Comments Add Comment

दुवै फुटबल टोली इतिहास रच्न आतुर

सन्देश श्रेष्ठ

२ फागुन, सिलोङ । १२ औं दक्षिण एसियाली खेलकुद -साग) को फुटबलतर्फ नेपालका महिला र पुरुष दुवै टोली स्वर्ण पदकको संघारमा छन् । तर, यसका लागि दुवै टोलीले आयोजक भारतलाई पन्छाउनुपर्ने चुनौति छ ।

Mahila-Football

दक्षिण एशियाली महारथी भारतको टोलीलाई महिला फुटवलमा नेपालले अहिलेसम्म हराउन सकेको छैन । यता, पुरुषतर्फ २३ बर्षयता नेपाल सागमा स्वर्णबिहीन छ ।

भारतसित अहिलेसम्म व्यहोरेका हारको बदला लिँदै नेपालको स्वर्ण जित्ने लक्ष्य लिएको छ महिला फुटवल टोलीले । सिलोङमा सोमबार अपरान्ह हुने खेलमा उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रिने प्रशिक्षक ध्रुव केसीले बताए ।

आयोजक भारतसँग उपाधि भिडन्तका लागि नेपाल तयार देखिएको छ । समुह चरणमा भारतलाई कडा टक्कर दिँदै नेपाली चेलीहरुले गोलरहित बराबरी खेलेका थिए । त्यसअघि नेपालले भारतसँग पाँचपटक भएको भेटमा जित हात पार्न सकेको थिएन । यसपटक भारतलाई उसैको भूमिमा हराएर सागमा इतिहास रच्न आतुर छन् चेलीहरु ।

राष्ट्रिय खेलकुद परिषदका फुटबलका प्रमुख प्रशिक्षक समेत रहेका केसीले आफ्नो लक्ष्य स्वर्ण जित्ने रहेको बताए । उनले भने, ‘हामी जितका लागि खेल्दैछौं । त्यसका लागि हामी तयार छौं र योग्य पनि छौं ।’

भारतलाई पन्छाउने रणनीति बुन्न व्यस्त छन् प्रशिक्षण केसी । फाइनलमा आफ्नो टिमले सामुहिक फुटबल खेल्ने बताउँदै केसी भने, ‘सबै खेलाडी आवश्यक परेको बेला जुनसुकै पोजिसनबाट पनि खेल्ने सामथ्र्य राख्छन् ।’

नेपालको अट्याकिङ र डिफेन्स लाइन उत्कृष्ट र्फममा रहे पनि मिडफिल्ड केही कमजोर रहेको उनले स्विकारे ।

नेपाल र भारतबीचको फाइनल खेल सिलोङस्थित नेहरु रंगशालामा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । राउण्ड रोविन प्रणालीका आधारमा नेपाल शीर्ष र आयोजक भारत दोश्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।

पुरुष टोलीमा झन् आत्मविश्वास

माल्दिभ्सविरुद्ध सेमिफाइनलमा हासिल गरेको चमत्कारिक जितले पुरुष फुटबल टोलीको आत्मविश्वास उच्च छ । सोमबार बेलुकी स्थानीय समयअनुसार सवा सात बजे इन्दिरा गान्धि एथलेटिक्स स्टडियममा नेपाल भारतसित भिड्नेछ ।

Football-Priview

सन् १९९३ मा नेपालले भारतलाई हराउँदा टोलीका महत्वपूर्ण सदस्य राजु शाक्य अहिले प्रशिक्षकको भूमिकामा छन् । उनीमाथि २३ वर्ष पुरानो सफलता दोहोर्‍याउने चुनौति छ ।

उनी भन्छन्, ‘भारत दक्षिण एशियाली फुटबलको शक्तिशाली टोली हो । खेलाडी छँदा म सँधै भारतलाई उसकै भूमिमा हराउन चाहन्थेँ । आज प्रशिक्षका रुपमा यो सफलता हासिल गर्न व्यग्र छु ।’

उनले नेपाली टोलीका सदस्यहरुमा भारतलाई हराउने ताकत रहेको उल्लेख गरे । पछिल्ला केहि महिनाहरुमा नेपाली टोलीले गरेको प्रगतिका आधारमा पनि उनी विश्वस्त छन् ।

नेपालका कप्तान बिराज महर्जनले भोलिको फाइनललाई फिफा विश्वकपसित तुलना गरे । उनले भने, ‘मलाई त भोलि विश्वकप फाइनल खेल्न लागेको महसुस भइरहेको छ ।’

नेपाल साग गेम्सको पुरुष फुटबलमा १७ वर्षपछ पहिलोपटक फाइनल खेल्न गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment