Comments Add Comment

मदनमणिले केक काटे, माधव घिमिरेले ताली बजाए

Madan-mani-And-Rita

२५ माघ, काठमाडौं । सोमबार दिउँसो २ बजे शिल्पी थिएटरमा लौरो टेक्दै पसे वयोवृद्ध जोडी मदनमणि र रीता दीक्षित । लगत्तै आइपुगे उनीहरुभन्दा पनि वृद्ध राष्ट्रकवि माधव घिमिरे ।

‘बधाई छ तपाईंलाई’ घिमिरेले आफ्ना थर्थराइरहेका हात दीक्षिततर्फ लम्काउँदै भने । दीक्षितले पनि हात मिलाए तर, कुनै जवाफ दिएनन् । काम अत्यन्तै कम सुन्ने दीक्षितले घिमिरेले बधाई दिएको सुनेका थिएनन् । रीताले धन्यवाद भन्दै अभिवादन गरिन् ।

मदनमणि दम्पत्तिको लागि सोमबार विशेष दिन थियो । उनले रीतासँग लगनगाँठो कसेको ७६ वर्ष पुरा भएको दिन ।
यहि दिन पारेर बुक हिल्स पब्लिकेसनले मदनमणिको उपन्यास ‘मेरी निलिमा’को लोकार्पण गर्दै थियो । २०५२ सालमा प्रकाशित उपन्यासलाई बुक हिल्सले पुन प्रकाशन गरेको हो ।

पुस्तक लोकार्पणका लागि मञ्चमा थिए चार वयोवृद्ध । ९७ वर्षीय घिमिरे, ९३ वर्षीय मदन र ८९ वर्षीया रीताकी अगाडि ७० वर्ष आसपासका डा. सुरेशराज शर्मा भर्खरको तन्नेरी देखिएका थिए ।

Madan-mani-And-Rita-1

पुस्तक लोकार्पण गर्नुअघि दिक्षित दम्पत्तिको वाषिर्कोत्सव मनाइएको थियो । मदन र रीताले एक अर्कालाई दुवोको माला लगाइदिए ।

हिउँजस्तो सेतो कपालमा रातो सिन्दुर र रातै साडी लगाएकी रीता माला लगाएपछि दुलही जसरी लजाइन् । त्यसपछि आयोजकले व्यवस्था गरेको केक मदनलाई काट्न लगाइयो । मदनले केक काटेर रीतालाई खुवाउँदा माधव घिमिरेले जोसिदै ताली बजाए ।

प्रकाशकले किताबको रोयल्टी वापत भनेर मञ्चमै दीक्षितलाई २५ हजार रुपैयाँको खाम दिएका थिए । दीक्षितले खाम लिएर यसो भित्र चियाए, अनि पत्नीलाई राख्न दिए । रीताले त्यसलाई आफ्नो मुठ्ठीमा च्यापिन् ।

पुस्तकका विषयमा बोल्ने क्रममा घिमिरेले मदनको खुबै तारिफ गरे । दीक्षित विश्वका विद्वानहरुसित प्रतिस्पर्धा गर्न सक्ने व्यक्तित्व रहेको भन्दै उनले निलिमाभित्र दीक्षितको दार्शनिक व्यक्तित्व झल्किएको उल्लेख गरे ।

‘तिथिमितिका साथ प्रामाणिक कुराहरु बोल्न सक्ने उहाँजत्तिको व्यक्तित्व विरलै भेटिन्छ,’ घिमिरेले भने । कार्यक्रम स्थलबाट फर्किने बेलामा घिमिरेले दीक्षिततिर हात लम्काएर भने,-‘फेरि पनि बधाई छ ।’

मदनले कुनै जवाफ दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment