यसपछि क्यान्टिनबाट खाना पनि मगाउन लगाए । एक रातलाई ठीकै छ भनेर हामी पनि ढुक्कसित बसिरहेका थियौं । राति साढे सात बजेतिर एक जना प्रहरीले मोबाइलमा फेसबुक खोलेर देखाएँ । त्यहाँ हाम्रो न्यूज छापिएको रहेछ । राज्यद्रोहको आरोपमा ४ खेलाडी पक्राउ भनेर लेखिएको थियो । हामी त छाँगाबाट खसेझैं भयौं । बल्ल महसुस भयो कि हामीमाथि त निकै ठूलो षडयन्त्र रचिएको रहेछ । एकछिनपछि त हामीलाई हातमा हत्कडी लगाइदिए ।

पहिलोपटक प्रहरी हिरासतमा रात बिताउँदा कस्तो अनुभव भयो ?

– हामीलाई चोर-फटाहाहरु सुत्ने ठाउँमै सुत्न लगाइयो । जे भए पनि राष्ट्रिय खेलाडी त थियौं । एकदमै अपमानवोध भयो । बरु हामीलाई चिनेर हिरासतमा रहेका अन्य चोर-फटाहाहरुले हामी सुत्ने ठाउँमा सरसफाई गर्न मद्दत गरिदिए । त्यो रात निद्रा त कसैलाई लागेन । लाग्ने कुरै भएन । गफैगफमा रात बितायौं ।

रितेस त बोल्न पनि सकेन । शौचालय जाने र आउने गरिरह्यो । जीन्दगीमा सबैभन्दा बढि आफूप्रति हिनतावोध भएको दिन हाम्रोलागि त्यहि थियो ।

प्रहरीले पक्राउ गर्नुअघि म्याचिङ फिक्सिङको विषयमा प्रत्यक्ष अप्रत्यक्ष सोधपुछ तपाईंसित भएको थियो कि थिएन ?

– प्रहरीले हामीसत कुनै सोधपुछ गरेको थिएन । बरु त्योभन्दा तीन महिनाअघि गणेश थापाले बोलाएर कुराकानी गर्नुभएको थियो । नेपालमा फिक्सिङको हल्ला भइरहेको छ, के हो भनेर सोध्नुभएको थियो । त्यतिबेला हामीले इन्चोनमा जापानसित खेलेको म्याचमा फिक्सिङ भएको भनेर गोलनेपाल डटकममा आएको थियो । हामीले यो सबै हल्ला मात्रै हो भनेर गणेश दाइलाई आश्वस्त बनायौं ।

त्यो गोलनेपाल चलाउने विक्रम थापा जति खराब पत्रकार अरु देखेको छैन । उ अमेरिकामा बस्छ । हामीले उसित यो विषयमा कुरा गर्न धेरै चोटी ट्राइ गर्‍यौं । तर उ सम्पर्कमा नै आएन ।

तपाईंमाथि यति संगीन आरोप लागेको छ । तर, आफू पूरै निर्दोष छु भन्नुहुन्छ । के मानिसहरुले यति सहजै पत्याउलान् त ?

– हो हामीमाथि ठूलो कलंकको दाग लागेको छ । यसलाई मेटाउन सजिलो छैन । हामीविरुद्धको न्यूज मिडियामा यति एकपक्षीय ढंगले आयो कि जोसुकै पनि पनि पत्याउन वाध्य भए । हिरासतभित्र रहँदा दिन दिनैका पत्रिकाहरु मगाएर पढ्थ्यौं । हरेक दिन हाम्रो नेगेटिभ न्यूज छापिएको हुन्थ्यो । राष्ट्रपतिको सपथ खाएको भन्दा हाम्रो न्यूज ठूलो भएर आएको हुन्थ्यो ।

१४ दिनसम्म हामीलाई मिडियाको छेउ पर्न पनि दिइएन । प्रहरीले अदालतमा लैजाँदा पनि मुखमा मास्क र टाउकोमा टोपी लगाउन दिन्थ्यो । मिडियालाई छलेर हामीलाई भित्र लगिन्थ्यो । त्यतिबेला हाम्रो पक्षबाट बोलिदिने कोहि भएनन् । १४ दिनमा बल्ल मैले मिडियासित आफ्नो छोटो कुरा राख्न पाएँ । पहिलेदेखि नै मिडियामा हाम्रो भनाइ आएको भए पब्लिकमा यति धेरै बदनाम हुँदैनथ्यौं होला ।

तर, मलाई सतप्रतिशत विश्वास छ कि एक दिन हामी निर्दोष सावित हुनेछौं ।

तपाईंको फुटबल करिअर त अब सकियो होइन ? कि अझै आशा छ फर्किन सक्छु भन्ने ?

– म यसपाली सन्न्यास लिने योजनामा नै थिएँ । साफ च्याम्पियनसीप नेपाललाई दिलाएर फुटबलबाट विदा लिने लक्ष्य थियो मेरो । यो कुरा मैले सबैसित सेयर पनि गरिसकेको थिएँ । तर, मैले सोचेको भन्दा फरक तरिकाबाट मेरो करिअर अन्त्य भयो । सारा जीवन फुटबलमा बिताएँ, तर अन्त्यमा बदनाम भएँ । अब मसित केहि पनि छैन । म रित्तो भएको छु ।

तपाईंहरुलाई मानिसहरुले हेर्ने नजर बदलिएको छ । तपाईंसित प्रत्यक्ष भेट्नेहरुले कस्तो व्यवहार गर्छन् ? अनि आफ्नै साथीभाइ र परिवारले के भन्छन् ?

हो, पहिले म सबैको प्यारो थिएँ । अहिले सबैका नजरमा देशलाई धोका दिने गद्दार भएको छु । बाटो हिँड्दा खेरी पनि मानिसहरु मसित उभिएर फोटो खिच्ने र अटोग्राफ माग्ने गर्थे । आजकाल बाटो हिँड्दा सुन्छु, म्याच फिक्सिङ गर्ने सागर थापा यहि हो भनेर कुरा गर्दै हिँडेका हुन्छन् ।

साथीभाइले चाहिँ मलाई अझै हौसला दिइरहेका छन् । उनीहरुलाई विश्वास छ कि म निर्दोष छु भन्ने । ‘दुनियाले तिमीलाई जे भनोस् तिमी हाम्रो नजरमा पहिलेकै सागर हौ’ भनेर भन्छन् ।

श्रीमतीको कुरा गर्नुहुन्छ भने मलाई यो विषयमा उनले एक पटक पनि सोधेकी छैनन् । सोध्नुपर्ने आवश्यकता नै ठानेकी छैनन् । किनकी उनलाई थाहा छ म कस्तो खालको मान्छे हुँ भनेर ।

जेलमा बस्दा हामीलाई ३-४ दिनसम्म परिवारसित पनि भेट्न दिइएन । पहिलोपटक भेट्न पाउँदा उनी खुबै रोइन् । मैले सम्झाएँ, कि म यहाँ भित्र बसेर रोएको छैन । तिमी पनि बाहिर बसेर नरुनु । बच्चाको हेरविचार गर्नु । मलाई केहि हुँदैन । तर, त्यसो भने पनि मेरो मन भित्रभित्र रोइरहेको हुन्थ्यो ।

यति लामो फुटबल करिअरमा किन कहिल्यै विदेशी क्लबमा गएर खेल्नुभएन ? कि अफर नै आएनन् ?

मलाई प्रशस्त अफर आएका थिए बाहिरबाट । भाइचुङ भुटियाले आफैं फोन गरेर इस्ट बंगालबाट खेल्न आग्रह गर्नुभएको हो । बंगलादेश, सिंगापुर, मलेसीयाबाट पनि प्रस्ताव आएका हुन् । तर मैले खेल्न अस्वीकार गरेँ । मलाई नेपालबाट मात्रै खेल्नु थियो ।

बाहिरबाट खेलेको भए पैसा पनि हुन्थ्यो र अनुभव पनि बढ्थ्यो । मौका गुमाएको जस्तो लाग्दैन ?

– खासमा बाहिर गएर नखेल्नुमा मेरो आफ्नै कारण पनि छ । म लामो समय घरबाहिर बस्दा होमसिक हुन्छु । त्यहि भएर पनि हो । अर्को कुरा चाहिँ म सँधै स्वतन्त्र भएर खेले । लिडरसिप लिएर खेलेँ । बाहिरबाट खेल्दा त्यस्तो हूँदैन भनेर पनि हो ।

अचेल घरमा बसेर राष्ट्रिय टिमको फुटबल हेर्दा कस्तो लाग्छ ? नेपालले साफ च्याम्पियनसीपमा खराब प्रदर्शन गर्नुमा म्याच फिक्सिङ प्रकरणको कति हात रहेको मान्नुहुन्छ ?

