
१७ चैत, दार्चुला । नेपाल–भारतबीचको सीमा समन्वय बैठकमा खोतिला पहिरोको विषयले फेरि प्रवेश पाएको छ । छलफलका एजेण्डामा नेपाली अधिकारीले यो विषयलाई पनि राखेका हुन् ।
चैत २८ गते भारतमा हुने लोक सभाको निर्वाचनलाई मध्यनजर गर्दै बसेको सीमा समन्वय बैठकमा नेपालको दार्चुला, बैतडी तथा भारतका विभिन्न एजेण्डाहरुमा छलफल भएको छ ।
भारतको पीथौरागढमा आइतबार भएको सीमा समन्वय बैठकमा खोतिला पहिरो व्यवस्थापनबारे प्राथमिकताका साथ छलफल गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।
गत वर्ष भारतको पीथौरागढमा बसेको बैठकमै नेपाली अधिकारीहरुले भारतीय खोतिला पहिरोका कारण नेपालतिर तटबन्ध निर्माणमा असहज भएको भन्दै व्यवस्थापनको माग गरेका थिए । सीमा बैठकमा मात्र नभई नेपाल र भारतका द्विपक्षीय अधिकारीहरुले पहिरोका स्थलगत अवलोकन पनि गरिसकेका छन् ।
३/४ पटक नेपाली अधिकारीहरुको आग्रहमा खोतिला पहिरोको द्विपक्षीय स्थलगत अबलोकन भएको थियो र भारतीय पक्षले व्यवस्थापनबारे एक हप्ताभित्रै पत्राचार गर्ने गत वर्ष नै प्रतिवद्धता जनाएको थियो । तर हालसम्म उक्त विषयमा भारतीय पक्षले चाँसो देखाएको छैन ।
महाकाली नदी नियन्त्रण आयोजनाका तत्कालिन आयोजना प्रमुख शुशीलचन्द्र देवकोटाले महाकाली नदीमा खसेका ठुल–ठुला ढुंगाहरु फुटाउने अनुमति दिए आयोजना आफैले हटाउने भारतीय अधिकारीसँग प्रस्ताव गरेका थिए ।
तर भारतले न त आयोजनाले ढुंगाहरु हटाउन अनुमति दियो न त आफैले ती ढुंगाहरु हटायो । पहिरोसंगै खसेका ठुल–ठुला ढुंगाहरुका कारण महाकाली नदीको धार परिवर्तन भई नेपालतिर आएको छ । जसले गर्दा नेपालतिर निर्माण भइरहेको तटबन्धको संरचनामा क्षति पुगेको छ ।
यसरी सीमा नदीको धार नै परिबर्तन हुने गरी पहिरो खसेकाले उक्त पहिरो व्यवस्थापन गर्न नेपाली पक्षले विगतदेखि नै भारतसंग आग्रह गरिरहेको छ तर भारतले उक्त विषयमा आनाकानी गरिरहेको छ । पहिरो व्यवस्थापनमा समयमा चासो नदिए अझै नोक्सानी व्यवहोर्नुपर्ने प्रमुख जिल्ला अधिकारी विष्ट बताउँछन् ।
चैत २६ गतेदेखि सीमा नाकाहरु ७२ घण्टाका लागि सील गरिने
भारतमा चैत्र २८ गते हुने लोक सभाको निर्वाचनका बेला नेपाल भारत जोड्ने सीमा नाकाहरु सील गरिने भएका छन् । लोक सभा निर्वाचनलाई मध्यनजर गरी पीथौरागढमा आयोजना गरिएको सीमा बैठकमा यस्तो सहमति भएको हो ।
चैत्र २६ गतेदेखि नेपाल–भारत जोड्ने सीमा नाकाहरु सील गरिने सहमति भएको नेपाली अधिकारीहरुले बताएका छन् । निर्वाचनका बेला सुरक्षालाई मध्यनजर गर्दै सीमा नाकाहरु बन्द गर्न लागिएको हो ।
बैठकमा नेपालकोा तर्फबाट जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको नेतृत्वमा दार्चुला र बैतडीका सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।
प्रतिक्रिया 4