– म साथीहरुसित रेस्टुरेन्टमा बसेर नेपालको म्याच हेरिरहेको छु । अस्ति साफ च्याम्पियनसीप हेरेँ । मनमा सोचाई आयो कि म टोलीमा भएको भए यतिबेला सबैले मलाई टेलिभिजनमा देख्थे होला ।

साफ च्याम्पियनसीपमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । हामी यसपाली सजिलो गु्रपमा थियौं । उपाधि जित्ने सुनौलो अवसर थियो । हाम्रो ग्रुपमा रहेको पाकिस्तान प्रतियोगीतामा सहभागी भएको थिएन । श्रीलंका एकदम कमजोर थियो । तैपनि हामीले जित्न सकेनौं । हाम्रो खेलको तालमेल बिगि्रएको थियो । खेलाडीको आत्मविश्वास चकनाचुर भएको थियो । मलाई लाग्यो कि हामी भएको भए यसपाली उपाधी जित्ने सम्भावना थियो । तयारी पनि राम्रो थियो ।

फुटबलबाट टाढा रहँदा कत्तिको गाह्रो भएको छ ? दिनचर्या कसरी बित्छ आजकाल ?

– फुटबलबाहेक जीवनमा अरु केहि थिएन । अहिलेसम्म राष्ट्रिय टोलीबाट निरन्तर ८८ वटा म्याच खेलेँ । कुनै म्याचमा मैदान छाडेर निस्किनँ । कुनै म्याचमा ड्रप भइनँ । कहिल्यै घाइते भइनँ । हरेक म्याचमा १०० प्रतिशत दिने प्रयास गरेँ । तर, मेरो यतिका वर्षसम्मको योगदान पानीको फोहोरा जसरी फुटेको छ । अहिले आएर के मन दुखाउनु ।

मभित्र कस्तो छट्पटी छ भन्ने शब्दमा वर्णन गर्न सक्दिन । बिहान उठ्छु । काम केहि हुँदैन । फेरि सुत्छु । आफूलाई बेकारी जस्तो लागिरहेको छ । काम केहि नभए पनि दिन त बित्दो रहेछ । यसो साथीभाईसित भेट भयो । गफ गर्‍यो । गफैगफमा उही म्याच फिक्सिङको प्रसंग निस्कन्छ । तनाव बढ्छ ।

जीन्दगीमा फुटबल भन्दा अर्थोक केहि जानिएन । व्यवाहारिक कुरामा कहिल्यै चासो राखिएन । अहिले आएर बुझ्दैछु, व्यवहार के रहेछ, जीवन के रहेछ । विगतमा मैले कहिल्यै बत्तिको विलसमेत तिरेको छैन । अब थाहा पाउदैछु कि बत्तिको विल तिर्नसमेत कति झण्झट हुँदो रहेछ ।

मैले आफूलाई भर्खर जन्मेको एउटा बच्चा जस्तो सम्झेको छु । जसको बल्ल जीवन सुरु भएको छ । जेलमा रहँदा सुसाइड गर्नेसम्मका कुरा दिमागमा आउँथे । यस्तो बेइज्जति सहनुभन्दा मर्नु ठीक हो कि झैं लाग्थ्यो । तर, जसोतसो बाँचेर आएँ । अब जसरी हुन्छ आफूमाथि लागेको दाग मेटाउनु छ । अरु लक्ष्य केही छैन ।

जीवन त धेरै लामो छ । अबका योजनाहरु के छन् तपाईंका ?

ठोस योजना केहि बनाइसकेको छैन । मैले भनिहालेँ कि फुटबल बाहेक मैले जानेको केहि छैन । फुटबलमै लागेर पढाई बिगारेँ । न कतै जागीर खान दरखास्त हाल्न सक्छु, न सडकमा मम बेचेर बस्न सक्छु । अब के गर्ने र कसो गर्ने भन्ने दोधारमै छु । साथीभाइसित मिलेर गाउँमा भएको जग्गामा अर्गानीक खेति गर्ने कि भन्ने सोचमा पनि छु । तर निर्णय लिइसकेको छैन ।

फुटबल नछुनुभएको कति दिन भयो ?

– यो केसमा फसेपछि फुटबल त खेलेको छैन । फुटसल चाहिँ नियमित खेल्छु ।

नेपाली फुटबल फ्यानहरुलाई के भन्न चाहन्नुहुन्छ ?

– मेरो भन्नु यत्ति छ कि हाम्रो कारणले फुटबललाई माया गर्न नछाड्नुस । हामी दोषी हौं भने सजाय पाउने छौं, निर्दोष हौं भने सफाई पाउने छौं । तर फुटबल सँधै निर्दोष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment